
काठमाडौं । सर्बियाको राष्ट्रियसभा बैठकमा अश्रुग्यास, धुवाँ, अन्डालगायत वस्तु फालेर हंगामा गर्ने सांसदहरूको आलोचना भएको छ ।
गत मंगलबार विश्वविद्यालयमा लगानी बढाउनेसम्बन्धी कानुनमा मतदान गर्ने कार्यसूची थियो । तर, विपक्षी दलहरूले सत्तापक्षले अरू दर्जनौँ निर्णयहरू पारित गर्न खोजेको आरोप लगाएका थिए । उनीहरूले पहिले प्रधानमन्त्रीको राजीनामा सुनिश्चित हुनुपर्ने माग गरेका थिए ।
बैठक सुरु हुनु एक घण्टाअघिदेखि नै विपक्षी दलहरूले विरोध थालेका थिए । उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शन उग्ररूप लिएपछि तीन महिला सांसद घाइते भएका थिए । एक सांसदको टाउको पछाडि केही वस्तुले प्रहार भएको थियो । अर्की एक सांसदलाई स्ट्रोक भएको थियो ।
विपक्षी दलमध्येको ग्रिन लेफ्ट फ्रन्टका उपाध्यक्ष राडोमिर लाजोभिकले पनि आगो निभाउने ग्यास फालेका थिए । उनले यस विषयलाई १३ वर्षदेखि सर्बियाका नागरिकविरुद्ध भइरहेको हिंसाको प्रतिक्रिया भनेर टिप्पणी गरेका छन् ।
बुधबार राष्ट्रियसभाको सत्र सुरु हुनुअघि कर्मचारीहरूले बहस कक्ष सफा गरेका थिए । बहस कक्षमा प्रहरीसमेत उपस्थित थिए ।
यसैबीच, सरकारलाई भ्रष्टाचारको आरोप लगाउँदै ब्यानर फहराउने, गुलाबी र कालो धुवाँको मुस्लो निकाल्नेलगायत काम गर्ने सांसदविरुद्ध प्रहरीले प्रमाण संकलन गर्न थालेको छ । उनीहरूले मुद्दा चलाउने सरकारको तयारी छ ।
सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुसिकले यस घटनालाई 'गुन्डागर्दी' भनेका छन् । उनले घटनामा संलग्नहरूलाई फौजदारी कानुनअनुसार कारबाही गरिने बताएका छन् ।
सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस)सर्बियाको सत्तारूढ दल हो ।