
काठमाडाैं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले नेपालले मलेसियाविरुद्ध तीन अंकका निम्ति प्रतिस्पर्धा गर्ने बताएका छन् । एसियन छनोटअन्तर्गत मलेसियासँग हुने खेलअघि आयोजित प्रि–म्याच प्रेस मिटमा प्रशिक्षक रोसले नेपालले तीन अंकका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिए ।
“हामी तीन अंकको लागि नै खेल्नेछौँ । एक अंकभन्दा पनि तीन अंक प्राथमिकता हो । केही गरी एक अंकमात्र पाए म त्यसमा पनि खुसी हुनेछु । यदि हामीले बराबरी सोचेर खेल्यौँ भने हामीले शून्य अंक हात पार्छाैं,” सोमबार सञ्चरकर्मीहरूसँगको कुराकानीमा रोसले भने, “म सधैँ आफूलाई जित्न सक्ने विश्वास लागेको टिम छान्छु । म नेपालमा यो जिम्मेवारीमा आउनुको कारण नै सकारात्मक र आक्रमक खेलका लागि हो । जुन मैले वाचा गरिसकेको छु ।”
सम्मेलनमा कप्तान किरण चेम्जोङले मलेसियन समर्थकमाझ टोली खेल्न निकै उत्सुक रहेको बताए । उनले भने, “हामीले मलेसियासँग मैत्रीपूर्ण खेल धेरैपटक खेलिसकेका छौँ । मलेसियन समर्थकहरूको दबाब भए पनि साथीहरू दबाबमा खेल्न अभ्यस्त भइसकेका छन् । हामी खेल्न निकै उत्सुक र तयार छौँ ।”
एएफसी एसियन छनोटको तेस्रो चरणअन्तर्गत नेपालले भोलि ७ः४५ मा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । खेल सुल्तान इब्राहिम रंगशालामा हुनेछ ।
यसअघि नेपालले सिंगापुरलाई मैत्रीपूर्ण खेलमा १–० ले पराजित गरेको थियो ।