
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौँ समूहका निम्ति आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको हो । इच्छुक उद्यमीले आउँदो चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुन्छ । यसमा १८ दिनको निःशुल्क आवासीय तालिम र एक वर्षको परामर्श कार्यक्रम समावेश छ ।
यसमार्फत हालसम्म तीन समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन् । बैंकले ४५ सामाजिक उद्यममार्फत एक हजार १८४ जनालाई रोजगारी दिइसकेको छ ।
कार्यक्रमअन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन् । पाँचौँ समूहमा पनि २० जना छनोट हुने नबिल बैंकले जनाएको छ ।
कार्यक्रममा सहभागिताका निम्ति १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । व्यवसाय सुरु गरिसकेका र नवीन उद्यमशीलता सोच भएका व्यक्ति यसमा सहभागी हुन सक्नेछन् । नबिल स्कुल अफ सोसल इन्टप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सकिन्छ । साथै, नबिल बैंकको वेबसाइटबाट फाराम डाउनलोड गरी इमेलमार्फत पठाउनसकिन्छ ।
नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न कार्य गर्दै आएको छ ।