site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

विपन्न मिर्गौला रोगीहरूलाई निःशुल्क ‘डायलिसिस’ सेवा उपलब्ध गराउने पवित्र उद्देश्य राखेर रूपन्देहीका नागरिकहरूले आर्थिक स्रोत जुटाउने प्रयास थालेका छन् । सामुदायिक स्तरबाट थालिएको यस प्रयासमा सहयोग जुटाउने उद्दश्यले आयोजित ‘महायज्ञ’बाट ६६ लाख रूपियाँ सङ्कलनसमेत गरिएको छ ।

रहनसहन र आहारविहारमा परिवर्तन भएसँगै मिर्गौला रोगीको सङ्ख्या पनि बढ्दै गएको छ । तर, त्यसअनुपातमा राज्यले उपचारको पर्याप्त सुविधा उपलब्ध गराउन सकेको छैन । अर्कातिर, मिर्गौलाको उपचार अपेक्षाकृत महँगो हुने भएकाले पनि विपन्न जनताको पहुँचमा हुँदैन । 

मिर्गौला रोगको उपचारमा मूलतः प्रत्यारोपण र डायलिसिस गर्ने गरिन्छ । यी दुवै सेवा महँगा हुन्छन् । विपन्नमात्र होइन निम्नमध्यम वर्गका नागरिकको समेत उपचार गर्न नसकेर मृत्यु हुने वा घरखेत बेचेर उपचार गराउनुपर्ने अवस्था हुन्छ ।

सम्भवतः यही करुणाजनक अवस्थाबाट द्रवीभूत भएर नै रूपन्देहीका अग्रणी समाजसेवीहरूले विपन्न नागरिकलाई निःशुल्क डायलिसिस सेवा उपलब्ध गराउने अनुष्ठान थालेका हुन् । उनीहरूको अभियानमा स्थानीय जनताबाट दिइएको साथ पनि उत्तिकै सराहनीय छ ।

यथार्थमा निजी क्षेत्रको महँगो उपचार सेवाको विकल्प र अपर्याप्त सरकारी स्वास्थ्य सेवाको पूरकका रूपमा सामुदायिक क्षेत्रबाट सेवा उपलब्ध गराउने प्रयासहरू भइरहेका छन् । यस्ता प्रयासलाई राज्य र निजी क्षेत्रले पनि भरथेग गरेका शिक्षामा जस्तै स्वास्थ्य सेवामा पनि उल्लेखनीय सहयोग हुनसक्छ ।

सरकारी क्षेत्रको भन्दा सहज र गुणस्तरीय तथा निजी क्षेत्रका तुलनामा सस्तो उपचार सेवा उपलब्ध गराउन विकसित देशहरूमा वैयक्तिक वा सामुदायिक गुठीहरू स्थापना गरिएका हुन्छन् । नेपाली समाजमा प्रचलित ‘गुठी’को प्रकृतिका त्यस्ता प्रतिष्ठान राज्य र व्यावसायिक क्षेत्रको समेत सहयोगमा सञ्चालन गरिएको हुन्छ । 

रूपन्देहीमा प्रस्तावित मिर्गौला उपचार तथा डायलिसिस केन्द्र पनि समुदायबाटै स्रोत जुटाएर सञ्चालन गर्ने लक्ष्य राखिएको देखिन्छ । यसैले संघ र प्रदेश सरकारका साथै स्थानीय तहले पनि आआफ्नो तहबाट हुनसक्ने सहयोग जुटाएर समाजसेवीहरूको सपना चरितार्थ गर्न सहयोग गर्नुपर्छ ।

रूपन्देही देशको प्रमुख औद्योगिक व्यावसायिक केन्द्रमध्येको पनि हो । यसैले यहाँका व्यवसायीहरूले पनि उदार मनले यस पुनीत कार्यमा सहयोग गर्ने अपेक्षा राखिएको हुनुपर्छ । व्यावसायिक प्रतिष्ठानले व्यावसायिक सामाजिक उत्तरदायित्व ९कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी०अन्तर्गत यस केन्द्रको स्थापनाका साथै सञ्चालनमा पनि सहयोग गर्नु उपयुक्त हुने देखिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro