site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

कानुनसँग विवादमा परेका बालबालिकालाई वयस्क कैदी बन्दीसँग राख्दा अपराधको दलदलमा भासिने जोखिम भएकाले भएपछि बालसुधार गृहमा राख्न थालिएको हो । बाल अधिकार महासन्धि कार्यान्वयन गर्ने क्रममा नेपालमा विसं २०५७ सालमा पहिलो बाल सुधारगृह खोलिएको थियो । 

समयसँगै कानुनसँग विवादमा परेका बालबालिकाको सङ्ख्या बढ्यो भने बालसुधार गृहमा राखिएकाहरूलाई १८ वर्षपछि पनि सजाय भुक्तान नहुँदासम्म अन्यत्र पठाइएन । फलस्वरूप,  बालबालिकालाई सुध्रने र सही वातावरणमा हुर्कने अवसर उपलब्ध गराउने मूल उद्देश्यमा राज्य विफल भएको छ । 

नेपालका बाल सुधारगृहहरूमा पछिल्ला वर्षहरूमा बालबालिकाबीच र सुरक्षाकर्मीसँग पनि पटकपटक झडप हुनेगरेको छ । पछिल्लोपटक शुक्रवार विराटनगरस्थित बाल सुधारगृहमा झडप भएको समाचार छ । झडपलगत्तै सरकारले चासो देखाए पनि दीर्घकालीन समाधानका लागि भने खासै केही गरेको देखिँदैन ।  

देशका अधिकांश कारागारहरूजस्तै ८ वटै बालसुधार गृहहरूको अवस्था दयनीय छ ।  तिनमा क्षमताभन्दा बढी बालबालिका राखिएका छन् भने कतिपय न्यूनतम मानवीय सुविधा पनि छैनन् । त्यसमाथि वयस्क भइसकेपछि पनि बालबालिकासँग राखिएकाले पनि तनाव बढ्नु अस्वाभाविक होइन । 

झडप भएको विराटनगरको सुधारगृहमा ५० जना राख्ने क्षमता भए पनि अहिले करिब ५ गुणा बढीलाई राखिएको छ । तिनमा पनि आधा त १८ वर्ष नाघेका अर्थात् वयस्क छन् । शुक्रवारको झडपमा संलग्नहरू २२ वर्षका रहेको बताइएको छ । 

विराटनगरलगायत ४ वटा बाल सुधारगृह न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम ९युसेप०ले सञ्चालन गरेको छ भने बाँकी ४ वटा सरकारले आफैँ चलाएको छ । युसेपले नै देशको पहिलो बाल सुधारगृह विसं २०५८ मा भक्तपुरमा सञ्चालन गरेको हो ।

कानुनसँग विवादमा परेका बालबालिकालाई वयस्क बन्दीसँग कारागारमा नराख्नु भन्ने सर्वोच्च अदालतको आदेश पालना नभएपछि तत्कालीन गृह सचिव र धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मानहानिमा सजाय गरेको थियो । अनिमात्र बाल सुधारगृह सञ्चालनका लागि सरकारले युसेपको सहयोग लिएको थियो ।

बाल न्यायका क्षेत्रमा देशमा केन्द्रीय बाल न्याय समिति, राष्ट्रिय बाल अधिकार परिषद्लगायतका समिति र संस्था कार्यरत छन् । तर, तिनको ध्यान भने कागजी ‘सुधार’मा बढी केन्द्रित देखिएको छ । सुधारगृहमा राखिएका बालबालिकाको सर्वाङ्गीण विकासका लागि गर्नुपर्ने कार्यहरू भने सरकारी समिति र पदाधिकारीको प्राथमिकतामा परेको पाइँदैन ।

सम्भवतः सुरुको जस्तै कुनै दण्डात्मक विधि नअपनाउन्जेल अहिलेका पदाधिकारीले पनि बाल सुधारगृहको अवस्था सुधार गर्न ध्यान दिनेछैनन् । यसैले, तत्कालै बालबालिका र उमेर पुगेकाहरूलाई बेग्लै गृहमा राख्ने र शिक्षा र स्वास्थ्य सेवाको न्यूनतम व्यवस्थाका लागि रकम विनियोजन गर्न लगाएर सर्वोच्च अदालतको बाल न्याय समितिले आफ्नो औचित्य र अस्तित्व सिद्ध गर्नुपर्छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro