
भन्छन् जीवन हो जमेर भवमा बाँच्ने यहाँ देख्दिनँ
भन्छन् यौवन यो रमेर वयमा हाँस्ने यहाँ देख्दिनँ ।
चिन्तामुक्त भई खुलेर जगमा नाच्ने यहाँ देख्दिनँ
बाँचुन्जेल सधैँ बसेर घरमा रम्ने यहाँ देख्दिनँ ।। १ ।।
जोजो जेजति छन् यही भुवनमा आशा निराशा जति
कुण्ठाग्रस्त विवेकशून्य मनुवा बाँच्ने धरामा कति ।
घोट्दै हाड चुही तरक्क पसिना बाँच्नेहरू छन् कति
तर्सी मृत्युसँगै हरेक पलमा ज्यूँदै मरेका कति ।। २ ।।
सक्दैनस् तँ कतै भनेर सहसा मार्नेहरू छन् यतै
तौली वैभव सान मान अरुको झार्नेहरू छन् यतै ।
दिन्छन् दुःख अभावका कहर ती खेप्नेहरू छन् यतै
ईष्र्या द्वेष सहेर क्लान्त मनले बाँच्नेहरू छन् यतै ।। ३ ।।
गाली हाकिमका सुनेर ननिका आत्मा मरेका कति
सासै मात्र रहेर आस नभई बाच्दै मरेका कति ।
तड्पेरै यसरी हरेक क्षणमा मान्छे यसै नाच्दछ
मारी आत्म यतै कतैे भुवनमा ज्यूँदो भई बाँच्दछ ।। ४ ।।
पाली उच्च मनोदशा हृदयमा त्यागी बनेका कति
रोजै मृत्यु सहेर शान्त मनले कालै कुरेका कति ।
बाच्ने आस कवै हटेन मनमा आत्मा मरे के भयो
मात्रै सास रहेर लास छ भने बाँचेर पो के भयो ? ।। ५ ।।
भावावेगसँगै जमेर जगमा आस्थासँगै खेल्दछ
हेपी खेल मजाकले जगतमा सक्ने जति पेल्दछ ।
दिन्छौँ साथ सधैँ भनेर नदिने मान्छेसँगै मर्दछ
खोक्रो धाक रबाफ बाड्न नसकी आदर्शमा मर्दछ ।। ६ ।।
जोईपोइ कुरा मिलेन घरमा आत्मा यसै मर्दछ
आफ्नैका नमिठा भए वचन ती आँखा यसै झर्दछ ।
जिद्दी सन्ततिका अटेर मनले संस्कारमा मर्दछ
चिन्ता पीरसँगै अभाव सहँदै संसारमा मर्दछ ।। ७ ।।
व्याधि रोग हुँदा अभाव सहँदा चिन्ता परेका दिन
साँचो प्रेमिल भाव छैन सँगमा के बाँच्दथ्यो जीवन ।
टन्नै द्रव्य थुपार सान गतिलो पैसा कहाँ बाँच्दछ
बाँचेको पल छैन मानव भई बाँचेर के नाप्दछ ।। ८ ।।
भ्रष्टाचार गरी लुकेर जगमा बाँच्ने मरेका कति
रित्तो पेट लिएर त्रास सहँदै हाँस्ने मरेका कति ।
टुङ्गो जीवनको रहेन जसको बाँचेर पो के भयो
मान्छेमा अब छैन मानव कठै मान्छे भए के भयो ? ।। ९ ।।