site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्व म्याराथन (एम्स)को बोर्ड बैठक नेपालमा हुने

काठमाडौं । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक नेपालमा हुने भएको छ ।

आगामी जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दूत टीएस ठकुरीले बताए । जेठ २१ र २२ गते (जुन ४–५) मा एम्सको बोर्ड बैठक हुनेछ ।

कुनै पनि विधाको विश्वव्यापी फेडरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतः यो पहिलो हो । यसअघि एसियाली निकायसम्मका बोर्ड बैठक तथा कंग्रेस नेपालमा आयोजना भएका थिए ।

निरन्तर लबिङपश्चात एम्सको बोर्ड बैठक नेपालमा होस्ट गर्न सम्भव भएको एम्स दूत रहेका नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताए ।

“एम्सको बोर्ड बैठक नेपालमा बस्नु भनेको समग्र देशको पर्यटनका लागि खुसीको खबर हो,” नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले भने, “यसले नेपालका बारेमा विश्वव्यापी प्रचार प्रसार हुनेछ । साथै, नेपालका रेस आयोजकलाई अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्न, दौडको विश्वव्यापी अभियानसँग परिचित हुन र केही सिक्न सुवर्ण अवसर समेत प्रदान गर्नेछ ।”

एम्सले संसारभर वर्ल्ड एथ्लेटिक्ससँग समन्वय गरेर रोड रेसहरूको नियमन तथा प्रवर्द्धन गर्दछ ।  एम्सको सन्जाल १२० देशमा छ । करिब ४५० रोड रेस आयोजक यसका सदस्य छन् । संसारभर रोड रेसको मापन र मान्यता एम्सले नै दिने गर्दछ ।

एम्सको बोर्ड मिटिङका लागि आतिथ्यता गर्न लागेकोमा नेपालप्रति एम्सका प्रेसिडेन्ट पाको बोराओले आभार प्रकट गरेका छन् । एम्सको बोर्ड बैठकमा करिब डेढ दर्जन राष्ट्रको प्रतिनिधित्व हुनेगरी सहभागिता रहनेछ । नेपालगन्ज म्याराथनले सोही अवसरमा आयोजना गर्ने अन्य बिशेष कार्यक्रममा कुल दुई दर्जन देशका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरेको छ । विश्व समुदाय समक्ष समग्र नेपालप्रतिको धारणा बन्ने भएको हुँदा यो प्रतिष्ठाको विषय रहेको ठकुरीले बताए ।

नेपालमा नियमित आयोजना हुँदै आएका सम्पूर्ण रोड रेस आयोजकसँग एम्सको अन्तर्क्रिया गराउने तयारी गरिएको ठकुरीले जानकारी दिए । एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन मूल आयोजक समिति गठन गरिनेछ । नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरूलाई उक्त मूल आयोजक समितिमा समेटिनेछ । एम्सको बोर्डमा युरोप, अमेरिका, जापान, थाइल्यान्डलगायत दर्जन राष्ट्रको प्रतिनिधित्व रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro