site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हिंसात्मक गतिविधि बन्द गर, प्रदर्शन शान्तिपूर्ण बनाऊ : मानव अधिकार आयोग

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले समाजवादी मोर्चा र राजतन्त्र समर्थकहरूलाई आफ्नो प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ । आयोगले शुक्रबार समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दलको आमसभा र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र संगठनको प्रदर्शनको अनुगमन गरेको थियो । 

आयोगले चारवटा उच्चस्तरीय टोली बनाई तिनको अनुगमन गरेको जनाएको छ । सो क्रममा काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको आयोगले जनाएको छ । 

प्रदर्शनकारीहरू तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको आयोगले जनाएको छ । 

झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुंगा प्रहार गरेका छन् । 

अनुगमनका क्रममा हिँडेको राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीमाथि पनि प्रदर्शनकारीबाट कोटेश्वरमा सांघातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाइ फायर गरेको तथा व्यक्तिको निजी आवास समेत प्रयोग गरी अश्रुग्यास प्रहार गरेको देखिएको आयोगले जनाएको छ । 

यसैगरी समाजवादी मोर्चाले भृकुटीमण्डपमा सडकमा मञ्च बनाउँदा आवागमनमा बाधा परेको पाइएको आयोगको ठहर छ । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भए तापनि आफ्नो अधिकारकोे प्रयोग गर्दा अरूको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्यमान्यता विपरीत हुन जाने आयोगले जनाएको छ ।  

“कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन । अतः यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, “साथै, आगामी दिनमा आफ्ना प्रदर्शन र कार्यक्रमहरूलाई शान्तिपूर्ण बनाउन, आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारमा पर्न जाने असरप्रति संवेदनशील हुन आयोग आन्दोलनरत पक्षलाई पुनः आग्रह गर्दछ ।”

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro