site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दरबारमार्गमा ग्रेनाइट, आफ्नै बोलीविरुद्ध उभिए बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चुनावअघि भनेका थिए– काठमाडौंका लागि मार्वल, टायल तथा कंक्रिटका संरचना उपयुक्त छैन ।  यहाँ त भक्तपुरको जस्तो मौलिक र परम्परागत शैलीमा विकास निर्माणका काम गरिनुपर्छ । बालेनले बोलेका ती भिडियो क्लिप हाल सामाजिक सञ्जालमा भाइरल छ । 

बालेनले भनेका थिए, “तपाईंले यी कुरा नबुझिकनै रिकन्स्ट्रक्सन गरिदिनुहुन्छ । मोर्डन देखिन्छ भनेर बबाल खालको टायल लगाइदिउँ, मार्बल लगाइदिउँ भनेर भएन नि त ! मार्बल किन लगााइँदैनभन्दा यो चिसो ठाउँ हो । यहाँ खुट्टा ठिहिर्‍याउँछ, तपाईं हिँड्नै सक्नुहुन्न । इट्टा त त्यति चिसो हुँदैन नि त !”

तर, मेयर भएको करिब साढे दुई वर्षपछि उनै बालेनले दरबारमार्गको फुटपाथमा ग्रेनाइट बिच्छ्याएका छन् । बालेनको आफ्नो भनाइ विपरीतको यो पहिलो कदम भने होइन । मेयर हुनुअघि बालेनले सुन्धारास्थित धरहराको संरचनामा पनि गम्भीर विमति जाहेर गरेका थिए । 

बालेनले भनेका थिए– “त्यसलाई धरहरा भन्न चाहन्छ, त्यो कंक्रिटको सेतो टावर हो ।” धरहरा निर्माण सम्पन्न भइसकेपछि भने बालेनले आफूले सञ्चालन गर्न पाउनुपर्ने दाबी गरेका थिए । तर, केन्द्र सरकारले उनको दाबीलाई बेवास्ता गरिदियो । 

यी दुई कुराले नै पुष्टि गर्छ की बालेन आफ्नै बोलीमा अडिग छैनन् । बोलीमा एक र काममा अर्को गर्दा मेयर बालेन ओलोचित बन्नुपरेको हो ।

आफूले चुनावी एजेन्डा नै बनाएको विषयको ठिक विपरीत काम गर्दा सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । 

grenite2-1739871667.JPG
राप्रपाका नेता रवीन्द्र मिश्रले बालेनलाई व्यङ्ग्य गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । “बालेनजीको भनाइमा शतप्रतिशत सहमति जनाउन चाहन्छु । दरबारमार्गको फुटपाथमा प्रयोग भएको ग्रेनाइटबारेको मेरो भिडियो कतिपयलाई बालेनजीको विरोध गरेझैँ लागेछ । त्यो भिडियो बालेनजीको सोचप्रति जनाइएको पूर्ण समर्थन थियो, नपत्याए यो भिडियो हेर्नुहोस् । उहाँले जे भन्नुभएको छ, मैले अलि फरक भाषामा त्यही भनेको थिएँ,” उनले लेखेका छन्, “त्यसैले दरबारमार्गको फुटपाथमा ग्रेनाइटको प्रयोग प्राविधिक, (नेवाः) वास्तुकलात्मक, वातावरणीय र सुरक्षा, कुनै पनि दृष्टिकोणबाट ठिक छैन । दरबारमार्गका व्यावसायीहरूले विचार गर्नुहोला ।”

दरबारमार्गको ग्रेनाइटले बहस नै सृजना गरेको पनि मिश्रले बताए । “काठमाडौं उपत्यकामा नेवाः संस्कृति र सभ्यताको पुनर्जागरण अत्यावश्यक छ । यो सहरको आधुनिकताले नेवाः संस्कृति र सभ्यतासँग तादात्म्य राख्नुपर्छ । पश्चिमा आधुनिकताबाट यो उपत्यका ‘विशिष्ट’ बन्नै सक्दैन,” उनले लेखेका छन् । 

काठमाडौंमा नेवाःको अस्तित्वको क्षयीकरण भएको र काठमाडौं कंक्रिटको कुरुप जंगल बनाइएको मिश्रको भनाइ छ । विदेशमा भत्किएको पुरानो घरलाई पुरानै शैलीमा बनाइने गरेको पनि मिश्रले बताए । 

पूर्वाधारविद् आशिष गजुरेलले महानगरको सो कामलाई दुई पक्षबाट नियालेको बताए । उनले यस्तो ग्रेनाइट बिच्छ्याउँदा अन्य ब्लग जसरी सजिलैसँग वाटर ‘डिस्चार्ज’ नहुने बताए । “यस्तो खालको ग्रेनाइट बिच्छ्याउँदा जमिनमुनि वाटर डिस्चार्ज नहुने समस्या हुन्छ । त्यस्तै, पानी परेको बेलामा अरु ब्लगभन्दा बढी चिप्लिने हुँदा जोखिम त छँदैछ,” उनले भने । 

महानगरसँग पैसा छ, प्रतिस्पर्धात्मक रूपमा काम गर्छुभन्दा गलत हुने उनले बताए । “महानगरले राजधानी बनाउँछुभन्दा गलत पनि छैन । यस्तो ग्रेनाइट फुट्ने जोखिम पनि हुँदैन,” गजुरेलले बाह्रखरीसित भने । 

काठमाडौंका सडकमा फुटपाथ विस्तार गर्नुपर्ने ठाउँ हुँदाहुँदै ग्रेनाइट टायल बिच्छ्याउने काम सुरु गरेको पनि बताए । काठमाडौंका २०/२५ प्रतिशत मात्रै फराकिलो फुटपाथ भएकाले त्यतातिर ध्यान पुर्‍याउनुपर्ने गजुरेलको भनाइ छ । 

व्यापारिक क्षेत्र भएकाले दरबारमार्गमा ‘व्युटिफिकेसन’का लागि ग्रेनाइट बिछ्याइएको महानगरको दाबी छ । आफ्नो पाइलट प्रोजेक्टको रूपमा दरबारमार्ग क्षेत्रमा ग्रेनाइट बिच्छ्याउने काम अगाडि बढाएको जिकिर महानगरको छ । 

मेयरको पुरानो भिडियोलाई लिएर अनावश्यक विरोध भइरहेको महानगरले जनाएको छ । मेयर बालेनका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले सामाजिक सञ्जालमा भइरहेको आलोचनालाई सामान्य रूपमा लिएको बताए । उनले मेयर बालेनले चुनावअघि बोलेअनुसार नै काम गरिरहेको दाबी गरे । 

“हामीले सातवटा सम्पदा क्षेत्र छुट्याएर सो क्षेत्रमा इँटा नै प्रयोग गरेका छौँ । दरबारमार्ग त्यसै पनि विदेशी प्रकृतिको छ । त्यसैले पनि ग्रेनाइट टायल बिच्छ्याएका हौँ,” लम्सालले भने, “ग्रेनाइट कंक्रिट होइन । वाटर रिचार्ज हुने कुरा फुटपाथमा केही हुँदैन । यहाँका ढुंगेधाराहरूमा पानी आउन थालेका छन् । त्यस्तै, हिटीहरू व्युँताउँदैछौँ ।”

grenite1-1739871666.JPG
काठमाडौंका विभिन्न ठाउँका फुटपाथ बनाइरहेको र दरबारमार्गको हकमा स्थानीयको मागअनुसार काम गरेको महानगरको दाबी छ । 

मेयर बालेनका प्रेस संयोजक सुरेन्द्र बजगाईंले चौतर्फी आलोचना भएअनुसार सम्पदा क्षेत्रलाई नै मास्नेगरी महानगरले काम नगरेको दाबी गरे । व्यापारिक क्षेत्र भएकाले यस्तो ग्रेनाइट बिच्छ्याउँदा झनै आकर्षक बन्ने उनको भनाइ छ । 

उनका अनुसार त्यहाँ ग्रेनाइट बिच्छ्याउने कामअन्तर्गत हाल फुटपाट भत्काउने, साइट क्लियर गर्ने, खुल्ला ढललाई हटाएर डीडब्लूसी पाइप हाल्ने काम भइरहेको छ । ९०० मिटर ढल विस्तार गर्ने काम पनि यसैअन्तर्गत पर्ने महानगरले जनाएको छ ।  

ग्रेनाइट भनेको एक प्रकारको ढुंगा हो । जुन ढुंगा भारतबाट ल्याइएको उनले बताए । सामाजिक सञ्जालमा आलोचना भएअनुसार यो ग्रेनाइट नचिप्लिने उनले बताए ।  यो ढुंगा चिप्लिदैन । यस्तो ढुंगा चिप्लिने र नचिप्लिने दुवै प्रकारको हुन्छ । यस्तो ग्रेनाइट अरु सडकमा नराख्ने महानगरले जनाएको छ ।

२०८०/८१ को कार्यक्रमअनुसार महानगरले दरबारमार्ग क्षेत्रको १८७७ वर्गमिटर क्षेत्रमा ग्रेनाइट बिच्छ्याउने योजनाका लागि कुल पाँच करोड १४ लाख ७६ हजार ५७ रुपैयाँ छुट्याएको थियो । 

फुटपाथको लम्बाई ८०० मिटर कायम गरिने महानगरले जनाएको छ । महानगरले ग्रेनाइट बिच्छ्याउने काम गत माघ १५ गतेदेखि सुरु गरेको थियो । जसअनुसार ०८२ साउन मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्नेछ । 

बालेनले बोलेको बाँकी भाइरल क्लिप यस्तो छ
इट्टामा तपाईं खाली खुट्टा नै हिँड्नुभयो भने पनि त्यति चिसो हुँदैन । काठमाडौं भनेको चिसो ठाउँ हो नि त ! यहाँ प्लानिङ भएको सबै चिज साइन्टिफिक थियो । यहाँको पोखरी, मन्दिर, स्तुपा र चैत्यहरू सबै साइन्टिफिकल्ली यहाँनेर सबै मेन्टेन, टेक्नोलोजी र साइन्सको कुरा गर्नुहुन्छ भने यहाँ हाइ लेभलको प्रविधि र साइन्सलाई बुझेर कसैले यहाँ इन्जिनियरिङ गर्छ, आर्किटेक्चरको डिजाइन गर्छ भने यो सबै बुझेर गर्नुपर्‍यो । 

अब टुरिजम बढाउन तपाईं न्युरोड जानुहुन्छ । सिसा र एसी लगाएको छ, के लगाएको छ । त्यहाँनेर फसाडहरूमा इट्टा र काठ एक्पोज हुनेगरी राखेको भए त्यहाँनेर तपाईंलाई गएपछि फर्कन मन लाग्दैन थियो नि ! अहिले त कतिखेर काम सकौँ र न्युरोडबाट फर्कौ जस्तो हुन्छ । त्यहाँनेर हाम्रो कल्चर नै प्रिजर्भ भएन नि त ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro