site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यसरी बनाइन्छ देशको बजेट

काठमाडौं । सरकार यतिबेला आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा व्यस्त छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नयाँ बजेट ल्याउन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालयगत छलफल थालिसकेका छन् । मन्त्रालयगत छलफलपछि अबका केही दिनमा संसद्‌मा प्रि–बजेट छलफल चल्नेछ ।

सामान्यतया बजेट भनेको आय र व्ययको लिखित दस्ताबेज हो । यसले आम्दानी र खर्च कति गर्ने भन्ने निर्क्योल गर्छ । बजेट आफैँमा एउटा चक्र पनि हो । लक्ष्य तथा उद्देश्य निर्धारण र पुराना सूचना विश्लेषण गरेर बजेटको तयारी थालिन्छ । बजेट निर्माणको काम मंसिरदेखि नै सुरु गरिन्छ ।

सरकारले बजेट निर्माण थाल्दा तल्लो तहबाट योजना तथा कार्यक्रम माग्छ । खासगरी जिल्लादेखि नै सरकारी संयन्त्रले योजना पठाउँछन् । ती योजना विभाग हुँदै मन्त्रालयमा प्राप्त भएपछि ‘प्रोजेक्ट बैंक’मा दर्ता गरिन्छ । प्रोजेक्ट बैंकमा दर्ता गरिएका योजनालाई प्राथमिकताका आधारमा बजेटमा समावेश गरिन्छ ।

बजेटमा समावेश आयोजना तथा कार्यक्रमलाई पी–१, पी–२, पी–३ मा वर्गीकरण गरिन्छ । र, प्राथमिकताका आधारमा बजेट विनियोजन गरिन्छ ।

अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीका अनुसार, यसले पहुँचका आधारमा सिधै बजेटमा साना तथा खुद्रे योजना एवं कार्यक्रम पार्ने पुरानो प्रवृत्तिलाई केही निरुत्साहित गरेको छ । पहिले सरकारले नयाँ बजेट ल्याउन थाल्दा आफ्ना खुद्रे योजना तथा कार्यक्रममा रकम पार्न उच्चपदस्थ व्यक्ति, सांसदको हानथाप बढी नै हुने गर्थ्यो । हाल त्यो केही निरुत्साहित भएको छ ।

जेठ १५ मा संघीयपछि प्रदेश सरकार र त्यसपश्चात् स्थानीय तहले बजेट ल्याउने गरेका छन् ।

बजेट निर्माण गर्दा जनताका मौलिक हकलाई पनि प्रथमिकतामा राख्नुपर्छ । संघीय गणतन्त्र नेपालको संविधानमा ३२ मौलिक हक तथा अधिकार उल्लेख छ । ती अधिकारलाई निश्चित गर्दै देश विकास, उद्योगधन्दा फस्टाउने, स्वदेशमा नै रोजगारी निर्माण गर्ने खालको बजेट आवश्यक ठानिन्छ ।

बजेट निर्माण गर्दा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सम्बन्धित मन्त्रालयहरूको सहभागिता रहने गर्छ । बजेट बनाउँदा आर्थिक कार्यविधि ऐन, आर्थिक नियमावली, स्थानीय तहको सवालमा आर्थिक कार्यविधिसम्बन्धी नियमावली समावेश रहन्छ ।

बजेट निर्माण गर्दा विभिन्न विधि, प्रक्रिया पूरा गर्नैपर्ने हुन्छ । अर्थ मन्त्रालयले बनाउने भन्दैमा मन्त्रीले सिधै संघीय संसद्‌मा पेस गर्ने होइन । बजेट निर्माणदेखि संसद्‌मा पेस गर्ने अवधिसम्म छुट्टै विधि र प्रक्रिया हुन्छ, त्यसानुसार अघि बढ्नुपर्ने हुन्छ ।

राष्ट्रिय योजना आयोगले सरकारलाई फागुन ७ गतेभित्र ‘सिलिङ’ दिन्छ । त्यही सिलिङमा रहेर बजेट निर्माणको तयारी थालिन्छ ।

आयोगले विभिन्न योजनाका विषयमा मन्त्रालयलाई जानकारी गराउने, कुन आयोजनालाई कसरी, कति स्थान दिने भन्ने योजना समेत पेस गर्छ । बजेट निर्माण गर्दा तर्जुमा फाराम संकलन, टेबुलेसन तथा अध्ययन, नीतिगत र कार्यक्रममाथि राष्ट्रिय योजना आयोगका अधिकारीहरूसँग छलफल, मन्त्रालयमा बजेटका निम्ति आय तथा खर्चका विषयमा छलफलसँगै आर्थिक सर्वेक्षणको तयारी गरिन्छ ।

यस्तै, बजेटका निम्ति वैदेशिक प्राविधिक सहायता, सुझाव संकलन पनि गरिन्छ । सरोकारवाला निकायले विभिन्न माध्यमबाट सुझाव दिने काम गर्छन् ।

बजेट ल्याउनुअघि सरकारले त्यसका प्राथमिकता र सिद्धान्त संसद्‌मा पेस गरिसकेको हुन्छ । हाल त्यही प्रक्रियाअनुसार संसद्को बजेट अधिवेशन चलिरहेको छ । र, यो अन्तिम चरणमा छ । संसद्‌मा सांसद्हरूले त्यसबारे दिने सुझाव अर्थमन्त्रीले नयाँ बजेटमा समेट्नुपर्ने हुन्छ ।

प्राथमिकता र सिद्धान्तमाथिको छलफल सकिएपछि सरकारले नयाँ आवका निम्ति ल्याउने नीति तथा कार्यक्रम संसद्‌मा पेस गर्नुपर्ने हुन्छ । त्यस्तो कार्यक्रम राष्ट्रपतिले संसद्‌मा प्रस्तुत गर्ने नेपालमा प्रचलन छ ।

त्यसपछि संसद्‌मा पूर्वबजेट प्रस्तुतिको तयारी गरिन्छ । र, मन्त्रालयको लक्ष्य तथा प्रगति विवरणको अन्तिम मस्यौदा तयार पारिन्छ । सँगै विभिन्न संस्थानको प्रगति विवरणको अन्तिम मस्यौदा तयार पारिन्छ ।

राजस्व परामर्श समितिको प्रतिवेदन अध्ययन गरिन्छ । वैदेशिक सहायता संलग्न आयोजनाको पनि अध्ययन गरिन्छ । अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण तयार पार्ने काम गर्छ । व्यय अनुमान र शीर्षकगत खर्च अनुमानको मस्यौदा पनि तयारी पारिन्छ । व्यय अनुमानको प्रारम्भिक मस्यौदा तयारी, त्रिवर्षीय खर्चको आकलन गरिन्छ ।

अर्थ मन्त्रालयले आर्थिक विधेयकको अनुसूचीको मस्यौदा तयार पार्छ । साथै, वैदेशिक सहायता संलग्न आयोजनाको स्रोत पुस्तिका, बजेट वक्तव्यको प्रारम्भिक मस्यौदा तयार पार्ने, संस्थानको प्रगति विवरण र आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने काम गरिन्छ ।

विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक, आर्थिक विधेयक र पेस्की खर्च विधेयक पनि यही समयमा तयार गरिन्छ । राजस्व अनुमान, कार्यक्रम तय गरेर अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिलाई बजेटका बारेमा जानकारी गराउँछ । अनि मात्र बजेटले अन्तिम रूप पाउन थाल्छ ।

बजेट बनाएपछि अर्थमन्त्रीले त्यसबारे राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्मा पनि ‘ब्रिफिङ’ गर्नुपर्छ । मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि राष्ट्रपतिलाई नयाँ बजेटबारे जानकारी गराइन्छ । र, संघीय संसद्‌मा जेठ १५ गते बजेट वक्तव्य प्रस्तुत गरिन्छ ।

उक्त बजेटमाथि संसद्‌मा छलफल गरिन्छ । बजेट संसद्बाट बहुमतले पारित गर्ने नेपालमा प्रचलन छ । बजेट पारित नभए त्यो कार्यान्वयनमा जान सक्दैन । बजेट पारित भएमा साउन १ गतेदेखि कार्यान्वयनमा आउँछ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro