site stats
बाह्रखरी :: Baahrakhari
खेल
१० खेलाडीमा सीमित संकटाको सानदार जित

काठमाडौं । १० खेलाडीमा सीमित संकटा क्लबले एन्फा महिला लिग छनोटमा झापा एफसीविरुद्ध ४–० को सानदार जित निकालेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा संकटालाई जित दिलाउन टोलीकी सुक्रिया मियाले दुई गोल गरिन् । प्रतीक्षा राई र रेनिशा शर्माले पनि समान एक गोल गरे । संकटाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको थियो । 

खेलको २०औँ र २८औँ मिनेटमा सुक्रियाले गोल गरेपछि संकटाले पहिलो हाफमा २–० को अग्रता बनायो । ५५औँ मिनेटमा प्रतीक्षाले गोल गर्दै संकटाको अग्रतालाई ३–० को अवस्थामा पुर्‍याइन् । ८९औँ मिनेटमा रेनिशाले चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् । 

यसअघि टोलीकी गोलकिपर सुशिलाकुमारी चौधरीले रातो कार्डको दर्शन गरेपछि संकटा १० खेलाडीमा सिमित भएको थियो । यो जितसँगै संकताले छनोटको समूह ‘बी’ मा ६ अंक बनाएको हो । उसले यसअघि नेपाल खेलकुद क्लबलाई १–० ले पराजित गरेको थियो । तेस्रो खेलमा बुटवल लुम्बिनी एफसीसँग खेल्नेछ । खेल भदौ ८ गते दिउँसो ४ बजे च्यासल रंगशालामा हुनेछ ।

पहिलो हार खेपेको झापाले भने अब तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्