
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत पाँचौँ प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपमा तोरणविक्रम शाही लगातार शीर्षस्थानमा कायमै रहन सफल भएका छन् । बिहीबार २–अन्डर ७० को स्कोर गरेका उनी समग्रमा १३–अन्डर २०३ सहित शीर्ष स्थानमा कायमै रहेका हुन् ।
उनले निरज तामाङलाई १ स्ट्रोकले पछि पारे । ४–अन्डर ६८ सहित समग्रमा १२–अन्डर २०४ को स्कोरमा निरज दोस्रो स्थानमा कायमै छन् । अन्तिम १८ होलको खेल बाकी छँदा उनले अग्रता १ स्ट्रोकमा झार्दै लिडर तोरणलाई दबाब दिए ।
दुई एमेच्योर गल्फर राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य दुवैले आज ६–अन्डर ६६ को सानदार प्रदर्शन गरे । समग्रमा ६–अन्डर २१० सहित संयुक्त रूपमा तेस्रो स्थानमा रहेका छन् । एमेच्योरतर्फ उनीहरूले शीर्षस्थान बाँडे । समग्रमा ५–अन्डर २११ बनाएका जयराम श्रेष्ठले आज ४–अन्डर ६८ को स्कोर कार्ड तयार पारे । उनी पाँचौँ स्थानमा रहे ।
नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले ३–अन्डर ६९ को स्कोर निकाले । समग्रमा ४–अन्डर २१२ सहित छैटौँ स्थानमा उक्लिए । आज १–अन्डर ७१ को स्कोरमा समग्रमा ३–अन्डर २१३ सहित दिनेश प्रजापति सातौं स्थानमा छन् ।
सञ्जय लामाले ३–अन्डर ६९ को स्कोर दर्ज गरे । समग्रमा भने २–अन्डर २१४ को स्कोरमा आठौँ स्थानमा रहेका छन् । समग्रमा इभन–पार २१६ स्कोर जोडेका रामे मगर र टंकबहादुर कार्कीले नवौँ स्थान बाँडे । रामेले २–अन्डर ७० र टंकले २–ओभर ७४ को स्कोर निकाले ।
लगातार तेस्रो दिन पनि शीर्षस्थानमा रहने क्रममा तोरणले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । उनले छैटौँ र सातौँ होलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा ११औँ र १२औँ होलमा एक–एक सट बचाए पनि १०औँ र १५औँ होलमा बोगीको सामना गरे । योसँगै ब्याक नाइन इभन–पार ३६ मा सकाए ।
निरजले फ्रन्ट नाइन १–ओभर ३७ मा पूरा गर्ने क्रममा पाँचौँ र साताँ होलमा बोगी प्रहार गरे । आठौँ होलमा एक सट बचाए । तर, उनले ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५–अन्डर ३१ मा सकाए । उनले १२औँ, १५औँ र १६औँ होलमा बर्डी प्रहार गर्दा ४–पारको १८औँ होलमा इगलको सफलता प्राप्त गरे ।
एमेच्योर राहुलले तेस्रो र सातौँ होलमा बर्डी प्रहार गर्दा आठौं होलमा बोगी खेपे । फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए । ब्याक नाइनमा राहुले सानदार प्रदर्शन गरे । १०औँ देखि १२औँ होलमा लगातार तीन बर्डी प्रहार गरे । यसपछि १५औँ र १६औँ होलमा पनि बर्डी प्रहार गर्न सफल रहे । उनले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए । यो नतिजावस उनी संयुक्त रूपमा तेस्रो स्थानमा उक्लिए ।
सद्भावले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । उनले बोगीरहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो, पाँचौँ, छैटौँ र सातौँ होलमा बर्डी प्रहार गरे । यसपछि १३औँ होलमा बोगी खेपे पनि ११औँ, १२औँ र १८औँ होलको बर्डीले ब्याक नाइन २–अन्डर ३४ मा सकाए । प्रतियोगिताको कुल नगद पुरस्कार राशी आठ लाख ८२ हजार रुपैयाँ रहेको छ । विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ स्थानसम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।