site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्कीको स्ववियु निर्वाचन : पीएनमा मतदानको तयारी, डब्लूआरसीमा लफडा

पोखरा । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदानको तयारी भइरहेको छ । मंगलबार बिहान ८ बजेदेखि नै मतदान सुरु गर्ने भनिए पनि मतपत्रमा देखिएको त्रुटिका कारण अहिलेसम्म मतदान सुरु भएको छैन ।

अखिल छैटौँका उमेदवारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोस्टक छुटेपछि मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।

अखिल (छैटौँ)का क्याम्पस अध्यक्ष सोमनाथ अधिकारीले विज्ञप्ति जारी गरेर सबै संगठनको सर्वदलीय बैठकको माग गरेका छन् । बैठकबिनै निर्वाचन अगाडि बढाए सम्भावित दुर्घटनाको जिम्मेवारी निर्वाचन आयोग नै हुने उनको चेतावनी छ ।

निर्वाचन समितिले भने कोस्टक छुटेको विषयमा माफी मागिसकेको छ । निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले विज्ञप्तिमार्फत मतपत्र छपाइको क्रममा रहेको जनाएका छन । सर्वपक्षीय बैठकको निर्णयानुसार नयाँ मतपत्र आइसकेपछि मतदान सुरु हुनेछ ।

राष्ट्रियस्तरका नेता उत्पादन गरेको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा धेरैको चासो छ । यसअघि, ०६५ सालमा नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट रश्मि आचार्य स्ववियु सभापति चुनिएका थिए । त्यसयता पृथ्वी नारायण क्याम्पसमा चुनाव हुन सकेको छैन ।

अहिलेको निर्वाचनमा आठ जनाको उमेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लपी न्यौपाने दुईजना स्वतन्त्ररूपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको विद्यार्थी संगठनका उमेदवार हुन् ।

एमालेको अनेरास्ववियुबाट विष्णु पौडेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्‌बाट दिप्सन गुरुङ र अखिल छैटौँबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।

समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेकाबाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उमेदवार पनि चुनावी मैदानमा छन् ।

क्याम्पसमा ९ हजार २७० मतदाता छन् ।

पीएनमा मतदानको तयारी भइरहँदा पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा समेत चुनावी प्रक्रिया सहजरूपमा अगाडि बढेको छैन । क्याम्पसको होस्टेलमा रहेका विद्यार्थीले मतदान गरे पनि बाहिरका विद्यार्थीलाई गेटबाट पस्न रोक लगाइएको छ । अन्तिम नामावलीमा नाम काटिएको भन्दै नेविसंघ नेताहरूले क्याम्पस गेटमै अनशन थालेका कारण विद्यार्थीहरू गेटभित्र पस्न पाएका छैनन् ।

यहाँ विद्यार्थीबीच तनावपूर्ण अवस्था छ । एक विद्यार्थी नेताका अनुसार, अन्य विद्यार्थी संगठनले अनशनमा हस्तक्षेप गर्न खोजेका छन् । जसले त्यहाँ तनावपूर्ण स्थिति सिर्जना हुन सक्ने ती नेता बताउँछन् ।

नेविसंघ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस (डब्लूआरसी) को मूल गेटमा नेविसंघ नेता कृष्ण्जंग कार्की र राजिव अधिकारीले सोमबार बेलुकीबाट अनशन थालेका हुन् ।

नेपाल विद्यार्थी संघको तर्फबाट सचिवको उमेदवार रहेका प्रशान्त अधिकारीको नाम निर्वाचन समितिले प्रकाशित नगरेपछि नेविसंघ विरोधमा उत्रिएको हो । निर्वाचन समितिले षड्यन्त्रपूर्वक सचिवको नाम अन्तिम नामावलीमा प्रकाशन नगरेपछि सो नाम कायम गर्न माग गर्दै नेविसंघका १३ केन्द्रीय सदस्यले सामूहिक विज्ञप्ति जारी गर्दै शुक्रबार क्याम्पसका तालाबन्दी गरेका थिए । तर, सोमबार बेलुकीसम्म पनि माग पूरा नगरेको भन्दै क्याम्पसको मूल गेटमै अनशन थालिएको अनशनरत कार्कीले बताए । दर्ता गरेको नाम कायम नभएसम्म स्ववियु निर्वाचन हुन नसक्ने उनीहरूको अडान छ ।

उनीहरूले कांग्रेसको कास्की नेतृत्वलाई पनि आलोचना गरेका छन् । नेविसंघको सचिवको मनोनयन नै नभएको विषयमा पनि कास्की कांग्रेसले प्रशासनसँग मिलेर निर्वाचन अगाडि बढाउन खोजेको आरोप उनीहरूले लगाएका छन् ।

यता पोखराकै नर्सिङ कलेज र वनविज्ञान अध्ययन संस्थानमा भने मतदान भइरहेको छ । विवादका कारण संस्कृत विद्यापीठ र जनप्रिय बहुमुखी क्याम्पसको भने निर्वाचन नै स्थगित भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro