
काठमाडौं । रोमाञ्चक दोस्रो लेगमा ३–३ को बराबरी खेले पनि इटालीविरुद्ध समग्रमा ५–४ को जित निकाल्दै जर्मनी यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति सिग्न इदुना पार्कमा घरेलु टिमका जोसुवा किमिच, जमल मुसियाला र टिम क्लेनडेन्स्टले गोल गरे । पाहुना टिमका मोइस किन र जियाकोमो रास्पाडोरीले गोल गरे पनि पहिलो लेगमा व्यहोरेको हारका कारण इटालीलाई अघि बढाउन सकेनन् ।
यी दुई टिमबीचको पहिलो लेगमा जर्मनीले इटालीलाई उसैको मैदानमा २–१ ले पराजित गरेको थियो ।
आइतबार राति ३–० ले पछि परेको स्थिति उल्ट्याउँदै इटाली खेलमा फर्किएको थियो । जर्मनीका किमिचले ३०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ३६औँ मिनेटमा मुसियालाले घरेलु टिमको अग्रता दोब्बर बनाए । ४५औँ मिनेटमा क्लिेनडेन्स्टले गोल गरेपछि घरेलु टिम पहिलो हाफसम्म ३–० ले अगाडि थियो ।
दोस्रो हाफमा इटालीले तीन गोल फर्कायो । ४९औँ मिनेटमा किनले पहिलो र ६९औँ मिनेटमा दोस्रो गोल गरे । इन्ज्युरी समयमा रास्पाडोरीले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने इटालीको आशा कायम राखेका थिए । तर, यसपछि गोल नहुँदा जर्मनी पहिलो लेगको नतिजाका कारण सेमिफाइनलमा प्रवेश गरेको हो ।
जर्मनीले अब अन्तिम–४ मा पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पोर्चुगलले आइतबारै राति भएको अर्को खेलमा डेनमार्कलाई समग्रमा ५–३ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ ।