
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीले सदन अवरुद्ध गरेको बताएका छन् ।
महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए ।
उनले यही चैत १८ गतेभित्र अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएको बताए ।
“वर्षौंसम्म त्यही निकायमा काम गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्ने, त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई झुठा गाली गरिएको छ,” प्रधानमन्त्री ओलीले भने, “आन्दोलनका नाममा केके हुँदै छ भनेर आतंक सिर्जना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौंका दुई स्थानमा हुने जुलुस र सभा हुन्छ, सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।”