site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

सरकारी संयन्त्रको विफलताबाट आजित र आक्रोशित जनतामा सबैभन्दा बढी वितृष्णा राजनीतिक दलका नेताहरूप्रति देखिन्छ । नेताहरूप्रतिको जनआक्रोश धेरैजसो शासन व्यवस्था र यदाकदा त लोकतन्त्रप्रति नै वितृष्णाका रूपमा प्रकट हुनेगरेको छ ।

जनतामा बढ्दै गएको असन्तुष्टि र आक्रोशको आगोमा घ्यु थप्ने काम भने मूलतः राजनीतिक दलका नेताले नै गर्ने गरेका छन् । प्रतिस्पर्धी राजनीतिक दल वा तिनका नेताप्रति सार्वजिनकरूपमै गरिने छुद्र राजनीतिक टिप्पणी सुन्दा प्रायः श्रोतालाई नै लाज लाग्छ ।

सरकार सामाजिक सञ्जालबाट हुने अराजक, असत्य एवं अश्लील टिप्पणीबाट समाजमा पर्ने नकारात्मक असर नियन्त्रण गर्न अभिव्यक्ति स्वतन्त्रताकै सीमा खुम्च्याउन उद्यत देखिएको छ । यथार्थमा सामाजिक सञ्जालका ‘छुद्र’ टिप्पणीहरूको उत्प्रेरक भने राजनीतिक दलका नेताहरूको उत्तेजक कथन नै हुन् ।

पक्कै पनि राजनीतिक नेताहरू विशेषगरी विपक्षी दलका नेताले सरकारको आलोचना गर्नुपर्ने हुन्छ । सरकारको गल्ती र बदमासीको मात्रा हेरेर कडा शब्दमा चेतावनी पनि दिनुपर्छ । तर, यस्तो विरोध र चेतावनी सभ्यताको हद पार नगरी पनि दिन सकिन्छ भन्ने हेक्का नेताहरूले भने कहिल्यै राखेको देखिँदैन । 

केही वर्ष यता यसरी सार्वजनिक मञ्चबाटै छुद्रताको सीमा नाघिएको र राजनीतिक दलका नेताले त्यस्तै कथनमा ताली बजाएको विद्रुप दृश्य दोहोरिने गरेको छ । तिनै वचन र दृश्यलाई बिगारेर सामाजिक सञ्जालमा घृणा र द्वेष चर्काउन बारम्बार प्रयोग गरिएको पाइन्छ ।

अर्थात्, नेताहरूको उत्तेजक छुद्र अभिव्यक्ति अन्ततः उनीहरूविरुद्ध नै प्रयोग भइरहेको छ । विडम्बना, तैपनि राजनीतिक दलका नेताहरू चेतेका छैनन् । कुनै दिन नेताहरूको छुद्र अभिव्यक्तिले बढाउने वितृष्णा र द्वेषको दुःखद परिणाम देशले नै भोग्नुपर्ने हुनसक्छ ।

नेताहरूको गैरजिम्मेवार अभिव्यक्तिले द्वेष र घृणा बढाउन त सक्छ तर साम्य पार्न सक्तैन । यसैले राजनीति गर्नेहरू र तिनमा पनि जनताले मत दिएकाहरू थप संवेदनशील र जिम्मेवार हुनुपर्ने हो । दुर्भाग्य, नेपालका राजनीतिक नेताहरूमाथि भने ‘तित्राको मुखै बैरी’ भन्ने कथन चरितार्ग हुनेगरेको छ । 

जनमानसमा ‘भुसको आगो’ जसरी सल्कँदै गएको आक्रोश र वितृष्णाको लप्कोले सबैभन्दा पहिले भेट्ने राजनीतिक दलका नेताहरूलाई नै हो । अर्को नेताविरुद्ध फैलाएको द्वेषको विषबाट आफू पनि जोगिन सकिँदैन भन्ने सत्य आत्मसात गरी राजनीतिक दलका नेताहरूले कम्तीका सार्वजनिक मञ्चमा जिम्मेवारी र भद्रताको हेक्का राखून् !

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro