site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेन शान्ति प्रयासका लागि ट्रम्पको कदम किन प्रशंसायोग्य छ ?

काठमाडौं । युक्रेनका लागि यो लामो समयपछि आएको सबैभन्दा राम्रो दिन थियो । तर, रुसको क्रूर आक्रमणबाट सुरु भएको युद्ध चाँडै अन्त्य हुने सम्भावना भने अझै कठिन नै छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार ह्वाइट हाउसको भ्रमण गरे । विगतको जस्तो ओभल अफिसमा कुनै तनाव भएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई बचाई युरोपलाई सुरक्षित बनाएर र नोबेल शान्ति पुरस्कारको वास्तविक हकदार बनेर कसरी राष्ट्रपति पदको महानता हासिल गर्न सकिन्छ भन्ने आकर्षक झलकहरू प्रस्तुत गरे ।

जेलेन्स्कीलाई समर्थन गर्न आएका युरोपेली नेताहरूको समूह प्रभावशाली र असामान्य रूपमा एकजुट थियो । यद्यपि, उनीहरूको वैचारिक मतभेदहरू फराकिलो थियो । उनीहरूले पालैपालो क्यामेरामा टिप्पणी गर्दै ट्रम्पलाई युक्रेनको पक्षमा उभिन राजनीतिक र भावनात्मक तर्क प्रदान गर्न खोजे । यो ऐतिहासिक दिनले दोस्रो विश्वयुद्ध अन्त्य गर्ने र आधुनिक विश्व निर्माण गर्ने महान् राजनीतिक भेलाहरूको सम्झना गरायो । पश्चिमी विश्व यस्तै रूपमा काम गर्नुपर्छ, जहाँ अमेरिकी राष्ट्रपतिले साझा लक्ष्य राख्ने शक्तिशाली युरोपेली नेताहरूको नेतृत्व गर्छन् ।

के यो धेरै राम्रो भएर टिक्न नसक्ने हो ?
विशेषगरी गत हप्ता अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको उनको चापलुसीपूर्ण शिखर सम्मेलनमा पुटिनलाई  प्रदान गरेको सहुलियतपछि ट्रान्सएट्लान्टिक गठबन्धनमा आएको फाटो र ट्रम्पको चन्चल स्वाभावका कारण विपत्ति टार्नु नै ठूलो प्रगति मानिन्छ ।

ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पसहित सबैले सम्भावनाहरूलाई जोड दिन र उपलब्धिहरूलाई भत्काउन सक्ने मुद्दाहरूको विशिष्ट छलफललाई बेवास्ता गर्न हरसम्भव प्रयास गरे । 

साँझसम्ममा, ट्रम्पले सामाजिक सञ्जालमा जेलेन्स्की र पुटिनसहितको त्रिपक्षीय शिखर सम्मेलनको सम्भावनाबारे चाँडै आयोजना हुन सक्ने बताए । त्यसअघि रुसी र युक्रेनी नेताबीच ‘वान टु वान’ वार्ता हुन सक्ने पनि उल्लेख गरे । जर्मन चान्सलर फ्रेडरिख मर्जले यस्तो बैठक दुई हप्ताभित्र हुन सक्ने बताए, जसले कूटनीतिक गति तीव्र भएको संकेत गर्छ ।

फिनिस राष्ट्रपति अलेक्जेन्डर स्टबले ट्रम्पलाई भने, “पछिल्लो दुई हप्तामा हामीले यो युद्ध अन्त्य गर्न विगत साढे तीन वर्षमा भन्दा धेरै प्रगति गरेका छौँ ।” यो कुनै विदेशी नेताले अमेरिकी राष्ट्रपतिलाई खुसी पार्न आत्मसमर्पण गरेको नभई सत्य थियो ।

यहाँबाट कठिन हुँदै जानेछ
सोमबारको बैठकले राष्ट्रपतिले युक्रेनमा हत्या रोक्न चाहेको कुरामा गम्भीर भएको सबैभन्दा ठोस संकेत थियो । ट्रम्पको ऊर्जा र प्रतिबद्धताका लागि उनले प्रशंसा पाउनुपर्छ ।

तर, यो दिनले आगामी हप्ताहरूमा ट्रम्पको शान्ति प्रयास र पश्चिमी एकता भत्काउन सक्ने प्रश्नहरू पनि उजागर गर्‍यो, जुन पुटिनलाई रमाइलो लाग्न सक्छ ।

शान्ति सम्झौतापछि युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिनुपर्ने आवश्यकताबारे धेरै सकारात्मक कुराकानी भयो । ट्रम्पले अमेरिकी सैन्य समर्थन पठाउने संकेत पनि गरे । तर, यसले कसरी काम गर्छ र, सबैभन्दा महत्त्वपूर्ण रुसले सम्झौताको हिस्साको रूपमा के स्वीकार गर्छ भन्ने कुरा कसैले अझै स्पष्ट पारेको छैन ।

इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले नेटोको आर्टिकल ५ को आपसी रक्षा प्रतिबद्धतामा आधारित पश्चिमी राष्ट्रहरूको ग्यारेन्टीको प्रस्ताव राखिन् । यो औपचारिक गठबन्धन संरचनाबाहिर हुने तर त्यस्तै काम गर्ने हुन सक्छ । 

तर, अलास्कापछि ट्रम्पले पुटिन युक्रेनका लागि सुरक्षा ग्यारेन्टीमा खुला रहेको आश्वासन दिए पनि यो सम्भावना कम छ । रुसी नेताले आफ्नो छिमेकीको नेटो आकांक्षा दबाउन युद्ध लडिरहेका छन् ।

‘जमिन साटासाट’ को क्रूर भ्रम
त्यसपछि भूमिको मुद्दा छ । राष्ट्रपतिको शिसु शान्ति प्रक्रियाको चर्चित शब्द जमिन साटासाट हो । जसले विस्तारित रुस र नवजात सानो युक्रेनबीच नयाँ सीमांकन सिर्जना गर्छ । ट्रम्पले जेलेन्स्कीलाई नक्सा पनि दिए, जसको लागि उनले कृतज्ञता व्यक्त गरे । मानौँ, उनलाई युक्रेनी रगतले भिजेको जमिनबारे कठिन छनोटहरू थाहा छैन ।

ट्रम्प र पुटिनको शिखर सम्मेलनबारे जानकारी पाएका अधिकारीहरूका अनुसार, रुसी नेताले वार्तामार्फत पूर्वी युक्रेनको डोनबासको आर्थिक र औद्योगिक शक्तिकेन्द्र क्षेत्रसहित आफ्ना सेनाले कब्जा गर्न नसकेको जमिन कब्जा गर्न खोज्छन् । 

यो क्षेत्र युक्रेनले रुसलाई रोक्न बनाएको स्टिल, कंक्रिट र भारी रूपमा सुरक्षित सहरहरूको रेखा पनि हो, जुन भविष्यका आक्रमणहरू रोक्न आवश्यक छ ।

जमिन साटासाट शब्दले आफ्नो वास्तविक अर्थ लुकाउँछ । रुसी योजनाअनुसार, युक्रेनले आफ्नै क्षेत्रका विभिन्न भागहरूका लागि सौदाबाजी गर्नुपर्नेछ । पुटिनले रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरू लिनेछन् र युक्रेनभित्र पहिले नै कब्जा गरेका कम महत्त्वपूर्ण जिल्लाहरू प्रस्ताव गर्नेछन् । यो खासै राम्रो सम्झौता जस्तो लाग्दैन ।

जमिन साटासाटले युगान्तकारी उथलपुथल सिर्जना गर्छ र भविष्यका झगडाहरूको बीउ रोप्ने उदाहरणको विगतजस्तो मध्यपूर्वले देखाउँछ । यसको अर्थ हजारौँ युक्रेनीहरूलाई घर छोड्न वा रुसी बन्न बाध्य पार्नु हो । 

विवादित क्षेत्रहरूमा औपचारिक मान्यता रोकेर युद्धलाई स्थिर राख्ने र सम्प्रभुताको महत्त्वपूर्ण निर्णयलाई स्थगित गर्ने केही सूत्रहरू छन् । यसले उत्तर र दक्षिण कोरिया वा शीतयुद्धकालीन विभाजित जर्मनीजस्तै अवस्था सिर्जना गर्नेछ । तर, यी यस्ता छनोटहरू हुन्, जुन जेलेन्स्कीले आफ्ना जनतालाई बेच्न असम्भव हुन सक्छ । यही कारणले सोमबारको छलफल अवास्तविक थियो ।

“मलाई लाग्छ सबैजना खुसी मुडमा छन्, र यो बेखुसी हुनुभन्दा राम्रो हो,” ट्रम्पको पहिलो कार्यकालका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सीएनएनको एन्डरसन कुपरसँग भने, “बैठकहरूमा ध्यान केन्द्रित गर्नुले यो सबैमा पदार्थको कमी भएको देखाउँछ ।”

