
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २०० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । बुधबार सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत आगामी आर्थिक वर्ष २०८२/०८३ मा १०० वटा झोलुंगे पुल मर्मत, ४० वटा नयाँ सडक पुल निर्माण र ३० वटा सडक पुल मर्मत गर्ने लक्ष्य लिइएको जनाएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार, आगामी आव २४९ वटा सिँचाइ आयोजना सम्पन्न भएर तीनहजार ७०० हेक्टर जमिन सिञ्चित हुनेछ । यस्तै, १०० किलोमिटर सडक निर्माण हुने र ३०० किलोमिटर सडक कालोपत्रे हुनेछ । सरकारले ६० वटा स्थानीय प्रशासकीय भवन निर्माण गर्नेछ ।
त्यस्तै, सरकारले उपत्यकाका नदी, खोला करिडोरमा १० किलोमिटर सडक स्तरोन्नति गर्ने, उपत्यकाका विभिन्न २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने लक्ष्य लिएको छ ।
यसैगरी, उपत्यकाका चार स्थान (जितपुर फेदी, डुकुछाप, इशान नयाँ सहर, ताथवी चलावुमा) जग्गा एकीकरणको भौतिक विकास योजना स्वीकृति भई जग्गा विकास कार्य सुरु गर्ने, सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने कार्यलाई प्राथमिकता दिने लक्ष्य लिइएको छ । उपत्यकाको व्यवस्थित सहरीकरणका लागि हरियाली प्रवर्द्धन, सचेतना, आकासे पानी संकलन, वन तथा पोखरी संरक्षण गर्ने पनि सरकारको योजना छ ।
सरकारले कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियमको दोस्रो चरणको निर्माण कार्य सुरु गर्ने, सिंहदरबार परिसरको स्वीकृत गुरुयोजना कार्यान्वयनअन्तर्गत सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको भवन निर्माण सुरु गर्ने सरकारको योजना छ ।
सरकारले अतिविशिष्ट पदाधिकारीको आवास निर्माण कार्यअन्तर्गत सभामुख आवास निर्माण र प्रधानन्यायाधीश आवास निर्माण कार्य सुरु गर्ने जनाएको छ । त्यस्तै, भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्लथ तथा मनोरञ्जन पार्क निर्माण कार्य अघि बढाउने सरकारको लक्ष्य छ ।
सरकारले वागमती, विष्णुमती, मनोहरा र नख्खु खोलामा २०८१ सालको बाढीबाट क्षतिग्रस्त संरचना पुनः निर्माण कार्य अघि बढाउने, ऐतिहासिक मठमन्दिर र पाटी पौवाको पुनः निर्माण तथा जीर्णोद्धार, मर्मतसुधार गर्ने एवं उपत्यकाका नदी, खोलाको सफाइ कार्य अघि बढाउने लक्ष्य राखेको छ ।
न्युज एजेन्सी नेपालबाट ।