
काठमाडौं । पछिल्लो एक वैज्ञानिक अध्ययनले नौहजार वर्ष पहिले प्राचीन सहरमा मातृसत्तात्मक व्यवस्था रहेको हुन सक्ने निष्कर्ष निकालेको छ । यससम्बन्धी अध्ययन एक विज्ञान पत्रिकामा यसै हप्ता प्रकाशित गरिएको छ ।
टर्कीको दक्षिणी अनातोलियामा रहेको सबैभन्दा राम्रोसँग संरक्षण गरिएको नवढुंगेयुगका बस्तीमध्ये एक मानिने चातालहोयुक प्राचीन सहरका ३५ फरक घरबाट निकालिएको १३० भन्दा बढी मानव कंकालको प्राचीन जिनोम अध्ययन गरेको अनुसन्धानकर्ताले निष्कर्ष निकालेका हुन् ।
माटोको इँटाले बनेका सहरका घरहरूको भुइँमुनि रहेका चिहानमा पुरुष र महिला दुवै गरी करिब ३९५ मानव कंकाल फेला परेका थिए । इसाइपूर्व ९००० देखि ८००० सम्म एक हजार वर्षभन्दा बढी समय बसोबासमा रहेको यो सहर महिलाका मूर्तिहरूका लागि प्रसिद्ध थियो । त्यसैले यो सम्भवत: मातादेवी (मदर गणेश) सम्प्रदायको प्रतिनिधित्व र मातृसत्तात्मक समाजको संकेत हुन सक्ने अध्ययनको निचोड छ ।
जेनेटिसिस्ट, पुरातत्वविद् र जैविक मानवशास्त्रीको टोलीले १२ वर्षभन्दा बढी समयसम्म मानव कंकालको डीएनए विश्लेषण गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरेको थियो । प्रत्येक भवनभित्रका चिहानमार्फत घरका सदस्यहरू मातृ वंशसँग जोडिएको पाइएको छ ।
चातालहोयुक सहरको प्रारम्भिक वर्षहरूमा परिवारका सदस्यहरूलाई एक साथ दफन गरिन्थ्यो । तर, समयसँगै चलनहरू परिवर्तन भए र अनुसन्धानकर्ताहरूले धेरै मृतकहरूको कुनै जैविक सम्बन्ध नभएको पत्ता लगाए । जहाँ जेनेटिक सम्बन्ध थियो र त्यो महिलाको वंशज लाइनमार्फत जोडिएको भेटियो । यसले विवाहपछि पति आफ्नी पत्नीको घरमा सरेर गएका हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
जेनेटिक सिक्वेन्सिङ प्रयोग गर्दै अनुसन्धानकर्ताहरूले ७० देखि १०० प्रतिशत समय, महिलाका सन्तानहरू घरहरूसँग सम्बन्धित रहको अनुमान गरेका छन् । जबकि, वयस्क पुरुष सन्तान अन्यत्र सरेका हुन सक्छन् । महिलाहरूलाई प्राथमिकता दिइएको स्पष्ट ढाँचा पनि थियो, जसमा पुरुषहरूको तुलनामा पाँच गुणा बढी चिहानका सामग्री महिलाहरूलाई प्रदान गरिएको पाइएको थियो ।
“सबै समाजहरू पितृसत्तात्मक हुन्छन् भन्ने मान्यता राख्ने पश्चिमी पूर्वाग्रहबाट हामीले टाढा जानु आवश्यक छ । धेरै संस्कृतिहरू, जसमा केही स्वदेशी अस्ट्रेलियाली समूहहरू समावेश छन्, पहिचान, भूमि अधिकार र जिम्मेवारीहरू एक मातृसत्तात्मक प्रणाली अर्थात आमाको वंशज लाइनमार्फत हस्तान्तरण गर्छन्,” अध्ययनका सहलेखक डा. एलाइन स्कट्सम्यान, अस्ट्रेलियाको युनिभर्सिटी अफ वोलोङगोङको स्कुल अफ साइन्सका रिसर्च फेलोले एक वक्तव्यमा भने ।
यी निष्कर्षहरू रोमन साम्राज्यलाई आक्रमणअघि बेलायतको सेल्टिक सोसल नेटवर्कस्को अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले आइरन युगको चिहानबाट जेनेटिक प्रमाणहरू संकलन गरेपछि आएका थिए । जसमा महिलाहरू नजिकको सम्बन्धमा थिए, जबकि असम्बन्धित पुरुषहरू सम्भवतः विवाहपछि बाहिरबाट समुदायमा आएका थिए ।
इंग्ल्यान्डको दक्षिणपश्चिममा रहेको डोरसेटमा ५७ चिहानबाट प्राप्त प्राचीन डीएनएको परीक्षण प्रयोग गर्दै नेचर जर्नलमा प्रकाशित अध्ययनले दुई–तिहाइ व्यक्तिहरू एकल मातृ वंशबाट उत्पन्न भएको देखाएका थिए । यसले महिलाहरूसँग भूमि र सम्पत्तिमाथि केही नियन्त्रण रहेको र बलियो सामाजिक समर्थन रहेको हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अनुसन्धानकर्ताहरूले आफ्ना निष्कर्षहरू सार्वजनिक गर्दै भने, “यो मातृसत्ता, समूह पहिचान (ग्रुप आइडेन्टिटी) को प्रमुख आधार रहेको हुन सक्छ ।”
सीबीएसन्युजबाट ।