
नेपाली कविहरूको शैली पनि बडो गजबकै छ, त्यहाँमाथि यी कवि भन्ने प्राणी त जहाँ पुग्छन् त्यहाँ केही न केही गरिहाल्छन् । फेरि, नेपालमै मात्र नभई विश्वमा धेरै लेखिने र कम पढिने तर अचाक्ली सुनिने विधा न पर्यो कविता ! तत्कालै लेख्यो र सुनाइहाल्यो ।
२०२४ को जुलाईमा जापानको राजधानी सहर टोकियो पुगेपछि हिरोशिमा पुग्ने रहर पलाएर आयो । हुन त जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले पहिल्यै बनाएको कार्यतालिकामा हिरोशिमाको विश्वशान्ति संग्रहालयको भ्रमण थियो नै ।
तर, त्यहाँ गएर आश्चर्यजनक रूपमा कवि सम्मेलनको योजना पनि बनिहाल्यो । २०८१ साउन ४ गते बिहानको नास्ता खाएर बुलेट ट्रेनको यात्रामा टोकियोबाट हामी निस्कियौँ ।
मानिसमा केही कुनै कुरा गर्नुअघि केही डर हुन्छ । त्यसैले केही बिर्सने, केही हतारिने, केही छुट्ने, निद्रा नपुग्नेजस्ता समस्या आइपर्छन् । त्यसलाई मनोविज्ञानको भाषामा इनजाइटी भनिन्छ ।
हामी पनि हतारमै थियौँ । समयमै बिहानको खाजा खाएर निस्कनुपर्ने, साथीहरूलाई उठाउने र बेलाबेलामा सम्झाइरहनुपर्ने, पटकपटक सम्झाउँदा पनि साथीहरू ढिलै उठ्ने हुनाले प्रत्येकको ढोकामा गएर सम्झाएँ ।
एक रात दुई दिनको बसाइ बाहिर हुने भएकाले सानो झोला बोकेर निस्कनुपर्ने । आफू तयार भएर निस्कँदा पनि साथीहरू प्रेमबहादुर बस्नेत र नवीन गुरुङ निकै बेरसम्म पनि ननिस्केपछि तीनचोटि तलमाथि गरेँ ।
निकै समयपछि मात्र हामी तीनजना बिहानको खाजाको लाइनमा बस्यौँ । केही खायौँ । मित्र राजकुमार बराइलीले भने निकै आलटाल र लोसोपन देखाए । त्यत्तिकैमा राजदूतावासको गाडी होटेलकै गेटमा आइपुग्यो । महामहिम राजदूत पनि थिए ।
बिहान आठ बजेर उन्नाइस मिनेटको समय लेखिएको बुलेट ट्रेनको टिकट छ हामीसँग । छोटो बाटो भएर ट्रेन स्टेसनतिर कुदिहाल्नुपर्ने, दूतावासका फिलिपिनी चालक मित्र जेनीले हाम्रो स–सानो झोला गाडीमा राखे । तत्कालै सिनागावा स्टेसनतर्फ हाम्रो यात्रा बढ्यो ।
जापानमा हरेक कुराको व्यवस्थापन लोभलाग्दो हुने । लोभलाग्दो किनभने, एक सेकेन्ड पनि ढिलो नगरी बुलेट ट्रेन स्टेसनमा आइपुग्यो । आफ्नो सिटका लागि आफ्नै डब्बामा चढ्नुपर्ने, फेरि तलमाथि पर्यो कि जानुपर्ने एक ठाउँ पुगिने अर्को सहर, यस्तोमा पर्दैन त फसाद ! त्यसैले हामी पनि व्यवस्थित रूपमा चढ्यौँ ।
टोकियोबाट साढे आठ सय किमिको दूरी तय गर्नुपर्छ हिरोशिमा पुग्न । हामी नाजोमी–१५ ट्रेनमा छौँ अहिले, सिनागावाबाट आठ बजेर उन्नाइस मिनेटमा गुडेको ट्रेन जापानका विभिन्न सहर ओसाका, क्योटो हुँदै बाह्र बजेर दुई मिनेटमा हिरोशिमाको रेल्वे स्टेसनमा रोकियो । बडो सहज र सजिलो यात्रा । लगभग पौने चार घण्टामा झन्डै नौ सय किमिको सहज यात्रा । आहा, कति मजा !
रेल्वे स्टेसनमा हाम्रो प्रतीक्षामा छन्, मेयामाजीका सांसद हिरोशी हिरागुची । हामीसामु आएर स्वागत गरे उनले । उमेरले ज्येष्ठ नागरिक, कति भद्र कति शालीन, यस क्षेत्रकै सांसद हुँ भन्ने कुनै रवाफ छैन उनमा ।
सातचोटि हिरोशिमाबाट प्रत्यक्ष चुनावी मैदानमा भिडेका पाँचौँपटकको सभासद्, देश र जनताप्रति उत्तरदायी व्यक्तित्व । रोचक कुरा के भने, उनकै सवारीमा हामी तोकिएकै समय गभर्नर अफिस पुगेर कुराकानी गर्यौँ ।
हामीले आफ्नो पोसाक सवारीसाधनकै छेउमा बदल्यौँ र गर्भनर अफिस पस्यौँ ।
नेपाली दोभासे महिला मित्रले सहजीकरण गरिन् । तर, उनको प्रस्तुति अलि सहज अनुभूत भएन । त्यसपछिको हाम्रो कार्यक्रम हिरोशिमाको शान्ति संग्रहालयको अवलोकनको रहेकोले हामी त्यतै लाग्छौँ ।
सवारीसाधन चौरमा रोकिन्छ । सिँढी चढेर माथ्लो तलामा पुगेपछि ब्रिफिङका लागि तयार रहेका छन्, संग्रहालय प्रमुख – जो जर्मनका लागि जापानी राजदूतबाट सेवानिवृत्त व्यक्तित्व हुन् । हाम्रो सानो माइक्रो स्पिकर छ, सुन्नका निम्ति ।
दोस्रो विश्वयुद्ध अर्थात् मानव विनाशको अर्को लीला । सन् १९४५ को अगस्ट ६ बिहान आठ बजेर पन्ध्र मिनेटमा नजिकैबाट खसालेको एटमबम – जसबाट एक लाख चालिस हजारको तत्काल ज्यान गएको थियो ।
तस्बिर देख्दा पनि आङ सिरिङ्ङ हुने । झन्डै असी वर्षअघिको नरसंहार, कस्तो विद्रुपता ! मानवता हराएकाहरूले निहत्थामाथि गरेको अमानवीय व्यवहार हेर्दै जाँदा मनमस्तिष्क नै गलेर थुचुक्क बस्न पुग्छु म ।
बाहिर नवर्सिजित मानव आधुनिक सहर छ, भित्र विध्वंसले ध्वस्त पारेको वस्तु र मान्छेका अंग टुक्रटुक्रामा विभक्त, रगतैरगतमा लत्पतिएको अवशेष । लाग्छ, चार दशकअघि यहाँ केही भएकै थिएन – सबै कल्पना हो, मिथक हो ! विश्वास र अतीतको भयावह ।
सुख बरु सजिलै बिर्सिएला मान्छेले तर दुःखपीडा भुलेर पनि बिर्सन सक्दैन कसैले । दुखेको बिर्सेला मान्छेले तर दुखाएको कसरी बिर्सन्छ र ?
आज हिरोशिमा आधुनिक सहर बनिसकेको छ । तर, मुटुमा उही निको नहुने बमको छिर्का बोकेर जीर्ण उभिइरहेको छ । विकसित र सम्पन्न भइसक्दा पनि बम विस्फोटको आवाजमा मानव चीत्कार गुन्जिरहेछ ।
बाहिर निकै उज्यालो छ । तर, गर्भमा विनाशको व्यथा छ । संग्रहालयको अवलोकनपछि ज्यान गुमाएकाहरूप्रति समवेदना र पुष्पगुच्छा अर्पण गर्छौं हामी । एक मिनेट मौन धारण गर्दै अघि बढ्यौँ ।
सधैँ सम्झाइरहने खाटा उर्फ संग्रहालयका अगाडितिर रहेको भग्नमहल । हामीले त्यहीँ एउटा कवि सम्मेलन गर्यौँ । यसै ठाउँमा पहिलो कविता सम्मेलन वि.सं. २०६६ सालमा भएको रहेछ ।
कवि विमल भौकाजी, कवि डा. दुबसु क्षेत्री, कवि भरत भारद्वाजलगायत कविहरूले गरेको कविता सम्मेलनको लेख उस बेला प्रकाशित नै भएको थियो ।
त्यसकै १५ वर्षपछि हामी उही ठाउँ उही परिवेशमा उभिएर दोस्रो कविता सम्मेलन गरिरहेका थियौँ । कार्यक्रमको सुरुआतमा जापानका लागि नेपाली राजदूत समेत रहेका कवि दुबसु क्षेत्री (डा. दुर्गाबहादुर सुवेदी)ले हरिभक्त कटुवालको कविता ‘सायद यो मन बरु ढुंगा भए हुन्थ्यो’ वाचन गरे–
मुक्त त ढुंगा हुन्छ
न उसको दुख्ने मुटु हुन्छ
न देख्ने आँखा हुन्छ
कसैले पर्खाल लगाए पर्खाल बन्छ
सडक बनाए सडक बन्छ
सायद त्यसैले त्यसको पूजा हुन्छ
ऊ ईश्वर बन्छ...
यहाँबाट सुरु गरेर कवि दुबसुले आफ्नो कविता ‘क्षितिजको च्याँखे जिन्दगीको जिजीविषाभित्र’ वाचन गरे–
आकाशको
आँचल पक्डेर
आस्थाको सूर्य
धर्तीको छातीमा
फलाउने विश्वासमा
क्षितिज सधैँ भ्रमको च्याँखेमा हुन्छ
जिजीविषा
जीवनको नाभि पक्डन नसकेर
सधैँ भ्रमको भुमरीभित्र हुन्छ ।
कवितावाचनको क्रममा मैले आफ्नो कविता ‘बुद्धको देशबाट’ वाचन गरेँ–
यो शान्तिको प्रार्थनामा जोडिएका हातहरू
मानवताको पक्षमा उभिएका पाइलाहरू
युद्ध र ध्वंसले
बीभत्स मृत्यु भोगेकाप्रति
गाउन सकौँ शान्तिको गीत
ती निर्दाेष, निष्कलंक मान्छेमाथि
कति क्रूर भएरै मार्न तयार
राक्षसी प्रवृत्तिको विरोधमै सही
म निरन्तर स्तव गरिरहेछु
वसुधैव कुटुम्बकम्को मन्त्र
उभिएको आधारभूमि हिरोशिमा उर्फ
एटमबमद्वारा ध्वंस पारिएको सामूहिक चिहानमा
आधा बुद्धको मूर्ति सामुन्ने
जपिरहेछु ॐ शान्ति !...
त्यस्तै, कवि प्रेमबहादुर बस्नेतले ‘हार्दिक श्रद्धासुमन’ शीर्षकको कवितावाचन गरेका थिए, जसभित्र विश्वयुद्धमा मारिएकाहरूप्रति श्रद्धाञ्जलीको भाव जोडिएको थियो–
यो विध्वंसको कहालीलाग्दो भुमरीबाट
कसरी उठ्यो होला मानवता
कहालीलाग्दो चीत्कारको
दारुण परिवेशमा
आज कसरी उभिएको छ यो हिरोशिमा
आफ्नो गर्तमा
अनगिन्ती पीडा लुकाएर
हाँस्ने कोसिस गरेझैँ लाग्दै छ
संग्रहालयभित्रको अशेष वस्तुमा
खोज्दै छ मानवताको अर्थ र परिभाषा
हो, कसैले पनि आइन्दा यस्तो क्रूरता नफ्यालोस्
शान्तिको सन्देश फैलियोस् जताततै
दिवंगत मान्छेहरूमा
मेरो हार्दिक श्रद्धासुमन ।
कवि नवीन गुरुङले आफ्नो देश शान्तिको क्षेत्र र शान्तिका अग्रदूत गौतम बुद्धलाई सम्झँदै ‘शान्तिको सन्देश’ कवितावाचन गरे–
मैले टेकेको यो सूर्योदयको देशमा
म सगरमाथाको देशबाट आएको एक मानव
मानवताको दृष्टिमा सबैलाई ईश्वर देख्छु
मानवताको नातामा सबैलाइै बन्धु सम्झन्छु
यो बन्धुत्वको भावना सबैमा रहिरहोस्
कसैले कसैमाथि नगरून दमन
नगरोस् दुर्व्यवहार
जसरी शान्तिका दूत गौतम बुद्धले फैलाए
अहिंसा परमो धर्म...
अबको पालो कवि राजकुमार बराइलीले कवितावाचन गर्ने थियो । उनले ‘मानवता’ शीर्षकको कवितावाचन गरे ।
मान्छेको सबैभन्दा ठूलो धर्म
मानवताबाहेक केही हुन्न
यो दुःखको महासागरमा
देखेर दर्दपीडा, हेरेर टुक्रिएको हृदयमा
म पटकपटक भावविह्वल भएर रोएँ
कसरी मान्छेले मान्छेलाई मारेर खुसी हुन्छ र
क्षणिक आवेग र उन्मादमा
नगरोस् कसैले हिंसा
हृदयबाटै सबैलाई आग्रह गर्छु म
नबिर्से है मानवता, नबिर्से है मानवता ।
यसरी सुरु भएको कवि सम्मेलनमा हल्का घाम र पानीको वर्षाले स्वागत गरिरहेको छ ।
हिरोशिमाको बमले बनाएको भग्नमहलअगाडि विश्वयुद्धमा ज्यान गुमाएकाहरूप्रति शोकाकुल भएरै हामीले कवितावाचन गर्दै त्यहाँको पीडामा मलम लगाउँदै आफ्ना भाव व्यक्त गर्दछौँ ।
उप्रान्त आफैँलाई सान्त्वना दिँदै मानव भएर कहिल्यै मानवताको उल्लंघन गर्नु हुन्न भन्ने भाव बोकेर उही शान्ति संग्रहालयको नदी किनारको बाटो भएर होटेल फर्किन्छौँ ।
वास्तवमा जिन्दगी हतारमै चलिरहेछ, हामीलाई त्यहँबाट जापानको पुरानो राजधानी क्योटो पुग्न निकै हतार भइरहेको छ अहिले ।