
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३, बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार (चैत ३) रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११ः०० बजेदेखि लागेको डढेलो नियन्त्रणका निम्ति सोमबार बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ ।
डढेलो लागेको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा तथा थलीडाँडा र हर्कभन्ञ्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक–३ का वडाध्यक्ष कुवेर ढकालले बताए । उनका अनुसार, डढेलो देब्रेतर्फ फैलिए मानव बस्ती जोखिममा पर्न सक्छ ।
प्रहरी, स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी र स्थानीयवासीद्वारा डढेलो नियन्त्रणको प्रयास भइरहेको उनले बताए । उनका अनुसार, डढेलोबाट हालसम्म कुनै मानवीय एवं पशु क्षति भएको छैन ।
यसअघि, गएको माघ पहिलो साता काभ्रेकै खानीखोला गाउँपालिका–१, थामलेखडाँडास्थित महाभारत जंगलमा लागेको डढेलो चार दिनपछि हेलिकोप्टरमार्फत नियन्त्रणमा लिइएको थियो । खानीखोलाको थामलेखडाँडाबाट सुरु भएको डढेलो बेथानचोक–५, ३, १ र २ को सीमा क्षेत्रमा समेत आइपुगेपछि हेलिकोप्टर मगाइएको थियो । रासस