site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको सम्बोधनलाई अवरोध गर्दा संसद्‌बाट निकालिए डेमोक्रेट सांसद

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संसद्‌मा सम्बोधन गरिरहेका बेला अवरोध गर्ने सांसद् भवनबाट निकालिएका छन् । ट्रम्पको सम्बोधनका क्रममा बीचमा बोलेर अवरोध गरेपछि डेमोक्रेटिक पार्टीका सांसद अल ग्रिनलाई हाउस च्याम्बरबाट निष्कासन गरिएको हो ।

ट्रम्पको सम्बोधन सुरु भएको केही मिनेटमै टेक्सासको ह्युस्टनका डेमोक्रेटिक सांसद ग्रिनले अवरोध गरेका थिए । स्वास्थ्य सहायता 'मेडिकएड' कटौती हुन सक्ने विषय निकाल्दै उनले भनेका थिए, “राष्ट्रपतिज्यू, तपाईंसँग जनादेश छैन ।”

Argakhachi Cement Island Ad

त्यसपछि रिपब्लिकन सांसदहरूले 'यूएसए' भनेर नारा लगाएकापछि उनको आवाज नसुनिने भएको थियो । त्यसपछि सभामुख माइक जोनसनले उनलाई सदनबाट हटाउन आदेश दिएका थिए ।

ग्रिन राष्ट्रपति ट्रम्पका कट्टर आलोचक हुन् । ट्रम्पको पहिलो कार्यकालमै उनले महाभियोग लगाउन आह्वान गरेका थिए ।

चेम्बरबाट बाहिरिएपछि पत्रकारहरूसँग कुरा गर्दै ग्रिनले आफूलाई जे सजाय दिइए पनि आफू स्वीकार गर्न तयार रहेको भनेका छन् ।

'मेडिकएड' सीमित आय र स्रोतसाधन भएकालाई उपचार खर्चमा मद्दत गर्ने कार्यक्रम हो ।

ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन विभिन्न सामाजिक सेवा खारेज गर्ने भने पनि 'मेडिकएड' कार्यक्रम प्रभावित नहुने बताएको छ । तर, 'मेडिकएड' पनि कटौती हुन सक्ने भनेर डेमाक्रेटहरूले यस विषयलाई मुद्दा बनाएका छन् ।

बीबीसीबाट ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्