काठमाडौं । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भयो । वार्ता दुई घण्टा चलेको थियो ।
फोन वार्तापछि राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका ऊर्जा केन्द्रहरूमा आक्रमण रोक्न सहमति जनाए, तर युक्रेनमा तत्काल र पूर्ण युद्धविराम लागू गर्ने प्रस्ताव भने अस्वीकार गरे ।
हालै साउदी अरेबियामा ट्रम्पको टोलीले युक्रेनी अधिकारीहरूसँग वार्ता गरेको थियो । वार्ताका क्रममा रुस–युक्रेन युद्ध रोक्न एक महिना लामो युद्धविराम योजना बनाइएको थियो । तर पुटिनले त्यसमा हस्ताक्षर गर्न अस्वीकार गरिदिए ।
युक्रेनले विदेशी सहायता र गुप्तचर सूचना प्राप्त गर्न बन्द गरेमा मात्र वृहत्त युद्धविराम सम्भव हुने सर्त पुटिनले अघि सारेका छन् । युक्रेनका युरोपेली सहयोगीहरूले यो सर्त पहिले नै अस्वीकार गरिसकेका छन् ।
तीन वर्षे युद्धको क्रममा रुसले हालै छ महिनाअघि युक्रेनी सेनाको नियन्त्रणमा रहेको कुस्र्क क्षेत्रको अधिकांश भाग पुनः कब्जा गरेको छ ।
मंगलबार ट्रम्प र पुटिनबीच भएको वार्ता एक हप्ता अघि अमेरिकाले लिएको अडानबाट पछि हटे सरह हो । यद्यपि, दुवै नेता मध्यपूर्वमा थप शान्ति वार्ता जारी राख्न भने सहमति भएका छन् ।
गत मंगलबार अमेरिकी प्रतिनिधिमण्डलले साउदी अरेबियाको जेद्दामा युक्रेनी प्रतिनिधिमण्डलसँग वार्ता गरेका थिए । वार्तामा अमेरिकी प्रतिनिधिले किभलाई तत्काल ३० दिने युद्धविराममा सहमत हुन मनाउन सफल भएका थिए । यसमा जमिन, वायु र समुद्र– तीन स्थानमा पूर्ण युद्धविराम लागु हुने कुरा समावेश थियो ।
मंगलबार ट्रम्प–पुटिन वार्ताको केही समयपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की औपचारिक भ्रमणका क्रममा फिनल्यान्डको हेलसिंकी पुगेका छन् । उनले युक्रेन उर्जा केन्द्रहरुमा आक्रमण रोक्न भएको सहमति स्वीकारे । तर सहमतिका अन्य विवरणहरू बाहिर आउन बाँकी रहेकोले पर्खन आग्रह गरे ।
रुसले ठूलो मात्रामा ड्रोन आक्रमण गरेका कारण पुटिनले युद्धविराम अस्वीकार गरेको आरोप उनले लगाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै धूमधामका साथ वार्ता गरेका थिए । तर नतिजा भने त्यस्तो केही निस्कने, जसलाई ठूलो उपलब्धी भनेर दाबी गर्न सकियोस् ।
पुटिनले ट्रम्पलाई यति मात्र दाबी गर्ने अवसर दिए– युक्रेन शान्ति सम्झौतामा उनले प्रगति गरिरहेका छन्, ताकि यस्तो नलागोस् क्रेमलिनले यस अवसरको फाइदा उठायो ।
ट्रम्पले युक्रेनी ऊर्जा केन्द्रहरूमा ३० दिनसम्म आक्रमण रोक्ने पुटिनको वाचालाई आफ्नो सफलताको रूपमा देखाउन सक्छन् । यदि उर्जा केन्द्रहरूमाथि आक्रमण रोकियो भने यो आम जनताको लागि राहतको कुरा हुनेछ । तर यो अमेरिकाले रुसबाट चाहेको पूर्ण र बिना शर्त युद्धविरामको तुलनामा केही पनि होइन ।
ट्रम्पले यसलाई ‘भयानक युद्ध’ भन्दै यसलाई रोक्न सक्ने बताएका थिए । उनले गरेको यो वाचा अझै पनि गुन्जिरहेको छ ।
अन्तर्राष्ट्रिय अदालतले (आईसीसी)ले यसअघि नै पुटीनलाई युद्ध अपराधमा दोषी ठहर गरेको छ । यसका बाबजुद पनि अहिले पुटिन फेरी अन्तर्राष्ट्रिय राजनीतिको अग्रपंक्तिमा फर्किएका छन् ।
रुसी सरकारी सञ्चारमाध्यमले दुई राष्ट्रपतिले दुई घण्टाभन्दा बढी समय फोनमा कुराकानी गरेको जनाएको छ । क्रेमलिनले यस टेलिफोन वार्ताका बारेमा ५०० शब्दको वक्तव्य जारी गरेको छ । वक्तव्यमा ट्रम्प र पुटीनबीचको कुराकानीका केही विषय उल्लेख गरिएको छ ।
वक्तव्यको एक ठाउँमा लेखिएको – दुवै नेताहरूले आइस हक्कीको बारेमा पनि छलफल गरे । यो रुसी नागरिकहरूको चासोको विषय हो ।
तीन वर्षदेखि पश्चिमी राष्ट्रहरुबाट एक्लिएको र त्यसअघिको लामो समयको तीतो सम्बन्धपछि रूसले अहिले अमेरिकासँग सिधै कुरा गरिरहेको छ । पक्कै पनि क्रेमलिनले यो परिवर्तनलाई बुझ्ने प्रयास गरिरहेको छ । टेलिफोन वार्तामा दुवैले मध्य पूर्वमा शान्ति र विश्वव्यापी सुरक्षाको मुद्दा पनि उठाएका थिए ।
फोन वार्ता केही मानिसहरूले डोनाल्ड ट्रम्पले रुसमाथि कति दबाब दिन सक्छन् भनेर अनुमान गरिरहेका थिए । तर एक सातादेखि नै यो स्पष्ट हुँदै थियो कि पुटिनले युद्धविराममा अवरोध सिर्जना गर्न लागिरहेका छन् । केही साताअघि युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीसँग ओभल अफिसमा जस्तो चर्काचकी परेको थियो पुटिनसँगको वार्तामा त्यस्तो केही भएको संकेत भेटिएको छैन ।
दुवै देशका भनाइहरूले अवस्थामा केही पनि परिवर्तन नभएको देखाउँछ । ट्रम्पले शान्ति चाहेको दोहोर्याए । तर ड्रोन र बमबारी रोक्नुको सट्टा उनले सम्भावित युद्धविरामको निगरानी कसरी गर्ने भन्ने बारेमा बहस गरिरहेका थिए ।
यसबाहेक, रुसले यस्ता सर्तहरू अघि सारेको छ जसले युक्रेनको प्रतिरोध गर्ने क्षमतालाई अझ कमजोर बनाउनेछ । एउटा माग यो छ कि युक्रेनले आफ्ना सहयोगीहरूबाट प्राप्त गर्दै आएको हतियार र गुप्तचर सूचना बन्द गरिनुपर्छ ।
युक्रेनका जनताका लागि राहतको कुरा के छ भने अमेरिकाले अहिले त्यस्तो कुनै पनि शर्त स्वीकार गरिरहेको छैन । युक्रेनले भने वार्ताको क्रममा पुटिनको मनोवृत्तिलाई शान्ति स्थापना गर्न उनको अनिच्छुकताको संकेतको रूपमा प्रस्तुत गर्न सक्छ ।
तर यी सबै कुराहरूले उसको पीडा कम गर्दैनन् । यो अमेरिकी कूटनीतिको लागि पनि निराशाजनक छ । रूसको लागि भने मंगलबारको दिन राम्रो रहयो, जुन दिनको कल्पना ट्रम्पको कार्यकाल अघि गर्न सम्भव थिएन ।
(बीबीसीबाट भावानुवाद)