काठमाडौं । तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्ला दिन सक्रिय छन् । उनले शान्ति सम्झौतामा हस्ताक्षर गराउन युक्रेनका राष्ट्रपतिलाई दबाब दिइरहेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शान्ति सम्झौताको लागि तयार नभएपछि ट्रम्पले युक्रेनलाई दिँदै आएको सहायतामा रोक लगाउने निर्णय समेत गरेका छन् ।
ट्रम्प सत्तामा आएपछि रुसलाई गलाउन अमेरिकाको साथ नपाएका जेलेन्स्की युरेपेली राष्ट्रहरूको साथ र समर्थन पाउने र बढाउने प्रयासमा छन् ।
अमेरिका युक्रेनलाई गलाउन प्रयास गरिरहेको छ भने युक्रेन र युरोपेली राष्ट्र अमेरिकालाई उसको पुरानै नीतिमा फर्काउन खोजिरहेका छन् । रुस–युक्रेन युद्धलाई लिएर विश्व राजनीति तातिरहेको बेला रुसी सेनामा रहेका विदेशी सेनाका विषयमा भने कसैले मुख खोलेको छैन ।
रुसी सेनामा ठूलो संख्यामा नेपाली पनि छन् । नेपालमा रहेका उनीहरूका परिवार आफ्ना आफन्तलाई रुसबाट पर्काइदिन भन्दै सरकारसँग हारगुहार गरिरहेका छन् ।
“मंगलबार पनि सात–आठ पीडित परिवारका सदस्य आफन्तलाई रुसबाट छिटोभन्दा छिटो फर्कादिन अनुरोध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए,” रुसी सेनामा भर्ना नेपालीलाई फिर्ता ल्याउने अभियानमा लागेकी कृतु भण्डारीले बाह्रखरीसँग भनिन्, “तर उनीहरूले मंगलबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्न पाएनन् । उनीहरूलाई गेटबाटै फर्काइयो ।”
भण्डारीका अनुसार रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका ८१ जनाको परिवारले काजक्रिया गरिसकेका छन् । “रुसी सेनामा भर्ती भएकामध्ये १६ नेपाली अहिले युक्रेनी सेनाको नियन्त्रण (युद्धवन्दी)मा छन्,” उनले भनिन् ।
रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने यकिन संख्या नेपाल सरकारसँग छैन । नेपाल सरकारले पटकपटक रुसलाई भर्ती भएका नेपालीलाई फिर्ता पठाउन आग्रह गरे पनि रुसले अटेर गर्दै आएको छ ।
“हामीले रुसी सेनामा भर्ती भएका ६ सयभन्दा बढी नेपालीको फोटोसहितको विवरण नेपाल सरकारलाई बुझाएका छौँ,” भण्डारीले भनिन् ।
परराष्ट्र मन्त्रालयको विवरणअनुसार रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ५७ छ । यो रुसले औपचारिक रूपमा नेपाल सरकारलाई उपलब्ध गरेको विवरण हो । तर, युक्रेन युद्धमा मारिएको पुष्टि भएको आधारमा काजक्रिया भएकाको संख्या निकै बढी छ ।
“अझै पनि रुसी सेनामा भर्ती हुन नेपाली गइरहेको सूचना हामीलाई आएको छ । विदामा आएकाहरू पनि फर्किरहेका छन्,” उनले भनिन् ।
रुसले मृत्यु भएका नेपालीको शव पनि नेपालमा रहेका परिवारलाई दिन मानेको छैन । परिवारको सहमतिमा धेरैको अन्तिम संस्कार रुसमै गरिएको छ । अन्तिम संस्कार गरिएकामध्ये पाँचजनाको अस्तु नेपाल ल्याइएको छ ।
मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन भने रुसले सुरु गरेको भण्डारीले बताइन् । उनका अनुसार हालै मात्र दुईजनाको परिवारले क्षतिपूर्ति रकम प्राप्त गरेको छ । रुसले मृत्यु भएकाको परिवारलाई एक करोड ७० लाख रुवेल (लगभग दुई करोड ६५ लाख रुपैयाँ) उपलब्ध गरेको छ । पीडित परिवारका सदस्यले रुसमै गएर क्षतिपूर्ति रकम बुझेका हुन् ।
पछिल्लो समय रुसले आफ्नो सेनामा भर्ती भएका नेपालीलगायत विदेशी नागरिकलाई रुसी नागरिकता दिने प्रक्रियालाई तिव्रता दिएको छ । “८० जनाभन्दा बढी नेपालीले रुसी नागरिकता प्राप्त गरेको जानकारी हामीले पाएका छौं,” भण्डारीले भनिन् ।
रुसी सेनामा भर्ती भई एक वर्षे करार अवधि सकिएका ठूलो संख्यामा नेपाली अहिले मस्कोमा रोकिएको उनी बताउँछिन् । रुसले उनीहरूलाई नागरिकता प्रदान गर्न मस्कोमा रोकेका उनको भनाइ छ ।
“विदेशी नागरिकलाई आफ्नो सेनामा भर्ती गरी युद्धमा पठाएको भन्दै रुसको आलोचना बढेपछि अहिले सेनामा भर्ती भएका नेपालीलगायत विदेशीलाई नागरिकता दिने प्रक्रिया रुसले अघि बढाएको छ,” उनले भनिन् ।
युक्रनेसँगको युद्धमा घाइते भई रुसमै उपचारत १५ जनभन्दा बढी अहिले आफ्नो सम्पर्कमा रहेको उनले बताइन् । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हराइरहेका नेपालीको संख्या २७९ छ । रुसी सेनामा भर्ती भएकामध्ये हालसम्म २१३ जनाभन्दा बढी स्वदेश फर्किसकेका छन् ।
रुसले सन् २०२२ फेब्रुअरी २४ का दिन युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसपछि रुस र युक्रेनबीचको युद्ध निरन्तर चल्दै आएको छ । युद्धमा धेरै आफ्ना नागरिक मारिएपछि रुसले नेपालीलगायत विदेशी नागरिकलाई आफ्नो सेनामा भर्ती गरी युक्रेनसँगको युद्धमा पठाउन थालेको हो ।
रुसी सेनामा कति नेपाली भर्ती भएका छन् यकिन तथ्यांक नेपाल सरकारसँग छैन । नेपाल सरकारले पटकपटक रुसलाई नेपालीको भर्ना रोक्न, भर्ती भएकाको विवरण पठाउन, भर्ती भएकालाई फिर्ता पठाउन र घाइते तथा मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन अनुरोध गरे पनि रुसले भने वेवास्ता गर्दै आएको छ ।
सुरुमा त नेपाल सरकारले रुसी सेनमा नेपाली भर्ती भएको स्वीकारेको थिएन । रुसी सेनामा भर्ती भएका नेपालीको मृत्यु भएको खबर आउन थालेपछि नेपाल सरकारले स्वीकार गरेको थियो ।
सबैभन्दा पहिला गोरखाका सन्दीप थपलियाको २०८० असार २९ गते युक्रेनसँगको युद्धका क्रममा मारिएका थिए । उनी युक्रेनको बाखमुतमा मारिएका थिए । रुसले थपलियाको शव पठाउन मानेन र त्यहीँ समाधिस्थ गरिएको थियो ।
परराष्ट्र मन्त्रालये थपलियाको मृत्यु भएको खबर साउनमा नै थाहा पाएको थियो । तर, गोप्य राखेको थियो । त्यसपछि मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा नेपाली भर्ती भएका सम्बन्धमा बुझ्न सुरु गरेको थियो ।
दूतावासले बुझ्ने क्रममा थपलियाले सेनामा भर्ती हुँदा रुसी रक्षा मन्त्रालयसँग गरेको कागजात भेटिएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले २०८० साउन १६ गते विज्ञप्ति जारी गर्दै विदेशी सेनामा नेपाली भर्ती भएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको थियो । तर, विज्ञप्तिमा न त रुसको नाम नै उल्लेख थियो न युक्रेनको ।
मस्कोस्थित नेपाली दूतावासले कात्तिक २९ गते रुसी सेनामा भर्ती भएका इलामका गंगाराज मोक्तान, कपिलवस्तुका रुपक कार्की र दोलखाका राजकुमार रोकाको मृत्यु भएको भन्दै मंसिर ८ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाएपछि मात्र नेपालले औपचारिक रुपमा रुसी सेनामा नेपाली भर्ती भएको स्वीकारेको थियो ।
विज्ञप्ति जारी गर्नुअघि परराष्ट्रले नेपालका लागि रुसी राजदूतलाई मन्त्रालयमा बोलाई असन्तुष्टि जनाउँदै कूटनीतिक नोट थमाएको थियो । परराष्ट्रले राजदूतमार्फत रुसलाई नेपालीको शव तत्काल पठाउन, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन आग्रह गरेको थियो । तर, रुसले नेपालको अनुरोधलाई टेरेन ।
रुसल अवैध तरिकाले नेपाली युवालाई आफ्नो सेनामा भर्ती गरेपछि नेपालले रुस जाने नेपालीमाथि कडाई गर्न थालेको थियो ।
सरकारले यसअघि सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तरगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था गरेको थियो ।
सरकारले पछिल्लो समय यो व्यवस्थालाई अझ विस्तार गरेको छ । भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरव इमिरेट्स, साउदी अरविया, कुवेत, कतार र बहराइनबाट समेत रुस यात्रा गर्नुपरेमा ती देशमा रहेका नेपाली दूतावास तथा महावाणिज्य दूताबासहरूबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था गरेको छ ।
धेरैजसो नेपाली भिजिट भिसामा ती देश हुँदै रुस गएको भेटिएपछि सरकारले कडाइ गरेको थियो । सरकारले कडाई गरे पनि रुसी सेनामा भर्ती हुने र मृत्यु हुने क्रम रोकिएको छैन ।