
काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले गएको शुक्रबार (चैत ८) उद्धार गरिएका नेपालीलाई स्वदेश फर्कायो । उनीहरूलाई म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरी बैंकक हुँदै नेपाल फर्काइएको हो ।
फागुन २३ गते मात्र बैंककस्थित नेपाली दूतावासले भारतको नयाँ दिल्ली हुँदै थाइल्यान्ड पुर्याएर अलपत्र पारिएका २० नेपालीको उद्धार गरी नेपाल फर्काएको थियो । ०८१ फागुन १ गतेयता मात्र बैंककस्थित नेपाली दूतावासले म्यानमार, थाइल्यान्ड, लाओस र कम्बोडियाका विभिन्न क्षेत्रमा अलपत्र परेका ३० भन्दा बढी नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ ।
“बैंककस्थित दूतावासले मात्र यस क्षेत्रबाट उद्धार गरी डेढ सयभन्दा बढीलाई नेपाल फर्काएको छ,” थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले बाह्रखरीसँग भने ।
डेढ वर्षको अवधिमा उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो । “म्यानमारको मेवाडी क्षेत्रबाट अझै सातजना नेपालीलाई उद्धारका लागि अनुरोध गर्नुभएको छ । छिट्टै उद्धार गरी उहाँहरूलाई हामी नेपाल पठाउँछौँ,” राजदूत ओलीले भने ।
मानव तस्करको प्रलोभनमा परी कति नेपाली म्यानमार, थाइल्यान्ड, लाओस र कम्बोडियामा पुगेर अलपत्र परेका छन्, यसको यकिन विवरण छैन । अलपत्र परेकाले सम्पर्क गरेपछि उद्धार गरी नेपाल फर्काउने गरिन्छ ।
“मानव तस्करको प्रलोभनमा परी आएर जुन क्षेत्रमा नेपाली अलपत्र परिरहेका छन्, त्यहाँ कति नेपाली छन् हामी भन्न सक्दैनौँ । तर, थुप्रै छन्,” उनले भने ।
म्यानमारस्थित नेपाली दूतावासले पनि त्यहाँ अलपत्र परेका ५० भन्दा बढीको उद्धार गरी पठाइसकेको छ । “उद्धार गरिदिनुपर्यो भनी दूतावासमा सम्पर्क गर्ने १० जना छन्,” म्यानमारका लागि नेपाली राजदूत हरिषचन्द्र घिमिरेले भने ।
थाइल्यान्ड र म्यानमारस्थित नेपाली दूतावासहरूले २०० भन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काइसकेका छन् । उद्धारको पर्खाइमा १७ भन्दा बढी छन् ।
गएको फागुन १८ गते म्यानमारका उपगृहमन्त्री मेजर जनरल टो यीले त्यहाँ रहेका कूटनीतिक नियोगका प्रमुखहरूलाई ‘ब्रिफिङ’ गरेका थिए । ब्रिफिङका क्रममा मेवाडी क्षेत्रमा रहेका आठ नेपालीसहित तीन हजार ४७४ विदेशी अवैध रूपमा रहेका र उनीहरूलाई फिर्ता गर्ने बताएका थिए । सबैजनालाई थाइल्यान्ड हुँदै सम्बन्धित देश पठाउने उनले सुनाएका थिए ।
उनले ब्रिफिङ गरेको महिना दिन बितेको छैन । तर, उनले उल्लेख गरेको संख्याभन्दा बढी नेपाली मेवाडी क्षेत्रबाट नेपाली दूतावासको सम्पर्कमा आएका छन् । यसले उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाली रहेको पुष्टि गर्छ ।
मेवाडी क्षेत्रमा अवैध तरिकाले चलाइएका अनलाइन स्क्यामिङ कम्पनी बन्द गरिएको छ । त्यससँगै त्यहाँ अवैध तरिकाले कार्यरत विदेशीलाई स्वदेश फिर्ता पठाउने प्रक्रिया सुरु गरिएको छ ।
अनलाइन स्क्यामिङ चलाइएका ठाउँहरू थाइल्यान्डको सीमानजिक म्यानमारको मेवाडी क्षेत्रमा छन् । ती ठाउँहरू विद्रोही समूहको नियन्त्रणमा छन् । ती ठाउँ म्यानमार सेनाको नियन्त्रणमा छैन । सोही कारण उनीहरूलाई थाइल्यान्ड हुँदै स्वदेश फर्काइएको हो
चार विद्रोही समूहले नियन्त्रण गरेका क्षेत्रमा कम्पनीहरूले अवैध रूपमा अनलाइन स्क्यामिङ चलाइरहेका छन् । नेपाललगायत देशका युवालाई प्रलोभन देखाई मानव तस्करले ती स्थानसम्म पुर्याउने गरेका छन् । त्यहाँ पुगेका विदेशीलाई बन्धक बनाई जबरजस्ती काममा लगाउने गरिएको छ ।
चारमध्ये दुई विद्रोही समूहले नियन्त्रण गरेका क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ मात्र बन्द गरिएको छ । अरू दुई समूह नियन्त्रित क्षेत्रको अवस्था के कस्तो छ र कतिलाई त्यहाँ अवैध तरिकाले काममा लगाइएको छ भन्ने यकिन विवरण छैन ।
क्यासिनो सञ्चालन गर्न थाइल्यान्डको सीमानजिक म्यानमारमा ठूलो सिटीको विकास गरिएको थियो । विद्रोहीको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा पछि क्यासिनो नचलाई अनलाइन स्क्यामिङ चलाइएको थियो ।
अनलाइन स्क्यामिङ चलाउने धेरै चिनियाँ कम्पनी थिए । केही दिनअघि थाइल्यान्ड–म्यानमार सीमा क्षेत्रबाट दुई चिनियाँ कलाकारलाई अपहरण गरी मेवाडी क्षेत्रमा राखिएपछि चीनले त्यहाँ दबाब बढाएको छ । सोही कारण अनलाइन स्क्यामिङ चलाउने चिनियाँ कम्पनी बन्द गरिएको छ । र, त्यहाँ कार्यरत नेपालीलगायत विदेशी नागरिकलाई मुक्त गरिएको छ ।
चिनियाँ मात्र होइन, केही दिनअघि म्यानमारको सीमानजिकको थाइल्यान्डको भूमिबाट जापानी पर्यटकलाई पनि अपहरण गरी मेवाडी क्षेत्रमा पुर्याइएको थियो । यस्ता घटनाले आफ्नो पर्यटन क्षेत्रमा असर गर्ने देखिएपछि थाइल्यान्डले पनि मेवाडीमा सञ्चालित अनलाइन स्क्यामिङ बन्द गर्न दबाब बढाएको थियो ।
मानव तस्करको प्रलोभनमा परी पहिलोपटक ०७९ मंसिरमा नेपाली युवाको एउटा समूह म्यानमार पुगी अलपत्र परेको थियो । वैदेशिक रोजगारीका निम्ति नेपाली म्यानमार पुगी अलपत्र परेको यो पहिलो घटना थियो । रोजगारीमा लगाइदिने भन्दै उनीहरूलाई मानव तस्करले म्यानमार पुर्याएका थिए ।
यसरी म्यानमार पुगेर नेपाली ठगिएको विषय सार्वजनिक भएपछि त्यहाँस्थित नेपाली दूतावासका अधिकारीले पीडितसँग भेटेका थिए । अनि, उद्धार गरी उनीहरूलाई नेपाल पठाइएको थियो । त्यसपछि दूतावासले ०७९ पुस २६ गते एउटा विज्ञप्ति जारी गर्दै मानव तस्करको प्रलोभनमा परी म्यानमार नआउन अनुरोध गरेको थियो ।
मानव तस्करले विभिन्न प्रलोभन देखाई म्यानमार मात्र होइन थाइल्यान्ड, लाओस र कम्बोडिया पनि पुर्याउने गरेका छन् । आकर्षक तलब सुविधालगायत प्रलोभन देखाई थाइल्यान्ड, कम्बोडिया, लाओस, भियतनाम पुर्याई गैरकानुनी कार्यमा लगाउने क्रम बढ्दो छ ।
“यस्ता विभिन्न प्रलोभनमा परी कुनै पनि नेपाली नागरिक उल्लिखित मुलुकमा अलपत्र परेको वा त्यस्ता समूहको बन्धकमा रहेको अवस्था भएमा निजको उद्धारका लागि पीडितको राहदानी, नागरिकता, भिसालगायत कागजातका फोटोकपीसहित परिवारजनले आफ्नो वडा कार्यालयमार्फत वा सिधै कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गरी विभागले जानकारी गराएअनुसारको प्रक्रिया पूरा गरी उद्धार कार्यमा सहयोग गरिदिनुहुन नेपाली राजदूतावास बैंकक सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,” दूतावासले गएको फागुन २६ गने विज्ञप्ति जारी गर्दै भनेको थियो ।
कसैको प्रलोभनमा परी कानुनविपरीत छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया, लाओस, थाइल्यान्ड नआउन दूतावासले अनुरोध गर्दै आएको छ । तर, मानव तस्करको प्रलोभनमा परी ती देश जाने क्रम रोकिएको छैन ।