काठमाडौं । म्यानमार काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा किर्गिस्तानलाई ५–० गोल अन्तरले पराजित गर्दै म्यानमार एक खेलअगावै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
म्यानमारलाई जित दिलाउन योन वादी र मे हिइत लुले दुई–दुई गोल गरे भने सानदार लिनले एक गोल गरिन् । योनले दोस्रो मिनेटमै म्यानमारलाई आग्रता दिलाएकी थिइन् ।
सानदार लिनले खेलको ३०औँ मिनेटमा गोल गरिन् । त्यस्तै, खेलको ३६औँ मिनेटमा मे हिइत लुले गोल गरिन् भने पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा योनले व्यक्तिगत दोस्रो गरिन् । त्यस्तै, दोस्रो हाफको ४९औँ मिनेटमा मे हिइत लुले अर्को गोल गरेकी थिइन् ।
यसअघि पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । पराजित किर्गिस्तान उपाधि होडबाट बाहिरिएको छ ।