
काठमाडौं । प्रोटोनले नेपालमा आफ्नो ई.मास७ विद्युतीय गाडी (ईभी) सार्वजनिक गरेको छ । गएको शुक्रबार (चैत ८) सार्वजनिक गाडीले हरित र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ ।
मलेसियन कम्पनी प्रोटोनको नेपालका निम्ति आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ई.मास७ ईभी भित्र्याएको हो । प्राइम र प्रिमियम गरी ई.मास७ दुई भेरियन्टमा उपलब्ध छ ।
गाडीका भेरियन्ट प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी पाँच रङमा उपलब्ध छन् ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपालमा प्रोटोन ई.मास७ सार्वजनिक गर्न पाएकामा खुसी व्यक्त गरे । “नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटरचालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ,” उनले भने ।
कम्पनीले देशभर डिलरपिस, सेवा केन्द्र एवं चार्जिङ स्टेसनलगायत पूर्वाधार विकास गर्ने जनाएको छ ।
केके छन् फिचर ?
प्रोटोनको पहिलो ईभी ई.मास७ ग्लोबल मोड्युलर आर्किटेक्चरमा बनेको छ । गाडीमा सेल–टु–बडी ब्याट्री संरचना र सर्ट–ब्लेड लिथियम आयरन फस्फेट ब्याट्री छ ।
गाडीमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम छ । यस्तै, ३६० डिग्री क्यामेरा, फाइभ–स्टार आसियन एनक्याप सुरक्षा रेटिङ, १६० किलोवाटको मोटर र ३२० एनएमको टर्क छ ।
यसले शून्यदेखि १०० किलोमिटरको गति ६.९ सेकेन्डमै दिने कम्पनीले जनाएको छ । गाडीलाई १०० किलोमिटर प्रतिघण्टाको गतिबाट ३५ मिटरको दूरीमै रोक्न सकिन्छ ।
डीसी फार्स्ट चार्जरबाट २० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । १० मिनेटको चार्जले १३५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
भेन्टिलेटेड सिट, पर्याप्त लेगरुम, ३३ स्टोरेज कम्पार्टमेन्ट, वानोस प्रविधिको १६ स्पीकर साउन्ड सिस्टम, २५६ रङको एम्बियन्ट लाइटिङ र १५.४ इन्च र २.५के रिजोल्युसनसहितको टचस्क्रिन डिस्प्ले गाडीमा छ ।
मूल्य
४९.५२ किलोवाटआवर क्षमताको ब्याट्री र १६० किलोवाट क्षमताको मोटर रहेको ई.मास७ प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ कायम छ ।
यस्तै, ६०.२२ किलोवाटआवर क्षमताको ब्याट्री र १६० किलोवाटको मोटर रहेको ई.मास७ प्रिमियमको मूल्य ६७ हजार ९९ रुपैयाँ कायम छ ।