
काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को मुख्य प्रायोजन एनसेलले गर्ने भएको छ ।
शुक्रबार ललितपुरको द प्लाजामा आयोजित एक कार्यक्रमबीच एनसेल र एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टबीच मुख्य प्रायोजन सम्झौताको घोषणा भएको हो ।
एनएसएलको तेस्रो संस्करण २९ मार्च देखि सुरु हुने तालिका छ । प्रतियोगिताको यस संस्करणमा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी गरी सात टिमहरूबीच प्रतिस्पर्धा हुनेछ ।
कार्यक्रममा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले एनसेलसँग मुख्य प्रायोजक सम्झौता गर्न पाउँदा उत्साहित रहेको बताए ।
“हामी एनसेललाई एनएसएलको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित छौँ । यस साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउनेछ र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ,” उनले भने ।
यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर उमैर मोहसिनले आफूहरूको चाहना फुटबलबाट समाजलाई जोड्ने रहेको बताए ।
“हाम्रो एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ । हामी फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्नेमा विश्वास गछौँ । एनएसएललाई समर्थन गरेर हामी नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्दै देशलाई गर्व गराउने अवसर दिन चाहन्छौँ । यो सहकार्य हाम्रो थिम ‘हामी तपाईंकै लागि’मा आधारित छ र यसले विकास, नवीनता र उत्कृष्टताप्रति समान समर्पणको भावना दर्शाउने खेलकुद क्षेत्रप्रति रहेको हाम्रो गहिरो सम्मान र आकर्षणलाई प्रतिविम्बित गर्छ ।”
एनसेलले अघिल्लो वर्षदेखि नै एनएसएलसँग निकट सहकार्य गर्दै आएको छ । यस साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तर योगदानलाई प्रतिविम्बित गर्ने मोहसिनले बताए ।
जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आएको छ ।