आर्थिक विकासका तुलनामा नेपालले सामाजिक विकासका कतिपय क्षेत्रमा हासिल गरेको उपलब्धि दक्षिण एसिया उदाहरणीय मानिन्छ । विशेषगरी मातृ शिशु स्वास्थ्यका क्षेत्रमा नेपालले छोटो समयमा उल्लेख्य प्रगति हासिल गरेको हो ।
नेपालले सामाजिक क्षेत्रमा हासिल गरेको उपलब्धिमा वैदेशिक सहयोगको विशेष योगदान छ । भनिरहनु परोइन नेपाललाई सामाजिक सेवाहरूको विकासमा सहायता गर्ने मित्र राष्ट्रहरूमा संयुक्त राज्य अमेरिका अग्रणी राष्ट्र हो ।
अहिले अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि अमेरिकाको नेतृत्वको विश्व व्यवस्थामै एकप्रकारको उथलपुथल हुनलागेको देखिन्छ । ट्रम्प प्रशासनले अमेरिकी सहायता निकाय युएसएआईडी खारेज गरिसकेको छ भने नेपाललगायतलाई दिइआएको वैदेशिक सहयोग पनि स्थगित गरेको छ ।
त्यसको प्रभाव नेपालमा अमेरिकी सहयोगमा सञ्चालित आयोजनाहरूमा पनि पर्नु स्वाभाविकै हो । आर्थिक वर्षको अन्त्यतिर यसरी सहयोग रोकिँदा वैदेशिक सहायतामा सञ्चालित परियोजनाहरू चालु राख्न सरकारलाई कठिन हुनु पनि अस्वाभाविक होइन ।
तर, अमेरिकी सहयोगमा सञ्चालित परियोजनाहरूलाई निरन्तरता नदिने हो भने तिनबाट हासिल उपलब्धिहरू सङ्कटमा पर्नसक्छन् । त्यस अवस्थामा अमेरिकी जनताको सद्भावपूर्ण सहयोग व्यर्थ हुनपुग्छ । यसैले नेपाल सरकारले ती कार्यक्रमहरूलाई निरन्तरता दिने उपाय खोज्नु उचित हुनेछ ।
संयोगले अहिले नेपालमा आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन सुरु भएको छ । यसक्रममा चालु आर्थिक वर्षको बजेटको समीक्षा पनि पक्कै हुनेछ । अर्थात्, सरकारलाई अमेरिकी सहायताबाट सञ्चालित परियोजनाका महत्त्वपूर्ण कार्यक्रमहरूलाई निरन्तरता दिने अवसर प्राप्त भएको छ ।
ट्रम्प प्रशासनले स्थगित गरेको वैदेशिक सहायता पुनः सञ्चालन गरेमा नेपालका परियोजनालाई पनि निरन्तरता दिन सक्छ । अहिले ती कार्यक्रमहरूलाई निरन्तरता दिइएमा परियोजना सहयोगको कडी पुनः जोडिनेछ । यसै पनि सफल र जनहितकारी ठहरिएका कार्यक्रम आफ्नै खर्चमा चालु राख्नु बुद्धिमानी पनि हो ।
यस प्रकरणबाट सिकेर आगामी वर्षको बजेट निर्माण गर्दा ध्यान दिनुपर्ने अर्को पाठ हो - विदेशी सहयोगका परियोजनामा आफ्नै स्रोतबाट निरन्तरता दिन सकिने कार्यक्रमहरूमात्र समावेश गर्ने । त्यसो गर्न सकेमा वैदेशिक सहयोगमा निर्भरता कम हुनेछ भने कार्यक्रमका क्रममा भएका सिकाइलगायतका उपलब्धि खेर जानेछैन ।
अमेरिकी सहायता रोकिँदा नेपालमा संयुक्त राष्ट्रसंघीय निकायहरूका साथै कतिपय अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामार्फत सञ्चालित कार्यक्रममा पनि असर पर्न सक्छ । यसमा सरकारका साथै सम्बन्धित निकाय र संघसंस्थाले पनि तत्काल छलफल गरी उपयुक्त कार्यक्रमहरूलाई निरन्तरता दिने उपाय पहिल्याउनु आवश्यक देखिन्छ ।
अरू अनावश्यक कार्यक्रम वा खर्च घटाएर पनि अमेरिकी सहयोगमा सञ्चालित आधारभूत शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रका परियोजनाहरूलाई निरन्तरता दिन स्रोत जुटाउन सरकार तत्पर हुनुपर्छ । सम्भवतःः अमेरिकी जनताको सद्भावपूर्ण सहयोगका लागि नेपालले कृतज्ञता ज्ञापन गर्ने यो उत्तम उपाय पनि हो । यद्यपि, वैदेशिक सहयोग धनी राष्ट्रहरूको दायित्व पनि हो ।