
वि.सं. २०७२ सालमा संविधान जारीपछि विरोधमा भएको मधेस आन्दोलनको सेटअपमा चलचित्र ‘राजागंज’को कथा भनिएको छ ।
मधेस आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद्का छोरो र विद्यालयकी प्रधानाध्यापकका छोरोलाई मुक्त गराउन प्रहरीले चालेको ‘सर्च अपरेसन’ नै ‘राजागंज’को मुख्य कथानक हो ।
मधेसमा आन्दोलन चलिरहेको छ । आन्दोलनबीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति, उनीहरूले भोगेको समस्या र प्राप्त उपलब्धिको सेरोफेरोमा १०८ मिनेट लामो चलचित्र घुम्छ ।
सभासद्को छोरो नै अपहरणमा परेपछि अपहरणको उक्त घटना राष्ट्रिय मुद्दा बन्न पुग्छ । त्यसैले घटनाको अनुसन्धानका लागि काठमाडौंबाट काबिल प्रहरी अफिसर पूजा (आशा मगराती) जनकपुर पुग्छिन् ।
जिल्लामा प्रहरीको नेतृत्व गरिरहेका हुन्छन्, एसपी मदन (दयाहाङ राई) । दयाहाङ र आशा प्रहरीका एउटै व्याची हुन् । तर, दया प्रमोसन भएर एसपी भइसक्दा आशा प्रहरी निरीक्षकमै सीमित छिन् ।
काबिल प्रहरी अफिसर उनले कसरी उक्त अपहरणको घटनाको अनुसन्धान गर्छिन्, यसले चलचित्रलाई रोचक बनाएको छ । दुई तहमाथिका हाकिमसँग उनले कसरी पंगा लिन्छिन्, हाकिमको निर्देशनलाई कसरी उनले बेवास्ता गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाउँछिन्, यही नै चलचित्रको हेर्नलायक पक्ष हो । सुरक्षा निकायमा चेनअफ कमान्डभित्र बस्नैपर्छ । तर, त्यसलाई आशाले कसरी ‘ग्रे जोन’मा बसेर लत्याउँछिन् – ‘राजागंज’मा देखाइएको छ । चलचित्रको मुख्य द्वन्द्वमध्येको एक यो पनि एक हो ।
निर्देशक दीपक रौनियारले अपहरणमा परेका बालक छुटाउने कथा देखाउने बहाना बनाएर खासमा मधेसको समाज देखाएका छन् । समग्रमा मधेस कस्तो छ भन्ने यथार्थलाई दृश्यभाषामार्फत चित्रण गरेका छन् ।
मधेसका सोझासिधा जनता कसरी त्यहीँका हुनेखाने र बाहिरबाट गएका प्रहरी र प्रशासकबाट ठगिरहेका छन्, शिक्षा, राजनीति, व्यवस्थाका नाममा र लिंगका आधारमा कसरी मधेस र मधेसी समुदाय ठगिरहेको छ भन्ने यथार्थलाई चलचित्रमार्फत निर्देशकले चलाखीपूर्वक देखाएका छन् ।
भ्रष्ट उच्च प्रशासकहरू कसरी राजनीतिज्ञ र जमिनदारहरूसँग मिलेर प्रहरी अफिसरहरूलाई हतोत्साही बनाउँछन्, उच्च प्रहरी अधिकारीको घर कसरी चल्छ र कालो छाला भएकै कारण प्रहरी अफिसर भइसकेका महिला अफिसरहरू कसरी बिनाकारण कारबाही भोग्न बाध्य पारिन्छन् – ‘राजागंज’मा देखाइएको छ ।
यो सिनेमाको सबैभन्दा सबल पक्ष नै समकालीन मधेस देखाउनु हो । ‘राजागंज’ मधेसको ऐना हो । मधेसको शिक्षा, भाषा, विभेदसँगै चलचित्रमा सुटुक्क समलिंगी सम्बन्ध पनि देखाइएको छ ।
प्रहरी अनुसन्धानमा कसैसँग नझुक्ने र विद्रोह गर्ने आँट गर्ने आशा आफ्नो समलिंगी सम्बन्ध भने खुलाउन सक्दिनन् । यो समाजको कठोरताको उपज हो भन्ने निर्देशकले प्रस्ट पारेका छन् ।
जसरी १०८ मिनेटमा सिनेमाले समग्र मधेस र मधेसीको मुहार देखाइदिन्छ, त्यति नै सबल प्रहरी अपरेसनमा भने छैन । राष्ट्रिय मुद्दा बनिसक्यो भनेर भनिए पनि त्यो दृश्यमा ‘कन्भिन्सिङ’ छैन ।
चलचित्रमा सस्पेन्स छैन । ट्विस्ट छैन । आउने सिन र घटनाबारे सुरुमै सहजै अनुमान लगाउन सकिन्छ । पर्याप्त सस्पेन्स सिर्जना गर्न नसक्नु चलचित्रको कमजोर पक्ष हो । आशाले गरेको विद्रोहलाई अझै सशक्त देखाउन लेखक/निर्देशकले नठान्दा केही खल्लो लाग्छ ।
सञ्चारमाध्यममा आउने कतिपय अपहरण र अपराधका समाचार समेत फिल्मी हुने गरेका छन् । निर्देशक र लेखकले सिनेम्याटिक लिबर्टी लिन सक्ने थिए । तर, त्यसो गरेको देखिँदैन ।
अभिनयका हिसाबले चरित्रलाई कलाकारले न्याय गरेका छन् । चलचित्रको मुख्य भूमिकामा यसअघि धेरै नदेखिएकाले आशा ‘फ्रेस’ देखिन्छिन् ।
निकिता चाण्डक अभिनयका हिसाबले यो चलचित्रमा सबैभन्दा अगाडि छिन् । उनको लोभलाग्दो अभिनयले मन जित्छ ।
कथा, परिवेश, संघर्ष र कलर सुहाउँदो सिनेमेटोग्राफी छ । आन्दोलन, अपहरण, छलकपट, दमनको कथा भएकाले त्यसलाई प्रतिनिधित्व गर्ने सिनेमेटोग्राफी छ ।
सबैभन्दा सुन्दर पक्ष यो चलचित्रको कलर हो । मधेसी भूमिको कथा छ । दुःखको कथा छ । त्यसैले निर्देशकले चलचित्रलाई डार्क कलर दिएका छन् । अधिकांश नेपाली चलचित्रको कथाअनुसार कलर हुँदैन । यो समस्याबाट ‘राजागंज’लाई निर्देशकले बचाएका छन् ।
ब्याकग्राउन्ड स्कोर मध्यम छ । विश्वका ठूला फिल्म फेस्टिभलको फन्को मारेर घर आइपुगेको, भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको चलचित्रमा ब्याकग्राउन्डक स्कोर पनि त्यही किसिमको होला भन्ने अपेक्षा गर्नेहरू सन्तुष्ट हुने ठाउँ छैन ।
साउन्डमा भने निर्देशकले ध्यान दिएका छन् । साउन्डमा ‘राजागंज’मा खोट लगाउनु पर्दैन ।
भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता विश्वका ठूला चलचित्र महोत्सवमा स्क्रिनिङ भइसकेको र गत कात्तिकमा एकै महिना पाँच फेस्टिभलमा स्क्रिनिङ भएको, भेनिसमा १० मिनेट स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको र अनुराग कश्यप कार्यकारी निर्देशक रहेको चलचित्र भनेर ठूलो अपेक्षा राखेर जानेहरूका निम्ति भने ‘राजागंज’ले निराश बनाउँछ ।
बर्लिन, टोरन्टो, सिंगापुर, फ्रीवर्ग, पाम स्प्रिङ, गोल्डेन हर्सजस्ता ठूला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफ्ना चलचलचित्र पुर्याइसकेका निर्देशकको सिनेमा भनेर ठूलो अपेक्षा राखेमा त्यो पूरा हुँदैन ।
० ० ०
निर्देशक : दीपक रौनियार
लेखक : दीपक रौनियार, डेविड वार्कर र आशा मगराती
निर्माता : आशा मगराती, रामबाबु गुरुङ र एलन आर मिलिगन
कार्यकारी निर्माता : अनुराग कश्यप
कलाकार : आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चाण्डक आदि ।
जानरा : ड्रामा
भाषा : नेपाली
रनटाइम : १०८ मिनेट ।