site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : खोजी पहिलो उपाधिको

काठमाडौं । नेपाली खेलकुदको इतिहास पल्टाउँदा सबैभन्दा पीडादायी कथा छ, राष्ट्रिय महिला फुटबल टोलीको ।

सन् १९८० को दशकदेखि अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय नेपाली महिला टिम आजको दिनसम्म १२ पटक फाइनलमा चुनौती प्रस्तुत गरिसकेको छ । तर, यी एक दर्जन प्रतियोगितामा नेपालले एकपटक पनि उपाधि चुम्न सकेन । उपविजेताको मेडल नेपाली महिला टिमका निम्ति सबैभन्दा भारी पदक बनेको छ ।

घरेलु मैदानमै सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग बेहोरेको २–१ को हारले एक वर्ष पनि छोइसकेको छैन । भनौँ, त्यो हारको चोट नेपाली टिमबीच अझै आलो नै छ ।

यही पीडाबीच सोमबार (आज)देखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप घरमै राख्ने लक्ष्यसहित मैदान उत्रिँदैछ । जसमा सहभागी छन्, नेपालसँगै कीर्गिस्तान, लेबानन र म्यानमार ।

प्रतियोगितामा नेपालले सोमबार कीर्गिस्तानविरुद्ध खेल्दै उपाधि खडेरी तोड्ने यात्रा सुरु गर्दै छ ।

“साफलगत्तै अर्को प्रतियोगिता खेल्न पाएका छौँ । यो हाम्रो लागि ठूलो अवसर हो र फुटबल समर्थकका निम्ति पनि । तयारी राम्रो छ । टिमको मनोबल पनि उच्च छ,” प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले तयारीबारे भनिन् ।

Angila-subba-1739724190.jpg
यसै वर्ष भदौमा घरमै भएको साफअघि एन्जिलाको दाबी थियो, यसपटक नेपाली टिमले उपाधि जित्छ । प्रतियोगितामा नेपाली टिमको प्रदर्शनले पनि कप्तानको दाबीलाई न्याय गरेको थियो । तर, फाइनलमा महिला फुटबलतर्फ दक्षिण एसियाकै ‘पावर हाउस’ बन्ने बाटोमा हिँडिरहेको बंगलादेशसामु नेपाली टिमको जोर चलेन ।

त्यही प्रतियोगिताबाट नयाँ सिकाइ पाएकी एन्जिलाले आइतबारको पत्रकार सम्मेलनमा नेपालको उपाधि सम्भावनाबारे कूटनीतिक शैलीमा प्रतिकृया दिइन् ।

“प्रतियोगितामा सहभागी सबै टिम बलियो नै छन् । हामीले जित्छौँ भनेर बोल्नुभन्दा पनि मैदानमा गरेर देखाउनु छ,” एन्जिलाले भनिन् ।

यस्तो छ ११ फाइनल यात्रा
नेपालले सन् १९८६ को डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । हङकङविरुद्ध पहिलोपटक अन्तर्राष्ट्रिय खेलको अनुभव लिएको नेपालले त्यसयता महिला फुटबलमा उल्लेखनीय प्रगति गर्न सकेको छैन ।

पहिलो अन्तर्राष्ट्रिय खेलदेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपसम्म नेपालले ३८ वर्षमा कुल १२ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिसक्यो । तर, सधैँ उपविजेता ।  

नेपालले हालसम्म ६ पटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप, एकपटक नादेज्दा कप र एक पटक वाफ महिला च्याम्पियनसिपको फाइनल खेले पनि सबैमा हार बेहोरेको छ । १२ फाइनल खेल्दा नेपालले सातपटक भारतसँग हार बेहोरेको छ । यसबाहेक, बंगलादेशसँग दुईपटक हार बेहोर्दा म्यानमार, ताजिकिस्तान र जोर्डनसँग नेपालले समान एकपटक फाइनलमा हार बेहोरेको छ ।

सन् २०१० मा नेपालले दुई प्रतियोगिताको फाइनल गुमायो । नेपालले २०१० को जनवरीमा दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग ३–१ को हार बेहोर्‍यो । सोही वर्षको डिसेम्बरमा भएको साफ च्याम्पियनसिपमा नेपाल पुनः भारतसँग १–० ले पराजित भयो ।

त्यसपछि नेपालले सन् २०१२ र २०१४ को साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग क्रमशः ३–१ र ६–० को हार बेहोर्‍यो । सन् २०१६ मा साग गेम्सअन्तर्गत महिला फुटबलको फाइनलमा पुनः भारतसँग ४–० को हार बेहोर्‍यो ।

475244384_605316768943516_4436984447104758493_n-1739724190.jpg
सन् २०१९ नेपाली महिला टिमका लागि सबैभन्दा पिडादायी वर्षको रूपमा रह्यो । यो वर्ष नेपालले चार फाइनल खेले पनि चारै प्रतियोगितामा उपाधि विमुख भयो । २०१९ को फेब्रुअरीमा नेपालले हिरो गोल्डकपको फाइनलमा म्यानमारसँग ३–१ को हार बेहोर्‍यो । यसपछि नेपालले मार्चमा साफ महिला च्याम्पियनसिपको फाइनल भारतसँग पुनः ३–१ को नै हार बेहोर्‍यो । सेप्टेम्बर १२ मा नादेज्दा कपको फाइनलमा ताजिकिस्तानसँग ३–२ को हार बेहोरेको नेपालले डिसेम्बरमा भएको सागअन्तर्गत स्वर्ण पदकका लागि भएको महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भयो ।

सन् २०२२ को सेप्टेम्बरमा नेपालमै सम्पन्न साफ महिला च्याम्पिनयसिपको फाइनलमा पुनः नेपालले हार बेहोर्‍यो । साफको यस संस्करणमा नेपालले सदाको प्रतिद्वन्द्वी भारतलाई सेमिफाइनलमा १–० ले हराए पनि फाइनलको ‘डेढलक’ भने अझै तोड्न सकेन । फाइनलमा १५ हजार दर्शकले भरिभराउ दशरथ रंगशालामा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो । गएको फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिप नेपालले खेलेको ११औँ फाइनलको रूपमा रह्यो । उक्त फाइनलमा नेपालले जोर्डनसँग पेनाल्टी सुटआउटमा हार व्यहोरेको थियो । यस्तै, घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपको फाइनल १२औँ ।

सावित्राले पहिलो खेल गुमाउने सम्भावना उच्च
फिफाको फेब्रुअरी विन्डोमा हुन लागेको यो प्रतियोगिताको निम्ति विदेशी लिग खेलिरहेका नेपाली टिमका नियमित सदस्यद्वय एन्जिला र रेखा पौडेल पनि स्वदेश फर्किसकेका छन् । रेखा युनाइटेड अरब इमिरेट्स (यूएई)को क्लबमा आबद्ध हुँदा गोलकिपर एन्जिला ग्रीसको क्लबसँग अनुबन्धित छिन् । तर, नेपाली टिमको बन्द प्रशिक्षमा फरवार्ड सावित्रा भण्डारी (साम्बा) भने समावेश भइसकेकी छैनन् । फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने सावित्रा आज बिहान मात्रै काठमाडौं ओर्लिने छिन् । नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाली टिमको तयारी पुरा भएको जनाउँदै सावित्राले पहिलो खेल गुमाउने सक्ने संकेत गरे ।

Rajendra-tamang-1739720447.jpg
“साम्बा आएपछि आराम गर्छिन् होला,” प्रशिक्षक तामाङले भने, “लगभग सबै तयारी सकियो । एन्जिला र रेखा विदेशबाट आइसकेका छन् । साम्बा बाँकी छ । भोलि बिहानसम्म आइपुग्छिन् होला । अहिले पहिलो खेलका निम्ति तयारी गरिरहेका छौँ ।”

सबैभन्दा बलियो म्यानमार, कुन टिम छ वरीयतामा कमजोर ?
चारदेशीय प्रतियोगिताका निम्ति नेपाल आउनेमध्येमा म्यानमार सबैभन्दा बलियो टिम हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा म्यानमार ५५औँ स्थानमा छ ।

नेपाली टिमले सन् २०१८ यता म्यानमारविरुद्ध चार खेल खेल्दा तीनमा हार व्यहोरेको छ । नेपाली महिला टिमले सन् २०१८ र २०१९ मा ओलम्पिक एसिया छनोटमा म्यानमारविरुद्ध प्रतिस्पर्धा गरेको थियो । २०१८ को नोभेम्बरमा भएको पहिलो चरणमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो । २०१९ को अप्रिल ३ मा भएको दोस्रो चरणमा भने नेपाललाई म्यानमारले ३–१ ले हराएको थियो ।

यस्तै, नेपालले २०१९ मा भारतले आयोजना गरेको गोल्डकपमा म्यानमारविरुद्ध दुई खेल खेलेको थियो । प्रतियोगिताको पहिलो खेलमा म्यानमारले नेपाललाई ३–० ले हराएको थियो । प्रतियोगिताको फाइनलमा पनि म्यानमारले नेपाललाई ३–१ ले हराउँदै उपाधि जितेको थियो ।

फिफा वरीयताको १०३औँ स्थानमा रहेको नेपाल प्रतियोगिताको दोस्रो बलियो टिम हो ।

प्रतियोगितामा सहभागी कीर्गिस्तान वरीयताको १२८औँ स्थानमा छ । नेपालले पछिल्लोपटक सन् २०१९ मा कीर्गिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । उक्त प्रतियोगितामा नेपालले घरेलु टिम कीर्गिस्तानविरुद्ध ८–२ को सहज जित निकालेको थियो । त्यो खेलमा नेपालकी सावित्रा भण्डारीले ६ गोल गरेकी थिइन् । उक्त प्रतियोगिताको पनि फाइनलसम्म पुगेको नेपालले उपाधि भिड्न्तमा उज्वेकिस्तानविरुद्ध ३–२ को हार व्यहोरेको थियो ।

चारदेशीय प्रतियोगिताका निम्ति नेपाल आउन लागेकामध्ये सबैभन्दा कमजोर फिफा वरीयता भएको टिम हो, लेबनान । फिफा वरीयतामा लेबनान १३४औँ स्थानमा छ ।

नेपाली महिला टिमले लेबनानविरुद्ध पनि प्रतिस्पर्धा गरिसकेको छ । नेपालले पछिल्लोपटक साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिपमा लेबनानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले लेबनानविरुद्ध २–१ को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।

(नेपालविरुद्ध कीर्गिस्तान– साँझ ६ बजे, दशरथ रंगशाला त्रिपुरेश्वर)

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro