site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा आज पेसी 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा साढे पाँच महिनापछि पेसी चढेको छ ।

फैसला मिति तोकेर तीन पटकसम्म पेसी सरेको उक्त मुद्दा गत असोज ९ गते अन्य आदेश गरेर रोकिएको थियो । बिदा हुन लागेका तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले फैसला मिति तोकिएको मुद्दामा अन्य आदेश गरेपछि मुद्दा एकैपटक बुधबार पेसीमा चढेको हो ।
 
विसं. २०८१ वैशाख १२ गते संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको मुद्दा जेठ २३ गतेको सुनुवाइपछि फैसला सुनाउने मिति तय गरेको थियो । त्यसका लागि दुई महिनापछि (साउन २३ गते)को मिति तोकिएको थियो । तीनपटक निसु सरेपछि असोज ९ गते अन्य आदेश गरेपछि मुद्दा पेसी नै चढेको थिएन । 

सर्वोच्चले यस मुद्दामा ०६९ मंसिर ११ को अन्तरिम आदेशमा टेकेर ०७२ वैशाख ८ गते भएको आदेश कार्यान्वयनको विवरण मागेको छ । ०७५ साल फागुन ३ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सापकोटाविरुद्धको मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो ।
 
के हो सापकोटाविरुद्धको मुद्दा ?
काभ्रेकी पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामालाई सापकोटासहितले २०६२ वैशाखमा अपहरण गरी असारमा हत्या गरेको दाबीसहित प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, प्रहरीले जाहेरी नलिएपछि सर्वोच्च अदालतले २०६४ सालमा उक्त निवेदन दर्ता गरी सापकोटाविरुद्ध हत्या अभियोगमा अनुसन्धान–अभियोजन गर्न परमादेश जारी गरेको थियो ।

त्यही परमादेशका आधारमा २०६५ साउन २७ गते सापकोटाविरुद्ध ज्यान मुद्दाको अभियोग लगाई काभ्रे प्रहरीमा जाहेरी दर्ता भएको थियो ।

जाहेरी दरखास्तपछि काभ्रे प्रहरीले प्रहरी सञ्चारमार्फत अन्य प्रहरी कार्यालयसँग सूचना आदानप्रदान भएको र उनी फेला नपरेको प्रहरीले अदालतमा पेस गरेको मिसिलमा उल्लेख छ । अर्थात्, सापकोटालाई प्रहरीले ‘फरार सूची’मा राखेको थियो । ‘फरार सूची’मा रहँदारहँदै उनी सांसद, मन्त्री हुँद सभामुखसमेत बने ।

सर्वोच्चले सापकोटाको उजुरीमा भइरहेको अनुसन्धान प्रतिवेदन हरेक महिना सर्वोच्च अदालतमा पेस गर्नू भन्ने आदेशको पालना भएन । २०६८ असार ७ गतेको सर्वोच्चको आदेशले सापकोटाको न्यायालयप्रतिको सम्मान नै नरहेको न्यायिक टिप्पणी गरेको छ ।

“निज प्रत्यर्थी अग्नि सापकोटालगायत ६ जना प्रतिवादीलाई ज्यान मुद्दाको सिलसिलामा प्रहरीबाट खोजतलास भइरहेको देखिन्छ । यी प्रत्यर्थी अग्नि सापकोटालाई आफूउपर यस्तो अभियोग लगाई जाहेरी परेको र प्रहरीद्वारा आफ्नो खोजी भइरहेको छ भन्ने तथ्यको पूरा जानकारी रहेको भन्ने निजले सञ्चारमाध्यमबाट दिएको वक्तव्य र अन्तर्वार्ताको उक्त ज्यान मुद्दाको मिसिलमा संलग्न कागजातबाट देखिन आउँछ,” तत्कालीन न्यायाधीश रामकुमारप्रसाद शाह र प्रकाश वस्तीको संयुक्त इजलासको आदेशमा भनिएको छ, “यस्तो अवस्थामा निज स्वयं पनि प्रहरीसमक्ष उपस्थित भई अनुसन्धान कार्यलाई सहज तुल्याउन नसकिने होइन ।”

उक्त आदेशमा प्रहरीले खोजी गरिरहेको भन्ने तथ्य थाहा भएका सापकोटा अदालतको आदेशमा आफ्नो विवेकबाट निर्देशित भई नैतिकता प्रदर्शन गर्नुपर्ने उल्लेख छ ।

सापकोटा प्रहरी र अदालतको सम्पर्कमा नगएपछि पूर्णीमायाले ०६९ मंसिर ७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनको रिट भोलिपल्टै पेसी चढे पनि फैसला भने हुन सकेको थिएन ।

तत्कालीन न्यायाधीश वैद्यनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेको मुद्दा ०७२ चैत २२ मा तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।

०७५ फागुन ३ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर नेतृत्वको संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको उक्त मुद्दा लामो समयसम्म ‘हेर्न नभ्याइने’मा पर्दै आएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro