site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
प्रकृति लम्सालको मृत्युको विषय उठ्यो ओडिसा विधानसभामा

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको नेपाली छात्राको मृत्यु विषय ओडिसा विधानसभामा प्रवेश गरेको छ ।

ओडिसा विधानसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले केआईआईटीको गर्ल्स होस्टेलमा फेब्रुुअरी १६ मा मृत अवस्थामा भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको विषय उठाएका हुन् ।

शून्य समयमा बोल्दै भारतीय कंग्रेसका सांसद ताराप्रसाद बहिनीपतिले केआईआईटी विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु भएकोमा चिन्ता व्यक्त गरेका थिए ।

उनले नेपाल र ओडिसाबीचको ऐतिहासिक सम्बन्धलाई जोड दिँदै घटनाको न्यायिक अनुसन्धानको माग समेत गरेका थिए ।

बहिनीपतिले नेपाली बालिकाको आत्महत्याबाट मृत्यु भएको आशंका गरिएको घटना र नेपालका धेरै विद्यार्थीहरूमाथि केआईआईटी कर्मचारीहरूले आक्रमण गरेको आरोप लगाइएको घटनाको न्यायिक अनुसन्धानको माग गरेका थिए ।

केआईआईटीका कारण ओडिसा अहिले लज्जित हुनुपरेको उनले बताएका थिए । उनले नेपाल र ओडिसाको सांस्कृतिक सम्बधको उल्लेख गर्दै भगवान जगन्नाथको कस्तुरी नेपालबाट आएको जनाए ।

“नेपालका विद्यार्थीहरूलाई ओडिसामा दुर्व्यवहार गरिएको पाउँदा हामीलाई दुःख लाग्छ । हाम्रो राज्यको नेपालसँग लामो समयदेखिको सम्बन्ध छ । केआईआईटी अधिकारीहरूले गरेको व्यवहारले ओडिसाको नेपालसँगको सम्बन्धमा तनाव उत्पन्न भएको छ,” बहिनीपतिले भने ।

कांग्रेसका सांसदहरूले यदि मुख्यमन्त्रीले घटनाको न्यायिक अनुसन्धानको आदेश नदिएमा विधानसभामा धर्ना दिने धम्की पनि दिएका छन् ।

शून्य समयमा बिजु जनता दल (बीजेडी)का सांसद पीके देबले पनि नेपाली छात्राको मृत्यु र त्यसपछिको घटनाले राज्यलाई लज्जित बनाएको बताएका थिए । “घटनाले अन्तर्राष्ट्रियस्तरमा ओडिसाको नामलाई बदनाम गरेको छ,” देबले भनेका थिए ।

उक्त घटना राज्यमा भारतीय जनता पार्टीको शासनकालमा बिग्रँदै गएको कानुनी व्यवस्थाको अवस्थाको परिणाम भएको उनले बताए ।

भारतीय कंग्रेसका सांसद रामचन्द्र कदमले नेपालका विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारप्रति चिन्ता व्यक्त गरेका थिए । “यो दुर्भाग्यपूर्ण घटना हो र यसलाई कसैले पनि स्वीकार गर्नुहुँदैन,” कदमले भने ।

केआईआईटीको गर्ल्स होस्टेलमा आइतबार (फेव्रुअरी १६) बी.टेक तेस्रो वर्षमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

विश्वविद्यालयको लापरवाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रिजस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो ।

त्यसपछि सोमबार दिउँसो केआईआईटी विश्वविद्यालयमा अध्ययनरत ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो र उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको थियो ।

सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले दुर्व्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।

गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)लाई प्रकृतिले आफूमाथि दुर्व्यवहार भएको रिपोर्ट गरेकी थिइन् । तर विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको दाबी गरिएको छ ।

उक्त घटनाको भारत र नेपालमा व्यापक आलोचना भएपछि विश्वविद्यालय प्रशासनले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीलाई होस्टलमा फर्कन आग्रह गरेको थियो ।

भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयले मंगलबार एक सूचना जारी गर्दै नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने दुई सुरक्षा कर्मचारी, दुई होस्टेल र एक प्रशासन अधिकारीलाई कारबाही गरेको जनाएको छ ।

केआईआईटीले आफ्ना दुई सुरक्षा कर्मचारीलाई बर्खास्त, दुई होस्टेल अधिकारीलाई र एक प्रशासन अधिकारीलाई निलम्बन गरिएको जनाएको छ ।

क्याम्पसका कर्मचारीहरू नेपाली विद्यार्थीलाई सकेसम्म छिटो क्याम्पसमा फर्काउन सक्रिय भएर लागिरहेको जनाइएको छ । यसैबीच केआईआईटीका उपकुलपतिले पनि मंगलबार एक क्षमायाचना पत्र जारी गर्दै नेपाली विद्यार्थीसँग माफी मागेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro