site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रोशन कार्कीको अभिव्यक्तिमा आपत्ति जनाउन सूर्य थापा उठेपछि...

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीको अभिव्यक्ति हटाउन रेकर्डबाट माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले उपसभामुखलाई पदबाट हटाउन सत्तापक्षका सांसदहरूले गरेको हस्ताक्षरमा प्रश्न उठाएकी थिइन् ।

"उहाँहरूलाई संवैधानिक परिषद्‌मा बहुमत पुगेन । बहुमत पुर्‍याएर आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई हटाउने कुराहरू त्यहाँ चल्यो । नेपाली कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा सही गर्न लगाएछन् । सही गराउने कस्ता पार्टी ? सही गर्ने कस्ता माननीयहरू ? धिक्कार होस्," उनले भनेकी थिइन् ।

लगत्तै एमालेका सांसद थापा नियमापत्तिका लागि उठे । उनी बोलिरहिन् । 

सभामुख घिमिरेले थापालाई किन उठेको भनेर प्रश्न गरे ।

बोलिरहेकी कार्कीले भनिन्, "उहाँको बानी नै हो । जहिल्यै जुरुक्क जुरुक्क उठ्ने । जे कुरामा पनि उठ्नुहुन्छ । पहिले मलाई बोल्न दिनुहोस् ।"

आफ्नो नियमापत्ति रहेको बताएपछि सभामुखले समय दिए । उनले सांसद कार्कीले अपमानपूर्ण अभिव्यक्ति दिएकाले रेकर्डबाट हटाउन माग गरे ।

"अपमानपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ । कस्ता कागजमा सही गर्छौं, जानेर बुझेर गर्छौं," उनले भने ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्