ट्रम्पको युक्रेनप्रति दृष्टिकोण परिवर्तन
ट्रम्प सत्तामा फर्कंदा, युक्रेनका समर्थकहरूमा उनले युक्रेनलाई एक्लै छोड्ने डर थियो । राष्ट्रपतिले अझै पनि २०२२ मा पुटिनको क्रूर आक्रमणपछि देशलाई बचाउने ठूलो अमेरिकी सैन्य सहायता प्याकेजहरूमा असहमति जनाए ।

तर, ट्रम्पले यो युद्ध अन्त्य गर्न आफ्नो व्यक्तिगत विश्वसनीयता र राजनीतिक पुँजीमा ठूलो लगानी गरेका छन्, जुन उनले २४ घण्टाभित्र बन्दुकहरू शान्त पार्ने वाचा गर्दा बुझेभन्दा धेरै जटिल छ भनेर स्वीकार गर्छन् । ह्वाइट हाउसमा कूटनीति सुरु हुँदा किभमा हवाई हमलाको सायरन बजेको थियो ।

सोमबार, ओभल अफिसको प्रेस कार्यक्रममा रूढिवादी सञ्जालका पत्रकारहरूले उनलाई भड्काउन खोज्दा पनि जेलेन्स्कीसँगको तनावलाई धेरैजसो नियन्त्रण गरे । त्यसपछि, उनले ट्रान्सएट्लान्टिक सहयोगीहरूले घेरिएको अमेरिकी राष्ट्रपतिको परम्परागत सभा आयोजकको भूमिका खेले । उनले प्रायः मित्रहरूलाई शत्रुजस्तै व्यवहार गर्छन्, तर सहयोगी नेताहरूप्रति उनको वास्तविक सम्मान देखिन्छ ।

एकपटकका लागि, उनी ड्वाइट आइजनहावर, रोनाल्ड रेगन वा जर्ज एच.डब्ल्यू. बुश जस्ता अन्तर्राष्ट्रियवादी परम्पराका राष्ट्रपतिहरूको लाइनमा थिए ।

“हामी सबै एउटै लक्ष्यका लागि काम गरिरहेका छौँ, धेरै साधारण लक्ष्य जुन हामी हत्यालाई रोक्न चाहन्छौँ, यो समाधान गर्न चाहन्छौँ,” ट्रम्पले भने ।

पुटिनलाई अझै रिझाउने
तर, केही झट्का लाग्ने क्षणहरूले शान्ति प्रक्रियामा ट्रम्पको वास्तविक निष्ठाबारे चिन्ता बढायो । उनले फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनलाई हट माइकमा भने, “पुटिन मेरा लागि सम्झौता गर्न चाहन्छन् । यसले रुसी नेताको खतरनाक सोझोपन देखाउँछ, जसले हत्याको अनावश्यक युद्ध सुरु गरे ।”

त्यसपछि, ट्रम्पले युरोपेली नेताहरूसँगको वार्ता स्थगित गरेर पुटिनसँग फोनमा कुरा गर्न गए ।

यस्तो व्यवहार बुझेका युरोपेली समकक्षीहरूले छोटो सूचनाको बाबवजुद आकस्मिक रूपमा एट्लान्टिक पार गर्दै अमेरिका आए । यसैकारण ट्रम्पको क्षमता र पश्चिमी सुरक्षाप्रतिको प्रतिबद्धताबारे शंका कायम छ ।

तैपनि, जेलेन्स्की, युरोपका नेताहरू र पुटिनबीच कसैले पनि त्यो पुलको काम गर्न सक्दैन । यदि शान्ति सम्झौता हुन्छ भने, यो सम्भवतः ट्रम्पले आफ्नो करिश्मा र अमेरिकाको शक्ति प्रयोग गरेको कारण हुनेछ । यो अत्यन्त अपरम्परागत दृष्टिकोण हो जुन काम नलाग्न सक्छ ।

किम्मेजले ट्रम्पको रणनीति यसको आन्तरिक विरोधाभासहरूमा भत्किन सक्ने चेतावनी दिए । ट्रम्प “सबैका लागि सबै कुरा बन्न खोज्दैछन्, उनले पुटिनसँग भेटेर उनलाई खुला हातले स्वागत गर्छन् र केही सम्झौतामा पुग्छन् । उनले युक्रेनलाई सुरक्षा प्रतिबद्धताबारे बोल्छन् उनले युक्रेनलाई समर्थन गर्ने युरोपेली नेताहरूको प्रशंसा गर्छन् ।”

“के भइरहेको छ भन्ने कुनै विवरण छैन । यो सबै वाचाहरू छन्, र सतहमा यी वाचाहरू एकअर्कासँग बाझिन्छन्,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्