site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२५ करोडका भरिया ‘फुच्चे’को फोन कनेक्सन खोज्दै प्रहरी, ट्रक उनको आफ्नै सम्पत्ति

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रासहित पक्राउ परेपछि सामाजिक सञ्जाल तरंगित बनेको छ ।

काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका कुसाङको कनेक्सन पत्ता लगाउन प्रहरी अनुसन्धान जारी छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी एवं सूचना अधिकारी काजीकुमार आचार्यले उनको कनेक्सन पत्ता लगाउन दूरसञ्चारसँग फोन डिटेल मागेको बताए ।

“कुसाङको कनेक्सन पत्ता लगाउन दूरसञ्चारसँग फोन डिलेट मागेका छौँ । उनको आधिकारिक बयान भने भएको छैन,” उनले भने, “कुसाङको फोन सम्पर्क को–कोसँग भएको छ भन्ने कुरा हेर्दैछौँ ।”

अपराध अनुसन्धान कार्यालयबाट खटिएका डीएसपी अनिल अधिकारीको टोलीले सोमबार (चैत ४) राति ११ बजे काठमाडौंकै झोर क्षेत्रबाट कुसाङलाई पक्राउ गरेको थियो ।

कुसाङ यसअघि २०७३ सालमा सात किलो सुन तस्करीमा पक्राउ परेका थिए । त्यतिबेला पनि उनलाई अपराध अनुसन्धान महाशाखाले नै पक्राउ गरेको थियो । राजस्व छली सुन चोरी पैठारी अभियोगमा दोषी ठहर भएपछि पाँच वर्ष कैद भुक्तान गरेर निस्किएका थिए ।

अहिले पनि कुसाङ सुन तस्करीमै लागेको हुनसक्ने प्रहरीको आशंका छ ।

काठमाडौंबाट चीनको केरुङतर्फ लैजाँदै गरेको अवस्थामा ना७ख १६५२ नम्बरको ट्रकको चालक बस्ने सिटको माथिपट्टीको फल्सबटमभित्र लुकाएर २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँबराबरको अमेरिकी डलर, युरोलगायत विदेशी मुद्रा प्रहरीले फेला पारेको थियो ।

एसपी आर्चायका अनुसार, कुसाङले चलाएको ट्रक उनको आमाको नाममा रहेको पनि खुलेको छ । “उनले चलाएको ट्रक उनको आफ्नै सम्पत्ति हो, उनको आमाको नाममा रहेछ । त्यसमा कुनै आशंका छैन,” एसपी आर्चायले भने ।

सांसदको प्रश्न– २५ करोड कुनै भरियाको हुँदैन ?
बुधबार (चैत ६) को प्रतिनिधिसभा बैठकमा पनि २५ करोड प्रकरणबारे प्रश्न उठेको थियो । सांसद अमरेशकुमार सिंहले २५ करोड प्रकरणबारे गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने भन्दै सभामुखसँग माग गरे ।

सांसद सिंहले भने, “जहिले पनि हामी भरिया समात्छौँ । मालिक समात्दैनौँ । मालिक समातेर देखाउनुस् । २५ करोड कुनै भरियाको हुँदैन ।”

त्यस्तै, सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटाले २५ करोड रुपैयाँ बरामद भएको घटनाले सिंगो देश नै तरंगित बनेको भन्दै नेपालमा संगठित अपराध र तस्करीको जालो झनै फैलिँदै गएको समेत बताएका थिए । ठूला काण्डको अनुसन्धान भरियासम्म मात्रै पुग्ने गरेको तर, मालिकसम्म कहिल्यै पनि अनुसन्धान नपुग्ने भन्दै प्रश्न उठिरहेको छ ।

एसपी आचार्यका अनुसार, कुसाङले सो रकम केरुङसम्म पुर्‍याइदिने तर आफूले कसैलाई नचिन्ने बताएका थिए ।

“उनले केरुङमा कसैलाई नचिन्ने आफूलाई त्यहाँसम्म सो पैसा पुर्‍याइदिने बताएका छन् । हामीले टेक्निकल कुराहरूमा अनुसन्धान थालेका छौँ । राजस्व छलीसम्बन्धी अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान कार्यालय पठाइएको छ । अनुसन्धानका क्रममा थप कुरा खुल्दै जानेछ,” एसपी आचार्यले भने ।

सुन खरिद प्रयोजनकै लागि कुसाङ चीनको केरुङतर्फ जाँदै गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro