site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘शैक्षिक परामर्श केन्द्र’को आवरणमा मानव तस्करी बढ्दै, ठगिँदै नेपाली 

काठमाडौं । शैक्षिक परामर्श केन्द्रको आवरणमा पछिल्लो समय मानव तस्करीका घटना बढेका छन् । तिनको प्रलोभनमा पर्दा सयौं नेपालीहरू ठगिने गरेका छन् । 

“मैले विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेको सात महिना भयो । यो अवधिमा स्वीकृति नलिई अवैध तरिकाले नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा ६ वटा परामर्श केन्द्रमाथि कारबाही भएको छ,” वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले बाह्रखरीसँग भने । 

शैक्षिक परामर्श केन्द्रको नाममा कसरी ठगी–धन्दा भइरहेको छ भन्ने पछिल्लो उदाहरण हो, चितवनको भरतपुर महानगरपालिका–१० स्थित बेस्ट ब्रेन्स एजुकेशन एन्ड भिजा सर्भिसेस ।

बेस्ट ब्रेन्स एजुकेशन एन्ड भिजा सर्भिसेसले वर्किङ भिसामा सयौं नेपाली युवा युवतीलाई बेलायत लगी दिने भन्दै करोडौं रुपैयाँ ठगी गरेको तथ्य अहिले बाहिर आएको छ । 

ठगिनेहरू आफ्नौ पैसा फिर्ता गराइदिन र दोषीमाथि कारबाही होस् भन्दै वैदेशिक रोजगार विभाग र प्रहरी कार्यालय धाइरहेका छन् ।

“बेस्ट ब्रेन्स एजुकेशन एण्ड भिजा सर्भिसेसकी जानुका ढुंगानाले वर्किङ भिसामा बेलायत लगिदिने भन्दै मसँग ४३ लाख ६० हजार रुैपैयाँ लिएकी छन् । थाहा भयो हामी त ठगिएका रहेछौं,” चितवनको भरतपुर महानगरपालिका–१६ की शर्मिला सुनारले भनिन् ।

जुन शैक्षिक परामर्श केन्द्रहरूविरुद्ध उजुरी परेका छन्, तिनीहरूमा छापा मारी कारबाही गरिएको विभागका महानिर्देशक खत्री बताउँछन् । 

तर, यस्ता परामर्श केन्द्रहरू शिक्षा मन्त्रालयअन्तर्गत पर्ने हुँदा कारबाही गर्न अप्ठेरो हुने गरेको उनी सुनाउँछन् ।

“शैक्षिक परामर्श केन्द्रको संख्या यति धेरै छ, हामी अनुगमन गर्न सक्दैनौं । उजुरी परेकामाथि मात्र हामीले अनुगमन गर्ने गरेका छौं । यो काम शिक्षा मन्त्रालयको हो,” महानिर्देशक खत्रीले भने, “शैक्षिक परामर्श केन्द्रले अवैध तरिकाले यस्ता कार्य गर्दा धेरै ठगिएका छन् । कारबाही गर्न हामीलाई पनि अप्ठेरो हुने गरेको छ ।” 

सबै शैक्षिक परामर्श केन्द्रहरू यस्तो कार्यक्रमा संलग्न छैनन् । केहीले मात्र यस्तो ठगीधन्दा चलाउँदै आएका छन्, जसका कारण राम्रोसँग शैक्षिक परामर्शको काम गर्दै आएका केन्द्रहरू पनि अप्ठेरोमा पर्ने गरेका छन् । 

वैदेशिक रोजगारीमा पठाइदिने बहानामा शैक्षिक परामर्श केन्द्रले आफूहरूलाई ठगेको भन्दै उजुरी लिएर विभाग आउनेको संख्या प्रत्येक वर्ष बढ्दो छ । 

“उजुरी आएको आधारमा केही शैक्षिक परामर्श केन्द्रमा छापा मारेका छौं,” महानिर्देशक खत्रीले भने ।

वैदेशिक रोजगारीको प्रलोभन देखाई शैक्षिक परामर्श केन्द्रबाट ठगिएभन्दै आउनेको संख्या बढेपछि विभागले गत फागुन १२ गेत एक विज्ञप्ति जारी गर्दै सावधान र सतर्क रहन अनुरोध गरेको थियो ।

विज्ञप्तिमा विभागले भनेको थियो, “शैक्षिक परामर्श केन्द्रहरू सम्बन्धित सरोकारवाला नागरिकलाई कानुनबमोजिम शैक्षिक पर्यटकीयलगायतका परामर्श एवं मार्गदर्शन प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएका संस्थाहरू भए तापनि विभिन्न नाममा दर्ता भई स्थापना भएका केही शैक्षिक परामर्श केन्द्रहरू तथा भ्रमण सहजीकरणका लागि दर्ता भई सञ्चालित केही ट्राभल्स एण्ड टुर्सलगायतका एजेन्सीहरूले वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न सामाजिक संजालहरूमा विज्ञापन गर्ने, राहदानी संकलन गर्ने, वैदेशिक रोजगारीमा पठाउने भनी रकम उठाउनेलगायतका कार्यहरू गर्ने गरेको भन्ने विषयमा व्यापक जनगुनासो आएको हुँदा वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० बमोजिम यस विभागबाट अनुमति नलिई वैदेशिक रोजगारसँग सम्बन्धित कुनै पनि काम नगर्नु नगराउनु हुन सम्बद्ध सबै सरोकारवालाहरूमा जानकारीका लागि अनुरोध छ ।” 

यस्तो विज्ञप्ति विभागले प्रत्येक वर्ष नै निकाल्दै आएको छ । तर शैक्षिक परामर्श केन्द्रले वैदेशिक रोजगारीको प्रलोभन देखाई युवा युवतीलाई ठग्न छाडेका छैनन् । “सबैभन्दा आचश्र्यलाग्दो त के छ भने यसरी ठगिनेमा पढे लेखेका व्यक्तिहरू नै छन्,” महानिर्देशक खत्रीले भने ।

यस्तो ठगीको रकम निकै ठूलो हुने गरेको छ । बेस्ट ब्रेन्स एजुकेशन एण्ड भिजा सर्भिसेस नामक संस्थाबाट ठगिनेहरूले बेलायत प्रहरीमा दिएको उजुरीमा चितवनका १९६ र पोखराका ३९० गरी ५८६ जना ठगिएको उल्लेख छ । उजुरीमा उक्त शैक्षिक परामर्श केन्द्रले ६० करोड रुपैयाँभन्दा बढी ठगी गरेको जनाइएको छ । 

पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका नाममा ठगी धन्दा मौलाउँदै गएको तथ्याङ्कले देखाउँछ । यसरी ठगी गर्नेमा केही व्यक्ति, केही म्यानपावर एजेन्सी र केही शैक्षिक परामर्श केन्द्रहरू सक्रिय रहेको देखिन्छ । 

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अर्थात् २०८१ साउनदेखि पुस मसान्तसम्मको अवधिमा मात्र ठगीका ५ हजार ११६ वटा उजुरी वैदेशिक रोजगार विभागमा परेका छन् । 

अर्थात् औसतमा दैनिक वैदेशिक रोजगारीमा ठगीसम्बन्धी २८ वटाभन्दा बढी उजुरी विभागमा पर्ने गरेका छन् । औसतमा दैनिक २८ जना व्यत्ति ठगिने गरेका छन् । 

उक्त अवधिमा वैदेशिक रोजगारीमा जान ३ लाख ९३ हजार ६७ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए । यो तथ्याङ्कले वैदेशिक रोजगारीमा जान प्रक्रिया सुरु गर्नेमध्ये १.३० प्रतिशतभन्दा बढी विभिन्न व्यक्ति तथा संस्थाबाट ठगिने गरेको देखाउँछ । 

गत आर्थिक वर्ष २०८०/८१ मा विभागमा वैदेशिक रोजगार ठगीसम्बन्धी ७ हजार ७६३ वटा उजुरी दर्ता भएका थिए । यी उजुरीमध्ये ३ हजार ८३६ वटा उजुरी फछ्र्याट गरिएको थियो । ती उजुरी पछ्र्यौट गर्दा ३० करोड ९३ लाख ८९ हजार ५१२ रुपैयाँ क्षतिपूर्ति भराइएको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro