काठमाडौं । ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत् आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ ।
सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी प्राली र नेपाल विद्युत् प्राधिकरणबीच कनेक्सन एग्रिमेन्टमा हस्ताक्षर भएको हो । आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मध्य घुन्सा खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन २२०/१३२ केभी हाङपाङ सब–स्टेसनमा जोडिने कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाले बताए ।
त्यसका लागि आयोजनाले साढे ६ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारणलाइन निर्माण गर्नेछ । त्यसमा १३२/२२० केभीएको ट्रान्सफर्मर जडान गरी प्राधिकरणको प्रणालीमा २२० केभीमा विद्युत् प्रवाह गर्नेछ ।
ताप्लेजुङको फत्तालुङ गाउँपालिकामा निर्माण हुने आयोजना सन् २०२६ मा निर्माण सुरु गरी सन् २०२९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख उज्वल श्रेष्ठले जानकारी दिए ।
ग्रसहेड १५८ मिटर रहेको आयोजनाको डिजाइन डिस्चार्ज २२.६ रहेको छ । तीन किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने आयोजनाको १७५० मिटर टनेल र २५० मिटर पेनस्टक पाइप रहनेछ । आयोजनाको विद्युत् गृह अर्धभूमिगत रहनेछ भने विद्युतगृहमा १५.१२ मेगावाट क्षमताका दुईवटा टर्बाइन रहनेछन् । आयोजनाले वार्षिक रुपमा १७५ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ ।