site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मोरङमा विद्या भण्डारीलाई एमालेको ‘तिरस्कार’, ओलीको आरोपप्रति आपत्ति

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गरेको व्यवहारप्रति असन्तुष्टि जनाएकी छन् । खासगरी ओलीले सार्वजनिक मञ्चबाट मदन भण्डारीका विषयमा गरेको टिप्पणीप्रति उनको चित्त दुखाइ रहेको एमाले नेताले बताएका छन् ।

विराटनगर भ्रमणका क्रममा उनले आफूनिकट र ओली पक्षका नेतासँग समेत यसबारे गुनासो गरेकी छन् । ‘चार श्रीमती र साझा (सहकारी) लुटपाट गरेको भन्ने गरिएको’ भन्दै ओलीले केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा मदनका विषयमा विवादास्पद अभिव्यक्ति दिएका थिए ।

पञ्चायतकालमा मोरङको इटहरास्थित तत्कालीन साझा संस्था मदनको अगुवाइमा लुटिएको कांग्रेसले आरोप लगाउने गरेको छ । त्यति बेला मल र खाद्यान्न लुटेर कम्युनिस्टले जनतालाई वितरण गरेको र धेरै कृषि सामग्री खोलामा बगाइदिएको कांग्रेसको आरोप छ ।

इटहराको साझाले कृषि विकास बैंकको ऋण तिर्न नसकेपछि दाताले दिएको १० कट्ठा जमिनसहित सबै जायजेथा १६ वर्षअघि नै लिलाम भइसकेको छ । यसैलाई पुनर्ताजगी गर्ने गरी ओलीले बोलेका बताइन्छ ।

पूर्वराष्ट्रपति भण्डारी सोमबार (भदौ २) दिउँसो विराटनगर ओर्लिएकी हुन् । उनी यहाँको उद्घोष दैनिक पत्रिकाको वार्षिकोत्सव समारोहमा सहभागी हुन आएकी हुन् । भण्डारी मंगलबार (भदौ ३) काठमाडौं फर्कने तयारी छ ।

विमानस्थलमा उनलाई स्वागत गर्न सीमित संख्यामा मात्र एमाले नेता–कार्यकर्ता पुगेका थिए । एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, मोरङ उपाध्यक्ष सागर थापा, युवा संघ मोरङका पूर्वअध्यक्ष मुकेश बुढाथोकी, कोसी प्रदेशसभाकी पूर्वसदस्य यशोदा अधिकारीलगायत नेता विमानस्थल पुगेका थिए ।

एमाले विराटनगरका इन्चार्ज पर्शुराम बस्नेतले मंगलबार सामाजिक सञ्जालमार्फत पार्टी कार्यालयमा कुनै कार्यक्रम नरहेको र सहभागी नहुन भन्दै ‘सर्कुलर’ नै जारी गरे । यद्यपि, पाञ्चालीस्थित एमाले कार्यालयमा आयोजित कार्यक्रममा भण्डारी सहभागी भइन् ।

एमाले मोरङ उपाध्यक्ष थापाले पूर्वराष्ट्रपतिको कार्यक्रम सहज रूपमा सम्पन्न भएको बताए । उनले भने, ‘‘त्यस्तो कुनै अवरोध भएन ।’’

विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ‘पार्टी निर्माणमा तपाईंको परिवारले गरेको योगदानको अवमूल्यन हुने गरी अध्यक्ष ओलीले किन टिप्पणी गर्नुभएको होला ?’ भन्ने बाह्रखरीको प्रश्नमा भण्डारीले भनिन्, “यो कुरा अध्यक्ष ओलीलाई नै सोध्नुपर्छ ।”

‘पार्टीले ग्रहण नगरेको अवस्थामा पनि तपाईं किन त्यही पार्टीमा फर्कन खोज्नुभएको हो ?’ भन्ने अर्को प्रश्नमा उनले भनिन्, “म अहिले पनि एमाले हुँ । एमाले भएकै कारण पार्टीले राष्ट्रपति बन्न पठाएको र जिम्मेवारी सकिएपछि फर्किएँ र ४५ वर्षदेखि एमालेमा रहेछु । मोरङमै पहिलोपटक  सदस्यता लिएकी हुँ ।”

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँगको भेटका विषयमा समेत ओलीको टिप्पणीबाट चित्त दुखेको उनले बताइन् ।

विराटनगरमै रहेका बेला भण्डारीसँगको भेटका विषयमा कोइरालाले राष्ट्रिय राजनीतिबारे दुई नेताबीच छलफल हुनु सामान्य भएको बताएका थिए । भण्डारीले ओलीसँग चित्त दुखाएको विषयमा कोइराला धेरै खुल्न चाहेका थिएनन् । भण्डारीले पनि कोइरालासँगको भेटलाई धेरै हाउगुजी बनाइएको टिप्पणी गरिन् ।

सोमबार राति कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की आफ्ना क्याबिनेट मन्त्रीहरूसहित भण्डारीसँग भेट गर्न उनी बसेको बिग होटेल पुगेका थिए । कार्कीसँग समेत भण्डारीले ओलीले आफ्नो अपमान गरेको गुनासो पोखिन् ।

मन्त्रीहरूसहित सामूहिक भेटपछि मुख्यमन्त्री कार्कीले करिब एक घण्टा एक्लै भण्डारीसँग छलफल गरेका थिए ।

भण्डारीले पूर्वराष्ट्रपतिले पाउने सबै सुविधा त्यागेर आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । एमाले नेताले भने उनको सदस्यता समेत नवीकरण नभएको अभिव्यक्ति दिइरहेका छन् ।

विधान महाधिवेशनमा भण्डारीलाई अतिथि समेत नबनाइने भनेर सञ्चारमाध्यमा एमाले नेताले दिएको अभिव्यक्तिबारे उनले पार्टीले गरेको निर्णय आफूलाई थाहा नभएको बताइन् ।

भण्डारी विराटनगर आउँदा उनको सुरक्षामा नेपाली सेनाका अंगरक्षक साथै थिए । स्वागत गर्न मोरङका सीडीओ र प्रहरी प्रमुखहरू समेत पुगेका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्