site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेलाई कुनै राजनीतिक घटनाले विचलित तुल्याउन सक्दैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)लाई कुनै पनि राजनीतिक घटनाले विचलित तुल्याउन नसक्ने बताएकी छन् । गणेश पाण्डेको ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले एमालेसँग जनआधारित अनुशासित, समर्पित कार्यकर्ता र सदस्यको व्यापक विस्तारित पंक्ति रहेको बताइन् । एमालेसँग अनुभवी, संयमी र दृढ संकल्प भएको नेतृत्व तह रहेकाले कुनै घटनाले विचलित तुल्याउन नसक्ने उनको दाबी छ ।

“बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटनाले तथा परिघटनाले विचलित तुल्याउन सक्दैन,” उनले भनिन् ।

Argakhachi Cement Island Ad

भण्डारीले मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक परितर्वत गर्न एमालेको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरिन् । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिइन् । “अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सिर्जनशील क्षमताका धनी प्रधानमन्त्री एक अब्बल एवं लोकप्रिय राजनेता हुनुहुन्छ,” उनले भनिन् ।

उनले ओलीले एमालेले गुटफुटलाई परास्त गर्दै एकताबद्ध बनाएको भन्दै आगामी दिनमा पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरिन् । “नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन, तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दछु्,” भण्डारीले भनिन्, “साथै भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठूलो योगदान पुग्ने नै छ ।”

उनले नेता कार्यकर्ताको पनि त्यस्तै खालेको अपेक्षा रहेको सुनाइन् । उनले जबजको प्र्रभावकारी कार्यान्वयनका लागि ओली र पार्टीको सराहना गरिन् ।

त्यस्तै, पुस्तकमाथि बोल्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले प्रधानमन्त्री ओलीलाई महानायकको संज्ञा दिए । “सम्माननीय प्रधानमन्त्रीको जुन उर्जा, गतिशीलता, सोच छ । जुन किसिमको सपना छ । ती सबैले सार्थकता पाउने हो भने हामी कहाँ हुन्थ्यौँ होला भन्ने सोच्ने गर्छु,” उनले भने ।  

उनले सपनाहीन भएर लक्ष्यमा पुग्न नसकिने बताए । देश शक्तिशाली भएको भन्दै मानसिकता कमजोर भएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्