site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले मोरङमा ओली र भण्डारीका उमेदवार मैदान उत्रिए

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को जारी दशौँ मोरङ जिल्ला अधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । विराटनगरमा जारी अधिवेशनमा प्रतिवेदनमाथिको छलफल सकिएसँगै निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।  

ढिलोमा आज साँझसम्ममा निर्वाचन कार्यतालिका प्रकाशन आरम्भ हुने अध्यक्ष मण्डलले जनाएको छ । सबै प्रक्रिया पूरा भए पर्सि मंगलबार निर्वाचन हुनेछ । तर, प्रतिवेदनमाथि छलफल सुरु हुनुअगावै उमेदवारी घोषणा गरेका नेता र तिनका कार्यकर्ता मत माग्न व्यस्त देखिएका छन् । जिल्ला नेतृत्वमा पुग्न पार्टीको संस्थापन र इतर दुवै समूह प्यानल बनाएर चुनावी दौडमा होमिने दौडमा छन् ।

संस्थापन(केपी ओली) पक्षबाट राजकुमार ओझा र इतर समूह (विद्योदवी भण्डारी समूह)का अजम्बर राईले अध्यक्ष पदमा दाबेदारी पेस गरेका छन् । अधिवेशन स्थलमा मतदातासँग भलाकुसारी गर्दै गर्दा भेटिएका ओझाले आफू नै पार्टीको आधिकारिक उमेदवार भएको दाबी गर्दै भने, “पार्टीले आधिकारिक रूपमा मलाई नै अध्यक्षमा अघि सार्ने निर्णय भएको छ । म सोहीअनुरूप तयारीमा लागेको छु । मतदातासँग छलफल गरिरहेको छु । मत माग्दै छु ।” 

ओझाले अध्यक्षसहित अन्य पदमा आफ्नो प्यानल तयार भएको बताउँदै मन मिल्ने साथीहरू एक ठाउँमा उभिएको बताए । ओझा प्यानलमा उपाध्यक्ष शान्तिकुमारी लिम्बू, सचिव रविन थापा, उप–सचिव एर्जालाल राजवंशी र एउटा पदमा नाम टुंगिन बाँझी रहेको सुनाए । 

अध्यक्षका अर्का प्रतिस्पर्धी अजम्बर राईले आन्तरिक प्रतिस्पर्धा पार्टीभित्र हुने र त्यो निर्वाचनको प्रक्रिया नै भएको बताए । “२०४८ सालमा चौथो जिल्ला सम्मेलन भएको थियो । संगठित सदस्य पुराना भएपछि संगठित सदस्यले सम्मेलन गर्ने चलन थियो । अहिले सदस्यबाट निर्वाचित भएर अधिवेशन गर्न थालियो । म त्यसबेलादेखि नै प्रतिनिधि हुँदै आएको छु, अब अध्यक्षमा मेरो दाबेदारी हो,” उनले भने । 

सहमति गर्दा मात्र सर्वसम्मत हुने नत्र चुनावी प्रक्रियामा जाने बताएका राईले आन्तरिक निर्वाचन गर्नु लोकतान्त्रिक प्रक्रिया भएको सुनाए । भने,“निर्वाचनबाट नेतृत्व चयन हुनेछ । आन्तरिक चुनाव हुनु राम्रो हो । सहमतिको म विरोधी होइन । मिल्दोजुल्दो नाम आए मानेर जान्छु तर त्यो नाम आएको छैन । सहमति गरौँ भनेर कुनै नेताले मलाई भन्नुभएको छैन ।” 

कोही उभिँदा मात्र आफसेआफ प्यानल खडा हुने र जनवाद कायम गर्ने ठाउँमा गर्नै नहुने भन्ने नहुने उनले बताए । प्रतिनिधि धेरै छन् तर पद थोरै भएकाले मिलाउन केही समस्या भएको बताए । 

अहिलेसम्मको आधिकारिक वा अनाधिकारिक भन्ने नभएको तर जसले यसरी प्रचार गरे पनि त्यो गलत भएको उनले टिप्पणी गरे । पार्टीभित्रको अधिवेशनमा आफ्नो मत राख्न पाइँदैन भन्ने नहुने भन्दै उनले अर्को पार्टीमा संसदीय मोर्चामा जाँदा मात्र यो पार्टीको आधिकारिक भन्ने हुने बताए । “कि उमेदवार बन्न पाउँदैनस भन्ने हुन्छ र ? जसले जित्छ त्यो र हार्ने पनि पार्टीकै आधिकारिक हुन्छ,” उनले भने । 

राईको प्यानलमा उपाध्यक्ष सागर थापा, सचिव सोम थापा, उप–सचिवमा उषा झा र सन्तोष बान्तवा छन् । 

ओलीले अध्यक्ष र उपाध्यक्षको नाम पठाए !

एमाले केपी ओलीले मोरङ जिल्ला अध्यक्षमा ओझा र उपाध्यक्षमा विराटनगर महानगरपालिकाकी उप–मेयर शिल्पा कार्कीको नाम नेतृत्वलाई टेलिफोन गरेर पठाएपछि सर्वसम्मति हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ । 

एक नेताका अनुसार ओलीले जिल्ला तहका नेतृत्वलाई आफूले दिएको नामअनुसार नै अघि बढ्न भनेपछि इतर समूहले त्यसप्रति असन्तोष जनाएको छ । कार्कीले निर्वाचनमा उठ्न अनिच्छा देखाउँदादेखाउँदै अध्यक्षबाट नाम आएको उनले बताए । 

उनले भने,“सहमति हुन नसके निर्वाचन नै उत्तम विकल्प हो ।” ओलीले चाहेअनुरूप नहुँदा कोसी प्रदेशका तीनवटा जिल्लामा निर्वाचन भएको थियो । अन्यत्र जिल्ला अधिवेशन सकिए पनि मोरङमा ढिलो भएको हो । इतर समूहको वचस्व देखिने भएपछि मोरङको जिल्ला अधिवेशन केही पर धकेलिएको थियो । 

निर्वाचनमा ९१४ जना प्रतिनिधिले मत खसाल्नेछन् । जसमध्ये १७ पालिकाका १५१ वडाबाट ६९२ जना, २३ जनवर्गीय संगठनबाट १०१ जना, विशेष क्षेत्रबाट २४ जना, दलितबाट ५१ जना र मनोनीत ४६ जना प्रतिनिधि चयन भएर आएका छन् । 

मोरङमा एमाले इतर समूह (पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी)को नेतृत्व एमाले मोरङका पूर्वअध्यक्ष विनोद ढकालले गर्दै आएका छन् । ढकाल पहिले अध्यक्ष केपी ओलीनिकट मानिन्थे । तर, एमाले कोसीको अधिवेशनपछि फेरिएका छन् । 

उनी अध्यक्षमा ओलीनिकट खेमाका घनश्याम खतिवडासँग पराजित बनेका थिए । अहिले उनी भण्डारी खेमामा छन् । दुवै खेमाले चुनाव नै हुँदासमेत आफ्नो बहुमत आउने दाबी गर्दै आएका छन् । 

तर, अन्य धेरै जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएकोले मोरङमा पनि त्यही प्रयास हुने बताइएको छ । विसं ०५० यता मोरङ एमालेमा ओली पक्षको नेतृत्व रहँदै आएको छ ।

एमाले जिल्ला अधिवेशन उद्घाटन शनिबार पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले गरेका थिए । त्यसक्रममा सहभागी नेताहरूले सहमतिमै नेतृत्व छान्न निर्देशन दिएका थिए । 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro