site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको छ : प्रचण्ड
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेस जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

Argakhachi Cement Island Ad

विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरूले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गर्दै उनले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको बताए । गत मंसिरको उपनिर्वाचन हुँदै भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भएको बताए ।

"गत उपनिर्वाचनमा कांग्रेस–एमाले मिलेर मात्र होइन, उनीहरूले आपसमा चुनाव चिह्न साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौँ" उनले भने, "अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरू मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ, कयौँ ठूला क्याम्पसमा ३०औँ वर्षदेखिका रेकर्ड तोडिएका छन् ।"

प्रचण्डले सरकारका गलत क्रियाकलापको फाइदा उठाएर प्रतिगामी शक्तिहरूले टाउको उठाउने दुस्साहस गरेको टिप्पणी गर्दै जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको उल्लेख गरे । उनले पार्टीले अघि बढाएको तराई मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौँ जनतामा नयाँ भरोसा जगाएको बताए ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्