
काठमाडौं । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता फागुन दोस्रो सातादेखि हुने भएको छ । आयोजक ललितपुर टेबलटेनिस क्लबले मंगलबार पत्रकार सम्मेलन आयोजन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
आयोजकका अनुसार, प्रतियोगितामा पुरुष, महिला, यू–१६ र भेट्रान्सतर्फ कुल नौ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यस्तै, प्रतियोगितामा भारतको टोलीले समेत सहभागिता जनाउने छ । भारत र नेपालबाट प्रतियोगितामा कुल ८४ पुरुष, ४८ महिला गरी जम्मा ४०२ खेलाडी सहभागी हुनेछन् । प्रतियोगिता नौ विधामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान्स एकल (४० वर्षभन्दामाथिका), महिला भेट्रान्स एकल, पुरुष एकल भेट्रान्स (५५ वर्ष भन्दामाथि) यू–१६ ब्वाइज र गर्ल्स छन् ।
प्रतियोगिताको महिला र पुरुषतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, दुई सेमिफाइनललिस्टले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, यू–१६ एकल विधामा प्रथम र द्वितीय हुनेले क्रमशः २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, दुई सेमिफाइनलिस्टले समान पाँच हजार रुपैयाँ पाउने छन् । भेट्रान्सतर्फ प्रथम, दोस्रो र सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमले क्रमशः १० हजार, पाँच हजार, तीन हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट २४ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका सबै खेलहरू लैनचौरस्थित राष्ट्रिय टेलबटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।