site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वैकल्पिक वित्त कोषको पहिलो लगानी खुर्कोट–चियाबारी सुरुङमार्गमा गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले वैकल्पिक लगानी विधेयक पारित भएपछि त्यसको पहिलो प्रयोग खुर्कोट–चियाबारी सुरुङमार्गमा गर्न माग गरेका छन् । बुधबार संघीय संसद्को बैठकको विशेष समयमा उनले विधेयक पारित भएपछि यसको पहिलो प्रयोग राजधानी आउने मुलुकको पूर्वी नाका चियाबारी–खुर्कोट सुरुङमार्गको निर्माणमा गर्न जोड दिएका हुन् ।

वैकल्पिक वित्त विधेयक संसद्को अर्थ समितिमा दफावार छलफलको क्रममा छ । सरकारले ठूला पूर्वाधारमा लगानी गर्न एक खर्ब रुपैयाँको वैकल्पिक वित्त कोष स्थापना गर्न लागेको छ ।

“उक्त मार्गबाट मात्र दैनिक २५ सय गाडी र चार हजार मोटरसाइकल ओहरदोहर गर्छन् । यदि सुरुङमार्ग भयो भने यो संख्या दोब्बर हुन्छ । एउटा गाडीसँग ५०० रुपैयाँ र मोटरसाइकलसँग १०० रुपैयाँ टोल उठायो भने सञ्चालनमा आएको २० वर्षमा सबै लगानी उठ्नेछ,” उनले भने ।

सुरुङमार्ग बनेपछि खुर्कोटबाट सिन्धुलीसम्म ३९ किलोमिटर दुरी साढे आठ किलोमिटरमा सीमित हुनुका साथै यात्रा एक घण्टा समय छोटिने र यात्रा गर्दा हुने जोखिम पनि घट्ने उनले बताए ।

उक्त सुरुङमार्ग निर्माण गर्नका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले चासो देखाएको छ ।

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग बनाउन ४० अर्ब रुपैयाँ लाग्ने जाइकाको प्राविधिक टोलीले सार्वजनिक गरेको एक अध्ययनले देखाएको छ । यो अनुमानित लागतमात्र हो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मात्र वास्तविक लागत यकिन हुनेछ ।

यसअघि, सरकारले सन् २०३१ सम्म सक्न जाइकासँग आग्रह गरेको थियो । डीपीआर र लगानी खाका टुंगो नलागेकाले परियोजना २०३१ को लक्ष्य पूरा हुने देखिँदैन ।

जाइकाले गरेको प्रारम्भिक अध्ययनअनुसार, ७.८ किलोमिटर सुरुङका साथै डेढ किलोमिटर नयाँ सडक बनाउनुपर्ने हुन्छ ।

बीपी राजमार्गमा सुरुङमार्ग र सडक गरेर करिब १० किलोमिटर लामो सुरुङ निर्माण हुने अनुमान गरिएको छ । सुरुङमार्ग बनेपछि २५ किलोमिटर बाटो छोटो हुने जाइकाको प्रारम्भिक अध्ययनले देखाएको छ । जाइकाको २६ अर्ब जापानी येन लगानी भएको उक्त राजमार्गको लम्बाइ धुलिखेलदेखि बर्दिबाससम्म १६० किलोमिटर छ ।

राजधानीबाट बनेपा, सिन्धुली, बर्दिबास जोड्ने राजमार्ग २०५२ सालमा निर्माण सुरु गरी २०७२ असारमा जापान सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्