site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा सभामुख हटाउने तयारीमा लागे कांग्रेस–एमाले
कोसी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट ।

विराटनगर । कोसी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टलाई पदबाट हटाउन सत्तारूढ दलहरूले आन्तरिक तयारी थालेका छन् । कोसीमा सभामुख फेर्न सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) एकमत छन् । त्यसका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको नेताहरू बताउँछन् ।

सरकार गठनका क्रममा एमाले र कांग्रेस फरक कित्तामा उभिएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाइएको थियो । त्यसबेला अहिलेभन्दा फरक गठबन्धनको सरकार बनाउन ठ्याक्कै ४६ प्रदेशसभा सदस्यको संख्या चाहिएको थियो ।

तर, अहिलेको गठबन्धन ०८४ सम्मै टिक्ने सुनिश्चित भएसँगै विष्टलाई हटाउन लागिएको नेताहरूको भनाइ छ । नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यले सभामुख हटाउन अनौपचारिक छलफल भएको तर प्रक्रिया कहिले सुरु गर्ने भन्ने तय नभएको जानकारी दिए ।

विराटनगरमा बुधबार (आज) आयोजित एउटा कार्यक्रममा पूर्वमुख्यमन्त्री केदार कार्कीले सभामुख फेर्न तयारी थालिएको विषयमा आलोचना गरे ।

“कोसी प्रदेशमा पनि राप्रपाको सभामुख हुनुभयो, हिजो सर्वसम्मत हुनुभयो । अब के आवश्यकता पर्यो र फेर्नलाई ? के पद बाँडफाँट गर्ने मात्र व्यवस्था हो यो, कि व्यवस्थालाई व्यवस्थापन गर्ने हो ?,” उनले भने ।

उनले सभामुखलाई आफूहरूले नै बनाएको भन्दै राजतन्त्रको वकालत गरे भनेर हटाउने विषय ठिक नहुने बताए । “गणतन्त्रमा सबै अटाउने हो । यही संविधानअन्तर्गत शपथ लिएर बसिसकेपछि यही व्यवस्थाको व्यक्ति भयो कि भएन ?,” उनले भने ।

उनले जो सुकैलाई जुन पदमा जान पनि संविधानले व्यवस्था गरेको भन्दै विरोधी भयो भनेर हटाइहाल्न नहुने जिकिर गरे । “संविधानले नै प्रतिपक्षीको व्यवस्था गरेको छ, फरक दृष्टिकोण राख्नेलाई स्थान नदिने हो ? जो व्यवस्था मानेर आएको छ मान्नुपर्छ,” उनले भने ।

०८० पुस २४ गते विष्ट कोसी प्रदेशको सभामुखमा सर्वसम्मत निर्वाचित भएका थिए । त्यही वर्ष साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएका थिए । त्यसपछि पद रिक्त बनेको थियो ।

प्रदेश सभा बैठकमा विष्टको एकल उमेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए । कोसी प्रदेश सभामा ९३ जना सदस्य छन् । जसमध्ये सातजना राप्रपाका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्