
काठमाडौं । काठमाडाैं उपत्यकामा सवारीसाधनको ओभरस्पिडसम्बन्धी तोकिएको सीमा हाल कार्यान्वयनमा छ । मुख्य हाईवे र भित्री सडक गरी दुईथरी सीमा निर्धारण गरेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले जरिवाना तिराउँदै आएको छ ।
ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार भित्री सडकमा २०/३० को स्पिड र मुख्य हाईवेमा ५० सम्मको स्पिडमा मात्रै सवारी चलाउन पाइन्छ ।
मुख्य हाईवे कलंकी–कोटेश्वर र कोटेश्वर–भक्तपुर सडक खण्डको ट्रयाकमा ५०को स्पिड र सर्भिस ट्रयाकमा २०/३० स्पिडको गति तोकिएको गिरीले बताए ।
उनका अनुसार ओभरस्पिड चलाएको शंका लागेमा ट्राफिकले लेजर गन प्रहार गर्छ । त्यसपछि ओभरस्पिडमा सवारी हाँकेको खुले कारबाही हुने उनले बताए । “भ्यालीभित्र ५० को स्पिडभन्दा बढी कुदाउन पाइँदैन । भित्री सडकमा त कुदाउने ठाउँ पनि छैन,” उनले भने ।
उपत्यकाका स्थानीय तहसँगको समन्वय गरेर विभिन्न ठाउँमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) जडित क्यामेरा जडान गरिएका छन् ।
अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन (एनएफपीआर) र फेसियल रिकग्नाजेसन सिस्टम (एफआरएस) सुविधा भएका क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामरा जडान गरिएको ट्राफिकले जनाएको छ ।
यस्ता क्यामेराहरूबाट घटनासँग सम्बन्धित व्यक्ति र वस्तु पहिचान हुन्छ । ओभरस्पिड सवारी हाँक्ने लेन मिच्ने, दुर्घटना गराउने सवारी साधन कता गए, कसरी गए भन्ने दृश्य क्यामराले उपलब्ध गराउँछ ।
यस्ता विशेषता भएका क्यामरामध्ये तीन ठाउँमा एनएफपीआर र १० ठाउँमा एफआरएस क्यामेरा राखिएको छ । एनएफपीआर क्यामराले सवारीसाधन र चालकसम्बन्धी दृश्य तथा विवरण दिन्छ भने एफआरएस क्यामराले घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिन्छ ।
त्यस्तै, उपत्यकाका विभिन्न ठाउँमा ३३५ ठाउँमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । त्यसको आधारमा कारबाही हुने गिरीले बताए ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्थाबमोजिम १ पटक ओभरस्पिड चलाए पाँच सय रुपैयाँ, दोस्रोपटक ओभरस्पिड कुदाए एक हजार र तेस्रोपटक १५०० रुपैयाँ जरिवाना तिराइन्छ ।
सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका सीमा गतिसम्बन्धी नियम कार्यान्वयनमा ल्याएको गिरीले बताए ।
आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्म १० हजार ८५९ सवारी साधन ओभरस्पिडका कारण दुर्घटनामा परेको ट्राफिकको तथ्यांक छ ।