
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को भवनमा सरकारले लामो समयदेखि लगाएको ताला खोलिएको छ । युवा तथा खेलकुद मन्त्रालयबीच रहेको टकरावबीच साउन २७ गते खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्देशनमा ओलम्पिकको तदर्थ कमिटी गठन भएको थियो । जसलाई तीन महिनाभित्र ओलम्पिकको निवार्चन गराउने जिम्मा दिइएको छ ।
यसअघि जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक कमिटी गत वर्षको पुस १३ गते अनलाइनमार्फत भएको निर्वाचनबाट तेस्रोपटक अध्यक्षमा आएका थिए । तर, निर्वाचनअघि मंसिर १८ गते विशेष साधारणसभामार्फत कमिटीको विधान संशोधन गर्दै आफू तेस्रोपटक निर्वाचित हुने बाटो खोलेको भन्दै खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) रुष्ट बनेको थियो ।
यहीकारण मन्त्रालयले सरकारी सम्पत्तिको सुरक्षा गर्न भन्दै ओलम्पिक कमिटीमा निर्वाचनअघि ताला लगाएको थियो । त्यसयता श्रेष्ठ नेतृत्वको कमिटी सरकारले लगाएको तालाका कारण भवन प्रयोगबाट वञ्चित भएको थियो । तर, मन्त्रीको निर्देशनमा ध्रुवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति गठन भएपछि भने मंगलबार ताला खोलिएको हो ।
तदर्थ कमिटीका प्रवक्ता समिम मियाँ अन्सारीले आफूहरूले एनओसीको काम–कारबाहीका निम्ति भवनको ताला खोल्न सरकारसँग अनुरोध गरेको तर यसमा प्रत्यक्ष संलग्न नरहेको बताए । “हामीले कमिटी गठन भएसँगै राष्ट्रिय खेलकुद परिषद्लाई ताला खोल्न अनुरोध गरेका थियौँ । हामीलाई ताला खुल्यो भन्ने जानकारी आएको पनि छ । यसमा हाम्रो प्रत्यक्ष भूमिका छैन । हामीले कमिटी बनेपछि काम गर्नका निम्ति ताला खोल्न सरकारलाई अनुरोध गरेका थियौँ,” प्रवक्ता मियाले बाह्रखरीसँग भने ।
प्रवक्ता अन्सारीले एनओसीमा आबद्ध २७ मध्ये २३ संघको साथ रहेको हुँदा तदर्थ कमिटी नै नेपालको एकमात्र ओलम्पिक कमिटी भएको जिकिरसमेत गरे । “एनओसीमा रहेका २७ मध्ये २३ संघ हामीसँग छन् । कमिटी गठनपछि आईओसीसँग पनि कुरा गरिसकेका छौँ । नेपालमा एउटामात्रै ओलम्पिक कमिटी हो । त्यो हामी हौँ । हामीलाई काम गर्न पनि ढोका खुला छ । बाँकी संघ हामीसँग आउनुहुन्छ भने त्यसका निम्ति पनि ढोका खुला राखेका छौँ,” अन्सारीले थपे ।