
काठमाडौं । नेपालमा अधिकांश जलनका घाइतेको संक्रमणका कारण मृत्यु हुने गरेको छ । कतिपय बिरामीको भने छाला प्रत्यारोपण गर्न नपाएर पनि अंगभंग तथा मृत्यु भएको पाइन्छ ।
कीर्तिपुर अस्पतालमा मात्रै सन् २०२४ मा जलनका ७५४ जना घाइते भर्ना भएकोमा १०१ जनाको मृत्यु भएको तथ्यांक छ । यसमा प्राथमिक उपचार नपाएको, संक्रमण भएको, गम्भीर जलन भएको लगायतका विविध कारण छन् ।
तर छाला बैंकको अवधारणामा काम गर्न सके धेरै घाइतेलाई बचाउन सकिने र अंगभंग हुनबाट जोगाउन सकिने विज्ञहरू बताउँछन् ।
घाइतेको कुन–कुन भागको छाला प्रत्यारोपण गर्न मिल्छ ?
कीर्तिपुर अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार वयस्क मानिसको तिघ्राको ४ भागको ३ भाग छाला निकालेर बिरामीलाई दिन मिल्छ ।
नेपालमा जलेका बालबालिकामा यो विधि प्रभावकारी भएको पाइएको छ । बिरामी स्वयं तथा परिवार या आफन्तले दान गरेको भागबाट पातलो छाला निकालेर जलेको ठाउँमा प्रत्यारोपण गर्न सकिन्छ ।
नयाँ निकालिएको छालामा प्वाल पारेर तन्काइन्छ र जलेको भागमा प्रत्यारोपण गरिन्छ । यसरी निकालिएको ठाउँमा दुई हप्तापछि नयाँ छाला बन्छ र त्यसलाई पनि फेरि घाउमा प्रत्यारोपण गर्न सकिन्छ । संक्रमण हुन नदिनका लागि दुई हप्तासम्म मृत व्यक्तिको छाला पनि प्रयोग गर्न सकिन्छ ।
जलनका बिरामीलाई अन्य व्यक्तिको छाला दिन मिल्छ ?
बिरामीका परिवारका अन्य सदस्य वा आफन्तको छाला जाँच गरेर बिरामीलाई दिन सकिन्छ । छालादाताको पनि शल्यक्रिया गरेर नै निकाल्नुपर्ने हुन्छ । यसरी शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव हुने घाउमा संक्रमण हुनसक्ने, रगतका नसाहरू बन्द हुन सक्नेजस्ता समस्या दातालाई देखिन सक्छ ।
यसका अलावा बिरामीको छालामा रोगप्रतिरोधी क्षमता बनिसकेपछि दोस्रो व्यक्तिको छालालाई बिरामीको शरीरले चिन्छ र रिजेक्ट गर्न थाल्छ । त्यसैले पनि बिरामीकै अन्य भागबाट निकाल्नु सबैभन्दा उपयुक्त विधि हो ।