
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा पार्टी भए पनि देशमा भने सुशासन नभएको बताएका छन् । जीपी फाउन्डेसनले बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशमा सुशासन फिटिक्कै नरहेको बताए ।
“आजको दिन पनि हामी सरकारमा छौँ । नेपाली कांग्रेस सरकारमा छ । नेपाली कांग्रेस र एमाले सरकारमा नै छौँ,” कोइरालाले भने, “हामीले सुशासनको लागि त कुरा गर्नुपर्यो, अगाडि बढाउनुपर्यो । भन्न त नहुने, सुशासन पटक्कै छैन भने पनि हुन्छ ।”
उनले कर्मचारीको नियुक्तिसहितका काममा पनि योग्यतालाई आधार नबनाइएको टिप्पणी गरे । मेरिटलाई भन्दा मन पर्नु वा नपर्नुलाई आधार मान्न थालिएको उनको टिप्पणी थियो । “उहाँहरूलाई मन लाग्यो एक, दुई, तीन नम्बर लिस्ट आउँछ, मन्त्रिपरिषद्मा जान्छ, उहाँहरूलाई मन लाग्यो तेस्रो नम्बर लिनुहुन्छ, आफूलाई चित्त बुझेको छ भने एक नम्बर हालिदिनुहुन्छ,” डा. शेखरले भने, “सुशासन पटक्कै छैन । हामीले यो कुरा भन्ने की नभन्ने । नेपाली कांग्रेस हामी सत्ता पक्षका हौँ । तर हामी आफैँ सरकारमा त छैनौँ ।”
उनले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी पनि आफूहरूकै भएको बताए ।