site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गल्लीमा ढुंगा बिछ्याउन २८ करोड खर्चिंदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा मार्ग र गल्लीमा ढुंगा बिछ्याउने कामका लागि झन्डै २८ करोड रुपैयाँ खर्च गर्ने भएको छ । सार्वजनिक निर्माण विभागले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा ढुंगा बिछ्याउन २८ करोड १५ लाख रुपैयाँ खर्च गर्न लागेको हो ।

सुरुमा २९ करोड ४७ लाख ८८ हजार ८५९ रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, सार्वजनिक खरिद प्रक्रियाबाट २८ करोड १४ लाख ९२ हजार ४२७ रुपैयाँमा काम सक्ने गरी निर्माण पक्षसँग सम्झौता भएको महानगरले जनाएको छ ।

महानगरका अनुसार, वडा नम्बर ६, ८, १२, २१, २६ र २७ गरी ६ वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा ढुंगा बिछ्याउने काम सुरु भइसकेको छ ।

सार्वजनिक खरिद प्रक्रियाबाट सातवटा प्याकेजमा आठवटा योजना कार्यान्वयन ल्याइएकामा पाँचवटा योजना सम्पन्न भइसकेको छ ।

सम्पन्न पाँचवटा योजनावाट १० हजार ७२९ वर्गमिटर क्षेत्रमा ढुंगा बिछ्याइसकिएको छ । यसअन्तर्गत, वडा नम्बर ८ को जयबागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको एक हजार ४८५ वर्गमिटर मार्गको काम सकिएको छ ।

यसको लागत एक करोड २६ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ । वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको एक हजार ८२५ वर्गमिटर मार्गमा ढुंगा बिछ्याइसकिएको छ । यसको लागत एक करोड ५४ लाख ६८ हजार ८०० रुपैयाँ छ ।

वडा नम्बर २१ को लगन चोकमा दुई हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । यसको लागत एक करोड ३६ लाख २९ हजार ७२७ रुपैयाँ छ ।

वडा नम्बर २६ को कुमारीकृपा मार्गको एक हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा ५२० वर्गमिटर क्षेत्रको काम सम्पन्न भएको छ । यी दुईवटा सडकलाई एउटै प्याकेजमा काम गरिएको हो । यसको लागत ४४ लाख ८७ हजार ६०० रुपैयाँ छ ।  

सम्पन्न योजनाका लागि महानगरपालिकाले अहिलेसम्म चार करोड ६२ लाख ४६ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको छ ।

जमलदेखि असन हुँदै इन्द्रचोकसम्मको ढुंगा छाप्ने काममा कमलाछी क्षेत्रमा काम सम्पन्न भएको छ । भोटाहिटी असन हुँदै इन्द्रचोकसम्मको निर्माण काम भइरहेको छ ।

असनदेखि वीर अस्पताल, महाबौद्ध हुँदै चित्तधर मार्ग र हनुमान ढोका दरबार क्षेत्रमा विद्युत् भूमिगत गर्ने कार्यसँग समन्वय भइरहेको छ । बिजुलीको तार भूमिगत गरेपछि ढुंगा बिछ्याउने काम सञ्चालन गरिनेछ ।

सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदलयात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुंगा बिछ्याउने काम भइरहेको महानगरले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro