
काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६२औँ वार्षिकोत्सवको अन्तिम पूर्वाभ्यास सम्पन्न गरेको छ । सेनाले आज सोमबार सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८१को अन्तिम पूर्वाभ्यास सम्पन्न गरेको हो ।
प्रधानसेनापति अशोकराज सिग्देलले उक्त कार्यक्रमको पूर्वाभ्यास निरीक्षण गरे । कार्यक्रममा उनले चरक वाहिनीलाई युनिटलाई झण्डा प्रदान गरे भने मध्य पूर्वी पृतनालाई पुरस्कृत गरे । मध्य पूर्वी पृतना केन्द्रीय तहको युद्धकार्य तयारीपन निरीक्षण–२०८१ मा सर्वोत्कृष्ट भएको थियो ।
सो अवसरमा उनले प्रकृति संरक्षण ट्रफी प्रतियोगिताअन्तर्गत गण तथा गुल्म तहमा प्रथम हुन सफल चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गण र ढोरपाटन सिकार आरक्ष सुरक्षार्थ तैनाथ देवीबक्स गुल्मलाई प्रकृति संरक्षण ट्रफी तथा नगद पुरस्कार प्रदान गरे ।
त्यस अवसरमा प्रधान सेनापतिले सेना दिवस–२०८१ को उपलक्ष्यमा प्रधानसेनापति प्रशंसा निशान प्राप्त गर्ने रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गर्नुका साथै मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका पदिकहरुलाई दर्ज्यानी चिह्न प्रदान गरे ।
कार्यक्रममा प्रधानसेनापतिले अवकाशपश्चात् पनि विभिन्न तवरबाट समाजमा पुर्याएको योगदानको कदरस्वरूप उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारजनलाई समेत पुरस्कृत गरेका थिए ।
नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । यस वर्षको सेना दिवस–२०८१ फाल्गुण १४ गते महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइँदै छ ।
सो कार्यक्रममा नेपाली सेनाका साथै संयुक्त राज्य अमेरिका, बेलायत र भारतीय सेनाका ब्यान्ड टोलीबाट संयुक्त सांगीतिक प्रस्तुति हुनेछ ।